बजेटको लक्ष्य भेट्नेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, November 5, 2018

बजेटको लक्ष्य भेट्नेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको लक्ष्य भेट्ने गरी काम गर्न निर्देशन दिएका छन् । चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको अर्थ मन्त्रालयमा त्रैमासिक समीक्षा कार्यक्रममा अर्थमन्त्री खतिवडाले बजेटमा उल्लिखित लक्ष्य समयमै भेट्ने गरी मातहतका निकायलाई निर्देशन दिएका हुन् ।

उनले तोकिएको समयमा बजेटका उद्देश्य भेट्ने गरी काम गर्न आआफ्नो स्थानबाट सबै जुट्नुपर्ने आवश्यकतासमेत औंल्याए । तोकिएको समयभित्र काम गर्दा बजेटले राखेका लक्ष्य पूरा हुने भन्दै खतिवडाले त्यसैअनुरूप अघि बढ्न निर्देशन दिएका हुन् ।

विगतमा पनि लक्ष्यअनुसार बजेटरी खर्च हुनसकेको थिएन । विगतकै परम्परा दोहोरिँदै आएकोमा मन्त्री खतिवडाले असन्तुष्टिसमेत जनाए ।

बजेट कार्यान्वयनका लागि तयार पारिएको कार्ययोजना अनुरूप सम्बन्धित निकायबीच समन्वय गर्ने, बजेट कार्यान्वयनमा थप सक्रियता बढाउने, स्वीकृत नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिने र तोकिएको समयभित्रै कार्य सम्पादन गर्नुपर्नेमा उनले जोड दिए । त्यसो गर्न नसक्नेमाथि कडा रूपमा प्रस्तुत गर्ने आशयसमेत उनले व्यक्त गरे ।

समीक्षा बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले मुलुको वित्तीय सन्तुलनका लागि राष्ट्र बैंकले काम गर्दै आएको बताए । राष्ट्र बैंकले मौद्रिक नीति र वित्तीय नीतिअनुरूप निर्देशिका तयार गरी काम गरिरहेको त्यसक्रममा उनले बताए ।

त्यसक्रममा राजस्व सचिव शिशिरकुमार ढुंगानाले बजेट कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि अर्थ मन्त्रालय सदैव तयार रहेको जानकारी दिए । कार्यान्वयन पक्ष बलियो बनाउन सबै निकायले स्वयं उत्प्रेरित भई काम गर्नुपर्ने खाँचो उनले औंल्याए । यसो गर्न सके तोकिएको समयभित्रै बजेट लक्षित उद्देश्य पूरा हुने उनको भनाइ छ ।

सरकारले चालू वर्षको पहिलो तीन महिनामा लक्ष्यअनुसार राजस्व संकलन गरेको भए पनि बजेट खर्च भने गर्न सकेको छैन । चालू वर्षको पहिलो तीन महिनाको अवधिमा राजस्व संकलन गत वर्षको तुलनामा ३८ प्रतिशतले वृद्धि भए पनि पुँजीगत खर्च भने ६ प्रतिशतको हाराहारीमा मात्रै छ ।

सरकारले खर्च गर्न नसक्दा चालू आर्थिक वर्षको साढे तीन महिना समय बितिसक्दा पुँजीगत खर्च ७ दशमलव ६७ प्रतिशत अर्थात् कुल बजेटमध्ये २४ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ । पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले यसअघि नै सम्पूर्ण मन्त्रालयलाई आन्तरिक रूपमा रकमान्तर गरी बजेट पूर्वाधार विकासमा अघि बढ्न निर्देशनसमेत दिइसकेको छ ।

पुँजीगत खर्चमा पुरानै अवस्था दोहोरिँदा अर्थमन्त्री डा. युवराज खतिवडाले नै पनि खर्च बढाउन सम्बद्ध निकायलाई घच्घच्याउँदै आएका छन् । बजेट भएका आयोजनाअघि नबढ्ने तर नयाँ कार्यक्रमलाई बजेट माग गर्ने क्रम निरन्तर बढेपछि अर्थ मन्त्रालयले काम अघि बढाउन निर्देशन दिएको हो ।

अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख एवं सहसचिव निर्मलहरि अधिकारीले आन्तरिक रूपमा रकमान्तर गरी पूर्वाधार आयोजना अघि बढाए पनि बिलको भुक्तानी नरोकिने भन्दै काम अघि बढाउन आग्रह गरे ।

एउटै मन्त्रालयमा वार्षिक बजेट तथा कार्यक्रममा परेका तर कार्यान्वयन चरणमा नगएका आयोजनाको बजेट थन्किएर बसेका छन् । तर त्यही मन्त्रालयअन्तर्गका सालबसाली आयोजनामा खर्च कम भएको भन्दै थप बजेटको माग भइरहेको छ ।

वर्षको सुरुमा बजेट थन्किएर बस्ने, अन्तिममा बजेट खर्चमा अनुशासनहीनता देखिने र हरेक वर्ष विनियोजित पुँजीगत बजेट नसकिने अवस्था दोहोरिरहेकाले अर्थ मन्त्रालय यसपटक खर्चमा केही खुकुलो रूपमा प्रस्तुत भएको हो ।

 

 

 



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2Dne7LQ

No comments:

Post a Comment

Post Bottom Ad

Pages