एसिडले पोलेको छोरीहरुको तन, बाबुआमाको मन - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, September 18, 2018

एसिडले पोलेको छोरीहरुको तन, बाबुआमाको मन

२ असोज, काठमाडौं । तीजको दर खाने दिन हुने-खानेका परिवारहरु मिठा-मिठा परिकारमा रमाइरहेका थिए । तर, मध्य तराईको एउटा विपन्न परिवारलाई भने सँधैजस्तो छाक कसरी टार्ने भन्ने चिन्ता थियो ।

घरमुली ३५ वर्षीय जादुलाल दासले ऋण गरेर ‘पुल हाउस’ खोलेका थिए तर, खासै चलेको थिएन । त्यस दिन पनि उनी दिनभरी पुल हाउस रुँगेर बेलुका खाली हात घर फर्किए ।

झिंगटीले बारेको उनको घरमा खानेकुरा केही थिएन । घरमा श्रीमती, तीन छोरी र छोरो दर खाने दिन बाबुले केही न केही जोहो त गरिहाल्लान् भनेर पर्खिरहेका थिए । तर, जादुलालको अनुहारले नै बताउँथ्यो, त्यस दिन पसलमा ग्राहकै आएनन् ।

जादुलालकी श्रीमती परमशीला दास आम हिन्दु महिलाहरू जस्तै श्रीमान्को दीर्घायुको कामना गर्दै व्रत बसेकी थिइन् । साँझपख श्रीमान लखतरान परेर आएको देखेपछि उनले छोरीहरूलाई भनिन्, ‘तिमीहरू आफैसँग पैसा छ भने केही किनेर खानु, बाबा थाकेर आउनुभएको छ पैसा नमाग्नु ।’

१७ वर्षीया सम्झना र १४ वर्षीया सुस्मिता चुपचाप बसे ।

आर्थिक अभावकै कारण सम्झनाको पढाई सात कक्षापछि रोकियो । सुस्मिता कक्षा ६ मा पढ्दैछिन् ।

आफ्नो कोखबाट नजन्मेको भए पनि सम्झना र सुस्मिताले आफूलाई औधी माया गर्ने परमशीला बताउँछिन् । सम्झना र सुस्मिताकी आमा जादुलालसँग सम्बन्ध विच्छेद गरेर रोजगारीका लागि मलेसियामा छिन् ।

‘हामी छौं मम्मी, तपाईंले केही काम नगर्नु भन्छन्,’ परमशीला भन्छिन्, ‘त्यस दिन पनि मम्मी आज पानी खाएरै सुत्छौं, हजुरको व्रत सकिएको दिन सँगै खाउँला भनेका थिए ।’

सधै‌ं जस्तै जादुलाल पसलको रेखदेख गर्दै पुल हाउसमा सुत्न गए । दुधे छोरी र १० वषर्ीय छोरालाई लिएर परमशीला एउटा कोठामा सुतिन् । अर्को कोठामा सुते, सम्झना र सुस्मिता ।

राति करिब १२ बजेतिर छोरीहरू सुतेको कोठाबाट चिच्याएको आवाज आयो । परमशीला उठेर हेर्दा दुवै छोरीहरू छट्पटाएर रोइरहेका थिए । दुबै जनाले उनलाई च्याप्प समातेर एकोहोरो रोइरहे ।

‘उनीहरूले मलाई च्यापेर कोठाबाट बाहिर निस्कन पनि दिएनन्’ परमशीलाले आँशु झार्दै भनिन्, ‘उनीहरू पोल्यो मम्मी भनेर चिच्याइरहेका थिए, मसँग केही दबाई थिएन ।’

त्यहीँबाट परमशीलाले श्रीमानलाई फोन गरेर बोलाइन् । जलेर शरीरमा टाँसिएको कपडा कैचीले काटिन् । केहीबेरमा छिमेकीहरू पनि आइपुगे । त्यसमध्येका एक रामबाबु पासवानले भने, ‘यो त तेजाब जस्तो छ ।’ त्यसपछि त सबैको सातो गयो ।

जादुलाल आउँदा छिमेकीहरू जम्मा भएर छोरीहरूलाई धारामा नुहाइरहेका थिए । तर, उनीहरूको पोलाई-दुखाई रत्तिभर कम भएन । जादुलालसँग पनि आफ्ना प्यारा छोरीहरूको दुःखाई घटाउने कुनै उपाय थिएन ।

काँपेको हातले फोन गर्दै जादुलालले एम्बुलेन्स बोलाए पनि भनेको समयमा आएन । त्यसपछि उनी छिमेकीको स्कूटरमा छोरीहरू लिएर नजिकैको अस्पताल गए । अस्पतालले काठमाडौं रिफर गर्‍यो ।

त्यहीँ उपस्थित छिमेकीहरूसँग केही हजार सरसापट गरेर उनी काठमाडौं हान्निए । छोरीहरू बाटोभरी पीडाले एकोहोरो चिच्याइरहेका थिए । जादुलाल भन्छन्, ‘रौतहटबाट काठमाडौं पुग्न वर्षौ लागे जस्तो भयो ।’

कीर्तिपुर अस्पतालमा छोरीहरूलाई जसोतसो भर्ना गरे । अस्पताल त ल्याइपुर्‍याए । तर, उपचार गर्ने खर्च नपाएर छट्पटाइरहेका छन् ।

जेठी छोरी सम्झना आईसीयूको पाँच नम्बर बेडमा हल न चलको अवस्था छिन् । उनको अनुहार हेरेर जोकोही आत्तिन्छन् । अर्की छोरी सुस्मिता जनरल वार्डको एक नम्बर बेडमा लडिरहेकी छन् । उनी बारम्बार दिदीलाई कस्तो छ भनेर सोधिरहिन्छन् ।

अस्पतालमा एक तलामाथि छट्पटाइरहेकी दिदीलाई उनले नदेखेको एक हप्ता भइसकेको छ । उनकी दिदी भने बहिनीको अवस्था सोध्ने हालतमै छैनन् ।

उपचारमा संलग्न डा.सुरेन्द्र बस्नेत सम्झना अझै खतरामुक्त नभइसकेको बताउँछन् । सम्झना र सुस्मिताको उपचारमा दुई लाख रुपियाँभन्दा बढी खर्च भइसकेको छ । चिन्नै नसक्ने गरी डढेको सम्झनाको अनुहारमा नजलेको अंगको छाला लगाउने तयारी भइरहेको छ ।

तर, छोरीहरूको थप उपचार गर्न जादुलालसँग पैसा छैन । अहिलेसम्म आफन्त र छरछिमेकले संकलन गरेर पठाएको पैसाले चलाइरहेका थिए । अब कसरी गर्ने भन्ने चिन्तामा छन् उनी ।

यति नै खर्च लाग्छ भनेर अस्पताल प्रशासनले उनलाई जानकारी दिएको छैन । ‘खर्च १० हजार भन्दामाथि गएपछि अस्पतालले थप पैसा डिपोजिट गर्न लगाउँछ’ जादुलाल भन्छन् ।

कीर्तिपुर अस्पतालका एक कर्मचारी एसिडको उपचार निकै खर्चिलो हुने बताउँछन् । त्यसमाथि दुई-दुई जनाको उपचार गर्नुछ ।

डा. बस्नेतले एसिड परेका विरामीको अपरेसन खर्चको तुलनामा औषधी झन् महंगो हुने बताए । उनले भने, ‘यस्तो विरामीको उपचारमा एकछिन पनि ढिलाई गर्दा खतरा हुन्छ ।’

जादुलाल उपचार खर्च छिटो जुटाउने तनावमा छन् । मुलुकी अपराध (संहिता) ऐनमा तेजाब खन्याउने अपराधीलाई एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना तिराउने व्यवस्था छ ।

तर, एसिड आक्रमणका विरामीको उपचारमा यो क्षतिपूर्ति रकम एकछेउ पनि नहुने कीर्तिपुर अस्पतालका एक कर्मचारी बताउँछन् ।

प्रहरीले बिरामी कुर्न आएका छिमेकी रामबाबु पासवानलाई नै घटना गराएको आशंकामा पक्राउ गरेको छ । पासवान उनै व्यक्ति हुन् जसले पहिलोपटक सम्झना र सुस्मितालाई तेजाब खन्याएको हुनसक्ने बताएका थिए ।

उनलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्न लागिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी खिलराज ढकालले जानकारी दिए । यद्यपि दोषी को हो भनेर यकिन साथ भन्ने अवस्था नभएको ढकालको भनाइ छ ।

मुलुकी संहितामा यस्तो अपराधमा संलग्नलाई पाँचदेखि आठ वर्ष कैद सजायको व्यवस्था गरेको छ । तर, जादुलालको पहिलो प्राथमिकता भने छोरीहरूको उपचार नै हो ।

पैसा नहुँदा आईसीयूमै छटपटाइरहेका विरामीले पनि उचित उपचार नपाएको प्रशस्त उदाहरण छन् । आफ्नो पनि त्यही हालत हुन सक्ने जादुलालको चिन्ता छ । एक साथीको सल्लाहमा उनले सहयोग जुटाउनका लागि बैंक अकाउन्ट खोल्न लागेको अनलाइनखबरलाई जानकारी दिए ।

‘डाक्टरहरूले औषधी र चाहिने सामग्री किनेर ल्याउ, उपचार गरिदिन्र्छौ भन्नु भएको छ, तर मसँग भएको सबै पैसा सकियो’ जादुलालले हात जोडेर भने, ‘मेरो छोरीहरूलाई बचाइदिनुस् हजुर ।’



from Online Khabar https://ift.tt/2poiXzL

No comments:

Post a Comment

Post Bottom Ad

Pages