हुमाकान्त पोखरेल
गुल्मी
धुर्कोट गाउँपालिका–५, धनार्जीका रामप्रसाद भण्डारी उमेरले ६० कटिसके । लामो समय शिक्षण पेसा गरेका उनी अहिले राज्यबाट पेन्सनसमेत थाप्छन् । २२ वर्षकै छँदा उनले जग्गा लिएका थिए । तर, दुर्भाग्य ! चार दशक बितिसक्दा पनि आफू बसोबास गर्दै आएको जग्गाको लालपुर्जा उनीसँग छैन ।
उनी बस्दै आएको जग्गाको नक्सा सरकारी तवरबाट पटक पटक भयो । जग्गा नापनक्सा हुँदा उनमा उत्साह थपिन्थ्यो । तर, वर्षौं बितिसक्दा पनि जग्गा आफ्नो नाममा नआउँदा उनी निराश बनेका छन् ।
धर्नाजी गाउँमा उनी मात्रै होइन, ३० घरपरिवारको लालपुर्जा छैन । एक रोपनीभन्दा बढी जग्गा भएको बताउने भण्डारीलाई लालपुर्जा पाउने आशा दिन प्रतिदिन मर्दै गएको छ ।
‘उमेरले नेटो काट्न लाग्यो, अब कति पो बाँचिएला र ?’ भण्डारीले भने, ‘मेरो नाममा नभए पनि छोराको नाममा भए पनि लालपुर्जा बने हुन्थ्यो ।’
गाउँकै एक विद्यालय सञ्चालन गर्न भन्दै धनार्जीको जग्गा बिक्री वितरण भए पनि विद्यालयले नै चासो नदिएकाले आफूहरूले लालपुर्जा नपाएकोे उनीहरूको गुनासो छ । ‘विद्यालयको नाममा त लालपुर्जा आएको छ भन्ने सुनिएको छ,’ भण्डारीले भने, ‘हामीले भने कहिले पाउने हो, टुंगो छैन ।’
उनले आफ्नो नाममा लालपुर्जा नभएकाले जग्गाको तिरो पनि तिरेका छैनन् । तिरो नलाग्ने त्यस्तो जग्गाबाट धितो–जमानी राखेर वित्तीय कारोबार गर्न मिलेको छैन । ‘जग्गा नम्बरी नभएर बैंकमा राख्न मिल्दैन,’ अर्का पीडित रामप्रसादले भने, ‘पुर्जा नभएको जग्गा बिक्री गर्न मिल्ने त कुरै भएन ।’
सोही ठाउँका दामोदर भण्डारीले पनि आफ्नो जग्गाको लालपुर्जा नभएकाले किनबेच गर्न समस्या भएको बताए । ४० वर्ष देखि बसोबास गरेको जग्गाको पुर्जा बन्न नसक्नु दुःखद भएको उनले बताए । ‘लालपुर्जा बन्दैन भने हामीले कसरी व्यवहार चलाउने ? समस्या कसैले बुझेका छैनन्,’ उनले गुनासो पोख्दै भने, ‘विद्यालय चलाउन पैसा दिएर जग्गा त पाइयो तर लालपुर्जा नहुँदा कतै धितो राख्न नमिलेर कारोबारसमेत गर्न पाइएको छैन ।’
उनका अनुसार धनार्जी गाउँमा २० घरपरिवार बसोबास गर्छन् भने लालपुर्जा नभएकै कारण १० घरपरिवारले अहिलेसम्म घर निर्माण समेत गर्न सकेका छैनन् । लालपुर्जा नभएकै कारण भूकम्पले क्षति पु¥याए पनि राहतसमेत उनीहरूले पाएका छैनन् । लालपुर्जा नभएकाले सरकारबाट पाउने सेवा सुविधाबाट समेत आफूहरू वञ्चित भएको पीडितहरूको भनाइ छ ।
दुई रोपनी जग्गा भएका हुमा भण्डारीले जग्गाको लालपुर्जा आफ्नो पुस्तामा हात पर्ने आसासमेत मर्न लागेको दुखेसो पोखे । ‘अहिलेको यही व्यवहारले मेरो नाममा त लालपुर्जा आउला जस्तो लाग्दैन,’ उनले भने, ‘छोरा नातिको पालामा आएछ भने पनि भयो ।’
उनले आफू र छोराहरूले पढेको विद्यालय भएकाले लालपुर्जा नआए पनि विद्यालयलाई सहयोग गरिएछ भनेर मन बुझाएको बताए । अहिलेसम्म बसेको भाडाको हिसाब गर्ने हो भने पनि जग्गाको मूल्य बराबर हुन आउने उनको भनाइ छ ।
लामो समयदेखि सर्वसाधारणको समस्या ज्युँका त्यूँ रहन गएकाले स्थानीयको आक्रोश आफूहरूले खेप्नुपरेको हिमालय प्राविका प्रधानाध्यापक तुल्सीराम भण्डारीले बताए । उनले विद्यालयको नाममा लालपुर्जा आएकाले छिट्टै पहल गरेर धनार्जी गाउँमा बसोबास गर्ने सर्वसाधारणलाई लालपुर्जा उपलब्ध गराउने बताए ।
‘हामीले विद्यालयका तर्फबाट गर्ने पहल गरेका छौं,’ उनले भने, ‘विभिन्न समस्याका कारण ढिलाइ भएको छ ।’ स्थानीयवासी भने विद्यालयको हेलचेœयाइँले पुर्जा पाउन नसकेको बताउँछन् ।
जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले बसोबास भएर पनि लालपुर्जा नभएकाहरू जिल्लामा धनार्जी मात्र नभएर अन्य स्थानमा पनि भएको बताए । उनले आर्थिक स्रोत नभएर विद्यालय र स्वास्थ्य चौकी सञ्चालन गर्न सार्वजनिक जग्गा थुप्रै ठाउँमा बिक्री भएको बताए ।
‘धेरै स्थानमा यस्ता लालपुर्जा नभएका सर्वसाधारण हुनुहुन्छ,’ पराजुलीले भने, ‘यसको छिट्टै पहल गरी पैसा बुझाएर पर्नि पुर्जा दिलाउनुपर्छ ।’
from Rajdhani Daily https://ift.tt/2QlqGKi
No comments:
Post a Comment