प्रधानमन्त्रीमा देखियो अधिनायकवादको रुझान - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, May 5, 2019

प्रधानमन्त्रीमा देखियो अधिनायकवादको रुझान

प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गरेर १४ वर्ष जेल बसेका नेता हुन् । तर, उनमा यतिबेला अधिनायवादी रुझान देखिन थालेको छ । फलस्वरुप प्रधानमन्त्री ओलीलाई लोकतान्त्रिक मूल्य मान्यताभन्दा अधिनायकवादी तौरतरिकाहरु मन पर्न थालेको छ ।

प्रधानमन्त्री ओलीभित्र देखा पर्न थालेको अधिनायकवादी रुझानलाई पहिचान गर्नका लागि तलका ४ वटा लक्षणहरु हेरौं–

१. ‘मेरो सरकार’

राष्ट्रपतिमार्फत शुक्रबार संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ पदावलीको प्रयोग सत्तारुढ कम्युनिष्ट पार्टीको सहमतिमा नभई प्रधानमन्त्रीको एकल निर्णयमा भएको हो । प्रचण्डलाई समेत झुक्याएर झेलपूर्वक ‘मेरो सरकार’ थपिएको प्रचण्डकै भनाइले पुष्टि गरिसकेको छ ।

‘मेरो सरकार’ भन्नु अन्तर्राष्ट्रिय प्रचलन भएको भन्दै प्रधानमन्त्री ओलीले मिडिया र बुद्धिजीवीलाई सम्झाउने प्रयास गरेका छन् । ‘मेरो सरकार’ भन्नु जायजमात्रै होइन, अपरिहार्य नै छ जस्तो तर्क गरेर प्रधानमन्त्री ओलीले आफ्नो उर्जा खर्च गरिरहेका छन् ।

तर, प्रधानमन्त्री ओलीले ‘मेरो सरकार’ प्रकरणको बचाऊका लागि भारतको निकै लामो फेरो समाते पनि नेपालको सन्दर्भमा यसका पछाडि केही मौलिक प्रश्नहरु जरुर छन् ।

पहिलो कुरा त प्रचण्डलाईसमेत झुक्याएर ‘मेरो सरकार’ किन घुसाइयो ? अपरिहार्य ठानिएको यही काम अँध्यारो कोठामा कीर्ते शैलीबाट किन गरियो ? यो प्राविधिक प्रश्न मात्रै हो या विधि र प्रक्रियाको पनि प्रश्न हो ?

दोस्रो, भारत वा सिंगै संसारले जेसुकै भने पनि नेपालको सन्दर्भमा ‘मेरो सरकार’ ले विशिष्ट अर्थ दिन्छ । यसले राजतन्त्रकै झल्को दिन्छ । राष्ट्रपतिले मेरो सरकार भन्नुको साटो ‘हाम्रो सरकार’ या ‘नेपाल सरकार’ भन्दाखेरि सुन्दर महसुस हुन्छ र यसले नेपालको लोकतन्त्रको सुन्दरता झल्किन्छ ।

शब्दको आञ्चलिकता र भौगोलिक पहिचान हुन्छ भन्ने अर्को दृष्टान्त हेरौं । जस्तो– भारतले जे भन्छ, त्यही गर्ने हो भने त भारतले स्थानीय तहहरुलाई ग्राम पञ्चायत, नगर पञ्चायत इत्यादि भन्ने गरेको छ । के उसोभए हामीले ‘अन्तरराष्ट्रिय प्रचलन’ भन्दै गाउँपालिकालाई ‘गाउँ पञ्चायत’ भन्न सक्छौं ? सक्दैनौं । किनभने हाम्रो सन्दर्भमा ‘पञ्चायत’ शब्द अधिनायकवादको निशानी हो । निरंकुशताको पहिचान हो ।

त्यसैले कतिपय शब्द र पदावलीहरुले आ–आफ्नो परिवेशमा मौलिक इतिहास र अर्थ बोकेका हुन्छन् । ‘मेरो सरकार’ को सन्दर्भमा पनि यहीकुरा सत्य हो । तर, १४ वर्ष जेल बसेको एउटा लोकतान्त्रिक नेतालाई शाही शब्दावलीप्रति यति गहिरो प्रेम किन ? किनभने, यो केपी ओलीमा देखिएको अधिनायकवादी रुझानको एउटा लक्षण हो ।

२. अग्लो ठाउँमा बस्ने रुची

प्रधानमन्त्री ओलीमा यतिबेला अलि अग्लो आशनमा बस्ने रुची जागेको छ ।

शनिबार ‘मेरो सरकार’ बारे बताउँदै गर्दा प्रधानमन्त्री ओलीले यतिसम्म भने कि बेलायती संसदलाई सम्वोधन गर्ने बेलामा सभामुख, संसदका अध्यक्ष र महारानी एउटै लेभलको बराबरी आसनमा बस्दैनन् । तर, नेपालमा चाहिँ राष्ट्रपति र सभामुखलाई बराबर आसनमा राखियो ।

शनिबार बिहान बालुवाटारमा प्रधानमन्त्री ओलीले सम्पादकहरुसँग ‘अन्तरक्रिया कार्यक्रम’ को आयोजना गरेका थिए । तर, उनी सम्पादकहरुसँग एउटै लेबलको राउण्ड टेबलमा बसेनन् । ओली बसेको आसन यति अग्लो थियो कि धेरैबेर उनीसँग आँखा जुधाउन खोज्दा तल बस्नेहरुको घुच्चुकले नथाम्ने स्थिति थियो । र, प्रधानमन्त्री यति पर बसेका थिए कि माइक विना आपसमा कुराकानी गर्न सकिँदैनथ्यो ।

विगतमा प्रधानमन्त्रीहरुले बालुवाटारमा सम्पादक वा अन्य कुनै पनि विधाका विज्ञहरुलाई बोलाउँदा एउटै लेबलका कुर्सीहरु नजिकै राखिएका हुन्थे । एकजनाले बोलेको अर्कोले सहजै सुन्थ्यो । को माथि बसेको छ र को तल बसेको छ भन्ने भेद देखिँदैनथ्यो । र, प्रधानमन्त्रीले पनि सल्लाह सुझावहरु माग्थे, अरुका कुराहरु पनि सुन्थे । यसरी होचोमा बस्दा प्रधानमन्त्रीको कद घट्दैनथ्यो, सबैले उनलाई सरकार प्रमुखका रुपमा सम्मान गरेकैहुन्थे ।

तर, प्रधानमन्त्री ओलीमा भने राजाको जस्तै तौरतरिका महसुस हुन थालेको छ । उनमा राजाजस्तै अग्लो आशनमा, अलि टाढा बस्ने रुची पलाएको छ ।

पत्रकारको हकमा मात्रै होइन, आफ्नै पार्टीका सांसदहरुको हकमा पनि प्रधानमन्त्री ओलीले आफूलाई जनताप्रेमी नेताभन्दा पनि राजा जसरी प्रस्तुत गर्न थालेका छन् । ओलीले व्यासासनमा बसेको पण्डितले जसरी उच्चस्थानबाट प्रवचन दिन्छन् । सांसदहरुले भक्तजनले जसरी तल बसेर चुपचाप सुन्छन् ज्ञानगुनका कुराहरु सुन्छन् ।

यसो हुनुका पछाडि प्रधानमन्त्री ओलीमा देखिएको अधिनायकवादी रुझान नै हो । अधिनायकवादीहरु बहस र छलफल रुचाउँदैनन् । आलोचकहरुलाई गालीगालौच गर्छन् र आफूलाई अरुभन्दा श्रेष्ठ देखिनका लागि बस्ने आसनसमेत अरुभन्दा पर, केही अग्लो ठाउँमा होस् भन्ने चाहन्छन् । बनारसका मठाधीशहरुमा पनि यस्तै प्रचलन छ । र, यो पनि एक प्रकारको ‘अन्तरराष्ट्रिय अभ्यास’ नै हो अधिनायकवादको ।

३. जनता कुवाका भ्यागुता !

तानाशाहरुको अर्को लक्षण के हो भने उनीहरु जनतालाई गाली गर्छन्, मिडियालाई हप्काउँछन् र विपक्षीप्रति असहिष्णु हुन्छन् । अचेल प्रधानमन्त्री ओली जनतालाई समेत हप्काउने तकमा ओर्लिन थालेका छन् । जस्तै सरकारको नीति तथा कार्यक्रममा मेरो सरकार भनिएकोमा फेसबुक, स्वीटरजस्ता समाजिक सञ्जालमा आम सर्वसाधारणले प्रश्न उठाएका थिए, तर प्रधानमन्त्रीले त्यसरी प्रश्न उठाउनेहरुलाई ‘कूपमण्डूक’ अर्थात् कुवाका भ्यागुताहरु भन्ने शब्द प्रयोग गरे ।

नीति तथा कार्यक्रममाथि भएको आलोचनाप्रति उनले आक्रोश पोखे । आलोचकहरुलाई प्रश्न उठाइदिनुभएकोमा र छलफलमा भाग लिइदिनु भएकोमा धन्यवाद छ भन्ने लोकतान्त्रिक संस्कार प्रधानमन्त्रीमा छैन भन्ने कुरा उनका अभिव्यक्तिबाट झल्कन थालेको छ ।

लोकतान्त्रिक संस्कार र सोच भएको भएको नेताले आलोचकका कुरा मात्रै सुन्दैन, आलोचकलाई सम्मान पनि गर्छ ।

तर, प्रधानमन्त्री ओली आलोचकहरुलाई कुवाको भ्यागुतो ठान्छन् र आफूलाई तत्वज्ञानी सम्झन्छन् । यो अधिनायकवादी रुझानको लक्षण हो ।

४. हुन सेनको निम्तो !

प्रधानामन्त्री ओली यसैसाता भियतनाम र कम्बोडियाको भ्रमणमा जाँदैछन् । वैदेशिक भ्रमणमा मितव्ययिता अपनाउने सरकारले बताइरहेका बेला प्रधानमन्त्री त्यहाँ नगई नहुने के पर्‍यो ? यो प्रश्न ओली सरकारलाई कसैले सोध्ने कुरै भएन ।

नेपालमा आयोजना गरिएको एशिया प्यासिफिक सम्मेलन र होली वाइनको चर्चा सेलाएको छैन । कम्वोडियाका तानाशाही शासकले प्रधानमन्त्री ओलीलाई त्यहीबेला भ्रमणको निम्तो दिएका थिए ।

र, यो भ्रमण ‘होली वाइनकै’ अर्को शिलसिला पनि हो । किनभने होली वाइन काण्ड मच्चाएर सरकारलाई विवादमा चान्ने पूर्वमन्त्री एकनाथ ढकाल अहिले उतै, छेउछाउमा लाओसतिरै छन् ।

अन्तराष्ट्रिय समुदायबाट एक्लिइरहेका तानाशाही शासकको निम्तो मान्ने रुची ओलीमा देखिनु राष्ट्रिय स्वार्थ र हितसँग कति जोडिएको छ ? यसमा बहस जरुरी छ । अन्यथा, यो तानाशाही रुझानको शारीरिक लक्षणजस्तो मात्रै ठहरिन सक्छ ।

देशमा बजेटको मौसम आएको र देश निर्माणको गम्भीर बहस गर्नुपर्ने बेलामा प्राथमिकताविहीन देशको भ्रमणमा निस्कनु अलोकप्रिय कदम हो । तानाशाहहरुयसै गरी घरेलु मुद्दालाई कार्पेटमुनि दपेटेर विदेश शयर गर्छन् र देशको सम्पत्ति उडाउँछन् ।

के यी चारवटा लक्षणले केपी ओलीभित्र अधिनायकवादी रुझानको संकेत गर्दैनन् र ?

अधिनायकवादी रुझानका ३ कारण

आखिर प्रधानमन्त्री ओलीमा अधिनायकवादी रुझानका लक्षणहरु किन देखा परे ? समस्याका कारणहरु के–के हुन् ? यसको पहिचान नगरेसम्म समस्याको समाधान सम्भव छैन । रोगको कारण पत्ता नलगाई उपचार सम्भव हुँदैन ।

प्रधानमन्त्री ओलीमा अधिनायकवादी रुझान देखा पर्नुका केही कारणहरु छन्, जुन कारणलाई बुँदागत रुपमा यसरी प्रस्तुत गर्न सकिन्छ–

१. प्रथमत : केपी ओलीमा दुईतिहाई बहुमतको दम्भ छ । दुईतिहाई भएकाले दलभित्र र देशभित्र जे पनि गर्न मिल्छ भन्ने उनलाई लागेको छ । सरकार र पार्टी दुबैतिर बहुमत भएकाले ओलीलाई लोकको पनि डर छैन, कम्युनिष्ट भएकाले परलोकको पनि डर छैन ।

२. केपी ओलीले नेतृत्व गरेको नेकपा ‘मुखले लोकतन्त्र, व्यवहारले सामाजिक फासीवाद’ अवलम्बन गरिरहेको अर्ध–लोकतान्त्रिक दल हो । पूर्वएमाले आफैंमा विपक्षीप्रति हदैसम्मको असहिष्णु चरित्र बोकेको पार्टी थियो, त्यसमा माओवादीको भ्रष्ट उपभोक्तावाद मिसिएपछि अहिले यो पार्टी अलोकतान्त्रिकहरुको कुम्भ मेलाजस्तै बनेको छ ।

कागतीको रुखमा सुन्तला फल्दैन । नेकपाको यस्तो संचनामा ओलीपथको विजारोपण र उदय अपरिहार्य भवितव्य हो ।

३. सत्तारुढ दलमात्र होइन, यतिबेला नेपाली समाज पनि मूल्यमान्यताहरुबाट च्युत हुँदै अनियमितता एवं भ्रष्टतातर्फ अघि बढिरहेको छ । यसको लक्षण तीनै तहका सरकार, कर्मचारीतन्त्र, अदालत वा राज्यका सबैखाले अवयवहरुमा संक्रमित भइसकेको छ ।

विगतमा लामो समय कांग्रेस र कम्युनिष्टहरुको नेतृत्वमा देशैभरि भ्रष्टाचार र अनियमिताको झार रोपिएको थियो । अहिले त्यही बनमाराले देशलाई चौतर्फी रुपमा गाँजेको छ । सिंगै देश विचौलिया र ठगहरुको हातमा परेको छ ।

समाज जस्तो हुन्छ, नेता पनि त्यस्तै पैदा हुन्छन् । समाजको यही वस्तुगत अवस्थाले देशमा लोकतन्त्रका लागि हैन, अधिनायकवादका लागि जमीन तयार भइरहेको छ ।



from Online Khabar http://bit.ly/2Wrb7nM

No comments:

Post a Comment

Post Bottom Ad

Pages