पर्यटनमन्त्री अधिकारीको सुझाव : लुम्बिनीमा हरेक महिना कार्यक्रम गर्नुस् - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, January 11, 2019

पर्यटनमन्त्री अधिकारीको सुझाव : लुम्बिनीमा हरेक महिना कार्यक्रम गर्नुस्

२७ पुस, बुटवल । संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले बुद्ध जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार कमी भएको बताएका छन् ।

लुम्बिनीको प्रचारप्रसार बढाउन हरेक महिना कुनै न कुनै कार्यक्रम आयोजना गर्न मन्त्री अधिकारीले लुम्बिनी विकास कोष र पर्यटन व्यवसायीलाई सुझाव दिएका हुन् ।

शुक्रबार लुम्बिनीस्थित पवित्र उद्यानमा बुद्धिष्ट इन्टरनेसनल ट्राभल मार्टको उद्घाटन गर्दै मन्त्री अधिकारीले नेपाल संसारकै राम्रो गन्तव्य भएपनि अन्तराष्ट्रिय जगतमा उचित प्रचारप्रसार गर्न नसकिएको बताए । ‘लुम्बिनी जस्तै धार्मिक र प्राकृतिक सम्पदा, भौगोलिक बनोट, जैविक विविधताका कारण घुम्नका लागि नेपाल संसारकै राम्रो देश हो,’ मन्त्री अधिकारीले भने, ‘त्यसैले जति धेरै प्रचार प्रसार गर्न सक्छौं,त्यति धेरै पर्यटक बढ्नेछन् ।’

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने तयारी गरिरहेको उल्लेख गर्दै उनले २० लाख पर्यटक भित्राउने लक्ष्य सजिलै पूरा हुने दावी गरे । ‘पर्यटन बोर्ड सचिवालयले काम थालिसकेको छ, २० लाख पर्यटक भित्राउन कुनै गाह्रो छैन,’ मन्त्री अधिकारीले भने, ‘२ लाख पर्यटक त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाटै आउनेछन् ।’

पर्यटकीय पूर्वाधार थप्न वाह्य लगानी भित्राउन पनि सरकार क्रियाशील रहेको उनले बताए । पर्यटन नै नेपालको समृद्धिको प्रमुख आधार रहेको उल्लेख गर्दै मन्त्री अधिकारीले यसमा नीजि क्षेत्रको साथ चाहिने बताए ।

सरकार नीजि क्षेत्रलाई जुनसुकै सहयोग गर्न तयार रहेको आश्वासन दिंदै उनले सहकार्य गर्न आग्रह गरे ।

वाइड बडी विमानमा अनियमितता भएको सम्बन्धी प्रसंग कोट्याउँदै मन्त्री अधिकारीले दोषीलाई कारवाही हुनुपर्ने तर नेपालको पर्यटन प्रवर्द्धन रोक्ने हिसाबले गरिने षड्यन्त्र सह्य नहुने बताए ।

कार्यक्रममा प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले लुम्बिनी र बुद्धको जीवनीसंग सम्बन्धित स्थलहरुको उचित विकास र प्रबर्द्धन गर्न नसकिएको बताए ।

उनले संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने गरी प्रदेश सरकारले २०७६ साललाई लुम्बिनी भ्रमण वर्ष मनाउने तयारी थालेको बताए ।

उद्योग वाणिजय महासंघका पूर्वअध्यक्ष सुरज वैद्यले लुम्बिनीको पर्यटन प्रवर्द्धनमा सरकार र नीजि क्षेत्रको सहकार्य आवश्यक रहेको बताए ।

तीन दिनसम्म चल्ने मार्टमा विभिन्न बौद्ध विद्धान, पर्यटन व्यवसायी लगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

मार्टमा म्यानमार, थाइल्याण्ड, बंगालादेश, अष्ट्रेलिया, जर्मनी, अमेरिका, भारत, माल्दिभ्स, श्रीलंका, भुटान, चीन लगायत गरी १७ वटा मुलुकबाट टूर अपरेटर, ब्लगरहरु, सम्बन्धित देशका सरकारी प्रतिनिधिहरु सहभागी छन् ।



from Online Khabar http://bit.ly/2RkaXAb

No comments:

Post a Comment

Post Bottom Ad

Pages