बुटवल। रूपन्देहीको तिलोत्तमा नगरपालिकाले छाडा चौपाया नियन्त्रणका लागि गाईको जन्म, बसाइँसराइ र मृत्यु दर्ता गर्ने भएको छ । अनुत्पादक भएपछि चौपाया सडकमा छाड्ने प्रवृत्ति बढ्दै गएपछि नगरपालिकाले त्यसलाई रोक्न नयाँ उपाय निकालेको हो ।
गाईको विवरण दर्ता गराएबापत किसानले भत्तासमेत पाउनेछन् । छाडा गाई बढ्दै जाँदा सडक दुर्घटना र किसानको बालीनालीमा नोक्सानी हुने समस्या बढेको र यसलाई रोक्ने उद्देश्यले यस्तो उपाय निकालेको र यसलाई छिट्टै कार्यान्वयन गरिने नगरपालिकाले जनाएको छ ।
गाईको जन्म र मृत्यु दर्ता तथा बसाइँसराइ गराउने किसानलाई नगरपालिकाले यातायात खर्चस्वरूप भत्ता उपलब्ध गराउने सोच बनाएको छ । गाईको घटना दर्ता गराउन वडा कार्यालय आउने किसानलाई प्रोत्साहन गर्न भत्ताको अवधारण ल्याइएको हो ।
किसानले दूध दिँदासम्म गाई पाल्ने र अनुत्पादक भएपछि गोठबाट निकालेर रातारात छोडिदिने परिपाटीले हैरान भएपछि नगर कार्यपालिकाको बैठकबाट यस्तो नीति लिइएको हो । यसका लागि सबैभन्दा पहिले चौपायाको तथ्यांक लिइनेछ । यसरी तथ्यांक लिइएको गाईलाई ट्याग लगाइनेछ ।
विवरण संकलन भएपछि गाई ब्याउँदा, मर्दा वा किनबेच गर्दा त्यसको जानकारी वडा कार्यालयमा दिनुपर्नेछ । यसो गर्दा कसैले पनि गाईलाई छाडा छाड्न नसक्ने र छाडिहालेमा कारबाही गर्न सकिने नगरपालिकाको विश्वास छ ।
नगरपालिकाले पशु बिमामा अनुदानसमेत उपलब्ध गराएकाले गाईको मृत्यु वा अनुत्पादक हुँदा बिमाबाट लाभ लिन आग्रह गर्दै आएको छ । ‘हाम्रो यो नीति गाईलाई छाडा छोड्ने प्रवृत्तिलाई निरुत्साहित गर्नु हो,’ नगर प्रमुख वासुदेव घिमिरे भन्छन्, ‘यसो गर्दा किसानकै बाली जोगिनेछ । यसमा सबै किसानको साथ र सहयोग रहने हाम्रो विश्वास छ ।’
तिलोत्तमामा व्यावसायिक गाई पालन बढ्दै गएसँगै छाडा गाईको संख्या पनि बढ्दै गएको छ । गाई दर्ता गरेपछि छाडा छाड्न नदिन र बाहिरबाट आउन सक्ने सम्भावित नाकामा नगर प्रहरी परिचालन गरिने नगरपालिकाको योजना छ ।
तिलोत्तमा नगरपालिकाले नेपाल सरकारको पशु बिमा कार्यक्रमअन्तर्गत बिमा गर्ने किसानलाई बिमाको ५० प्रतिशत रकम अनुदानसमेत उपलब्ध गराउँदै आएको छ ।
छाडा चौपायाका कारण नगरमा धेरै समस्या देखिन थालेपछि त्यसलाई नियन्त्रण गर्न नगरपालिकाले ‘छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधि–२०७४’ जारी गरेको छ ।
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2Bgvk7K
No comments:
Post a Comment