सिड्नी / नेपालीहरु संसारको जुनसुकै कुनामा भएपनि आफ्नो साहस, धैर्यता, अनुशासनबाट संसारभर परिचित छन् । अझ गोर्खालीहरु त शारीरिकरुपमा कति साहसिला हुन्छन् भन्ने कुरा विभिन्न घटनाक्रमहरुले पुष्टि गर्दै आएको छ ।
त्यस्तै साहसिला गोर्खालीहरुमध्ये नेत्रबहादुर राना र कुशल लिम्बु पछिल्ला उदाहरणहरु हुन्, जसले भर्खरै अस्टेलियाको सिड्नीमा आयोजित इन्भिक्टस गेम्समा आफ्नो कौशल देखाएर बेलायतको लागि महत्वपूर्ण पदकहरु दिलाए । बेलायतको लागि महत्वपूर्ण पदकहरु लिएर उनीहरु फेरि आफ्नै कर्मथलो लन्डन फर्किएका छन् ।
स्याङ्जाको चित्रे भन्ज्याङ्गमा जन्मेका राना र तेह्रथुम जिल्लामा जन्मिएका लिम्बु बेलायती सेनाका जवान हुन् । सन् २००८ सालमा अफगानिस्तानमा अत्याधुनिक विस्फोटक उपकरण पड्केर उनीहरु सामान्य घाइते मात्र भएनन्, रानाको एउटा खुट्टा गुम्यो भने कुशल को दुइवटै ।
शरीरको महत्वपूर्ण अंग गुम्दा उनीहरुलाई पीडाबोध त भयो नै, तर जस्तोसुकै परिस्थितिलाई सामना गर्दै अगाडि बढ्न हिम्मत राख्ने गोर्खालीहरु भने एकपछि अर्को गर्दै सफलताको शिखर चुम्दै गए ।
खुट्टा गुमाएपनि हिम्मत नगुमाएका यी युवाहरुले केही खेलहरु सिके । र, आफूलाई निखार्दै खेलकुदमा पोख्त भए । त्यही समयमा बेलायती राजकुमार ह्यारीले घाइते र बिरामी भएका सेनाका जवानहरुको शारीरिक र मानसिक विकासमा टेवा पुर्याउने उद्देश्यले इन्भिक्टस गेम्सको अवधारणा ल्याए र सन् २०१ं४ बाट खेल नै सुरु गरे ।
२०१४ नोभेम्बरमा सुरु भएको इन्भिम्टस गेम्समा राना र लिम्बुले खेल्ने मौका पाए र आफ्नो क्षमता प्रदर्शन गरे । खेलकुदमा भाग लिएपछि उनीहरुको हिम्मत बढ्यो र खेलकुदमै केही गरेर देखाउने अठोट लिए ।
गत हप्ता सोही गेम्सको सिड्नी एडिसनमा रोयल गोर्खा राइफल्स पहिलो बटालियनका रानाले सिटिंग भलिबल अन्तर्गतको खेलमा रजत पदक जिते भने रोयल गोर्खा राइफल्स दोश्रो बटालियनका लिम्बुले पुरुषहरुको आइटी एक श्रेणीको १०० मिटर दौडमा स्वर्ण पदक हात पारे ।
‘हाम्रो शरीरमा गाउँघरको हावापानी र मूलको पानी बगिरहेको छ, हामी त्यत्तिकै कहाँ हार मान्छौं,’ आफ्नो सफलता पश्चात रानाले अनलाइनखबर कर्मीसँगको भेटमा सुनाए ।
जीवनमा भोगिने अनेकौं घटनाबाट पाठ सिक्दै अगाडि बढ्नुनै जीवन रहेछ, लिम्बुले आफ्नो अनुभव सुनाउँदै गर्दा रानाले टाउको हल्लाउँदै सहमति जनाउँदै थिए । ‘खुट्टा नभएर के भो त ? हिम्मत छ नि हामीसँग,’ उनीहरुले एउटै स्वरमा भने ।
इन्भिक्टस गेम्समा पदक जितेर राना खुशी नै थिए, त्यो भन्दा बढी खुशी आफ्नो स्कुले साथी बुल्सन लामगाँदेलाई १७ वर्षपछि भेट्दा भएछन् । ‘सन् २००२ मा सँगै एसएलसी दियौं, त्यसपछि छुटिट्एका हामी अहिले २०१८ मा सिड्नीमा भेटियो,’ खुशी हुँदै रानाले भने ।
from Online Khabar https://ift.tt/2QiHPEP
No comments:
Post a Comment