पछाडि बस्नेले हेल्मेट लाउँदा १२ अर्बको व्यापार बढ्ने - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, May 20, 2019

पछाडि बस्नेले हेल्मेट लाउँदा १२ अर्बको व्यापार बढ्ने

६ जेठ, काठमाडौं । मोटरसाइकल चालकको पछाडि बस्ने यात्रुका लागि हेलमेट प्रयोग अनिवार्य गर्ने कानुन बन्न लागेको ट्राफिक प्रहरी प्रमुख वसन्तराज पन्तले आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिए । पन्तका अनुसार यातायात व्यवस्था ऐनमा संशोधन गरेर मोटरसाइकलको पछाडि बस्ने यात्रुका लागि हेलमेट अनिवार्य गर्न लागिएको हो ।

यात्रुले प्रयोग गर्ने हेलमेट आईएसओ प्रमाणित हुनुपर्ने गरी महाशाखाले ऐनमा सुझाव पठाएको छ । ऐन संशोधनका लागि प्रयास भइरहे पनि ऐन बनिसकेको छैन । तर, ट्राफिक प्रहरीले प्रस्ताव गरेको अनिवार्य हेल्मेटसम्बन्धी व्यवस्था कत्तिको व्यवहारिक छ भन्ने बहसले यतिबेला सामाजिक सञ्जाल तताएको छ ।

देशभर कति छन् दुईपांग्रे सवारी ? 

यातायात व्यावस्था विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७४। ०७५ सम्म २५ लाख ३० हजार ७२२ वटा दुई पांग्रे सवारी साधन दर्ता भएका छन् । चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा कति मोटरसाइकल भित्रिए भन्ने तथ्याङ्क विभागले सार्वजनिक गरेको छैन । तर, अघिल्लो तीन वर्षको औषत तथ्याङ्क हेर्ने हो भने यो वर्ष पनि दुई लाख हाराहारी स्कुटर तथा मोटरसाइकल प्रयोगमा आएको हुन सक्ने अनुमान गर्न सकिन्छ । दैनिक ६ सयको संख्यामा मोटरसाइकल थपिने नाडा अटोमोवाइल एसोसिएसन बताउँछ ।

यो पनि पढ्नुहोस ट्राफिकको नयाँ नियम : अब मोटरसाइकलमा पछाडि बस्नेलाई पनि हेलमेट

यातायात व्यवस्था विभागको तथ्याङ्कलाई हेर्ने हो भने पछिल्ला तीन आर्थिक वर्षमा दुईपांग्रे सवारी साधन भित्रिने क्रम उच्च देखिएको छ । आर्थिक वर्ष ०७२/०७३ मा दुई लाख ६७ हजार ४३९, आर्थिक वर्ष ०७३/०७४ मा ३ लाख ५४ हजार ७१ तथा र ०७४/०७५ मा तीन लाख ४१ हजार ६२३ मोटरसाईकल तथा स्कुटर विभागमा दर्ता भएका छन् । नेपालको सडकमा सबैभन्दा बढी चाप मोटरसाइकलकै छ । नेपाली बजारमा वाषिर्क चार लाख हेलमेट बिक्री हुने अनुमान गरिन्छ ।

विभागको विवरण अनुसार सबैभन्दा धेरै दुई पांग्रे सवारी प्रदेश ३ मा दर्ता भएका छन् । ऐन संशोधन भएर पछाडि बस्ने यात्रुका लागि हेलमेट प्रयोग अनिवार्य भयो भने करिब २७ लाख मोटरसाइकल तथा स्कुटर प्रयोगकर्ताले थप एक थान हेलमेट जोहो गर्नु पर्नेछ ।

आइएसओ मापदण्डको हेलमेट

महाशाखाले विभागलाई पठाएको संशोधनमा यात्रुले प्रयोग गर्ने हेलमेट आइएसओ मापदण्डको हुन पर्ने उल्लेख छ । हेलमेट व्यावसायीका अनुसार उक्त प्रकारको हेलमेटको बजार मूल्य न्यूनतम् ३५ सय देखि अधिकतम ५ हजार रुपैयाँसम्म पर्छ । यदि २७ लाख दुई पांग्रे सवारी धनीले औषत ४५ सयको हेलमेट किनभने ट्राफिक प्रहरीले प्रस्ताव गरेको यो नियमबाटै झण्डै १२ अर्ब १५ करोडको हेलमेटको ब्यापार बढ्ने छ ।

किन हेल्मेट अनिवार्य गरियो ?

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्र ११ हजार १०१ मोटरसाइकल तथा स्कुटर दुर्घटनामा परेका छन् । उक्त दुर्घटनामा ३ हजार १ सय ८६ जना घाइते भएका छन् भने १५७ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अधिकांशको मृत्युको कारण टाउकोमा लाग्ने चोटका कारण हुने महाशाखा प्रमुख एसएसपी बसन्त पन्त बताउँछन् । प्रायः दुर्घटनास्थल पुग्दा मृतकको टाउको फुटेको देखिन्छ । पन्तका अनुसार दुर्घटना भएर लड्दा अधिकांश चालकको टाउकोबाट हेल्मेट फुत्किसकेको हुन्छ । हेल्मेटकै कारण नागरिकको मृत्युदर घटाउन यस्तो व्यवस्था सिफरिस गर्नु परेको पन्त बताउँछन् ।

ट्राफिक प्रहरीको प्रस्ताव व्यवहारिक ?

राजा ज्ञानेन्ऽको प्रत्यक्ष शासनकालका स्वास्थ्यमन्त्री डा.उपेन्ऽ देवकोटाले मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याएका थिए । तर, त्यसले निरन्तरता पाउन सकेन ।

पूर्वडीआईजी केशव अधिकारी ट्राफिक प्रहरीको यो प्रस्तावलाई व्यापारिक वर्गको स्वार्थबाट प्रेरित भएको बताउँछन् ।

यो पनि पढ्नुहोस हेल्मेट भिर्दैमा सुरक्षित भइँदैन, गुणस्तर पनि हेरौं

कुनै अध्ययनविनै चर्चाका लागि यस्तो कुरा गरिएको अधिकारीको तर्क छ । उनका अनुसार १७ वर्ष अगाडि ल्याइएको दुवैजनाले हेल्मेट लगाउने नियम कालान्तरमा स्वार्थ प्रेरित भएको प्रमाणित भएपछि तुहिएको थियो । सडकको डिजाइन, चालकको जनचेतनाको स्तर लगायतका कारण नेपालमा फलामै फलामको हेल्मेट लगाए पनि दुर्घटनाले हुने मृत्युदर नघट्ने अधिकारी बताउँछन् ।

सडक सुरक्षा विज्ञ पदमबहादुर शाही ट्राफिक प्रहरीको सुझाव मननयोग्य रहेको बताउँछन् । शाहीका अनुसार हाल क्रियाशील ऐनमा पनि यो विषय उल्लेखित छ । तर, विविध कारण प्रहरीले कार्यन्वयन गर्न सकेको छैन । हरेक निर्णय आर्थिक विषयसँग जोडिने भन्दै शाही सुरक्षाको विषय पैसासँग दांज्न नमिल्ने बताउँछन् ।

कुनै स्वार्थसमूहबाट प्रेरित भएको होइन : एसएसपी पन्त

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १३० को उपदफामा २ मा दुई पांग्रे सवारीमा बस्ने यात्रुका लागि पनि हेल्पेट लगाउनुपर्ने उल्लेख छ । उक्त दफामा मोटर साइकल तथा अन्य त्यस्तै दुई पांग्रे सवारी चलाउँदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोप लगाउने हेल्मेट लगाउनुपर्छ भनिएको छ ।

ऐनलाई टेकेरै ट्राफिक प्रहरी यो नियम कार्यन्वयनका लागि जान सक्दछ तर ऐन संशोधनका लागि सुझाव दिइएको भन्ने ट्राफिक महाशाखाको सार्वजनिक अभिव्यक्तिले आशंका भने जन्माइदिएको छ ।

तर, महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी वसन्त पन्तले पहिलेको ऐनमा नै टेकेर संशोधनमार्फत स्तारीय हेल्मेटको कुरा प्रस्ताव गरिएको बताए । गुणस्तरहीन हेल्मेट प्रयोग अत्यधिक पाइएको भन्दै पन्तले कुनै पनि स्वार्थ समूहबाट प्रेरित नभई आफूहरुले जनताको जीउधनको सुरक्षाका लागि यस्तो प्रस्ताव गरेको बताए ।



from Online Khabar http://bit.ly/2WTO1GB

No comments:

Post a Comment

Post Bottom Ad

Pages