राजधानी समाचारदाता, काठमाडौ । १३ वर्षिय छोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि न्याय खोज्दै काठमाडौ आएका निर्मलाका बा यज्ञराज र आमा दुर्गा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर थोरै आशा र केही निराशा लिएर महेन्द्रनगर फर्किएका छन् । एक साताको प्रयाशपछि सोमवार दिउसो बालुवाटार स्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री ओलीसंग भेट गरे । प्रधामन्त्री कार्यालयले तोकेको समय तालिका अनुसार आफ्ना कुरा राखे र हिँडे ।
पन्त दम्पत्ति फर्किए लगत्तै प्रधानमन्त्री ओलीले ट्वीट गर्दै भने ‘म पनि निर्मलाको अभिभावक हुँ । यस्तो पाशविक हत्यामा संलग्न व्यक्ति जतिसुकै बलियो र जुनसुकै ओहोदाको भए पनि छोडिंदैन । प्रारम्भिक छानविनमा भएको कमजोरीका कारण अपराधी पत्ता लगाउन केहि समय लागे पनि अपराधी पत्ता लगाई कडा कारवाही गरिनेछ ।’
सोमवार दिउसो ४ बजे प्रधानमन्त्री ओलीले गरेको ट्वीटमा मंगलवार दिउसो २ बजेसम्म एक हजार पाँचसय २१ जनाले लाईक गरेका छन् भने २ सय ३४ जनाले रिट्वीट गरेका छन् । १ सय ९७ जनाले प्रतिक्रिया दिएका छन् ।
प्रधानमन्त्रीको ट्वीटमा देखिएको प्रतिक्रिया देख्दा लाग्छ प्रधानमन्त्रीको आश्वासनप्रति जनमन आस्वास्त छैन । अनेक शंका उपशंका गरेका छन् । दिपक खनालले लेखेका छन् ‘समाचारमा पढिएको थियो । साइकल भेटिए पश्चात बबिता बमले साइकल भेटिएको भए लास पनि त्यतै भेटिएला नि भनेर भनेकी थिईन रे । बबिता बम भन्ने मान्छेलाई उनको हत्या भएको थाहा रहेछ, नत्र सिधै लासको कुरा किन आयो ? यहि कुराबाट अनुसन्धान गर्ने हो भने ५÷७ घन्टामा अपराधी समात्न सकिदैन र प्रम ज्यु ?’
कोपिला गीरीले लेखेकी छिन् ‘निर्मला पन्तको अभिभावक हु भन्दा अलि सुहाएन प्रम ज्यु अस्ति भर्खर तपाईले बम दिदीबहिनीको सपोर्टमा बोलेको कुरा जनताले बिर्सेका छैनन कति नाटक गर्नु हुन्छ । सक्नु हुन्छ भने दोषीलाई चाडो काबार्ही र पीडित लाई न्याय दिनुहोस् ।’
रमेश नेपालले ब्याङ्ग्य गर्दै लेखेका छन् ‘अनि बम दिदिबहिनी लाई चै टुहुरो बनाउने ?’
प्रधानमन्त्री ओलीले नेपाल टेलिभिजनवाट प्रशारित जनतासंग प्रधानमन्त्री कार्यक्रममा निर्मलाको हत्या भएको भन्दा पनि बम दिदी बहिनीलाई आरोप लगाएको चित्त दुखाउदै भनेका थिए । ‘निर्मलाको लासलाई घरवाट किन मेयरको आँगनमा लगियो ?’ जबकि निर्मलाको लास मेयरको आँगनमा लगिएको थिएन ।
रामबन्धु पौडेलले पनि ब्याङ्ग्यको भाषामा भनेका छन् ‘मजाक गर्नु भएको त हैन नि कसरि पत्याउँ ?’
from Rajdhani Daily https://ift.tt/2xsguYl

No comments:
Post a Comment