कोरोनाका नक्कली बिरामी अस्पतालमा आउँदा… - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, May 1, 2020

कोरोनाका नक्कली बिरामी अस्पतालमा आउँदा…

२० वैशाख, भक्तपुर । शुक्रबार दिउँसो करिब साढे एक बजे साइरन बजाउँदै ६ वटा एम्बुलेन्स भक्तपुरको मध्यपुर थिमिस्थित नेपाल-कोरिया मैत्री अस्पतालमा आए । पीपीई लगाएका स्वास्थ्यकर्मीहरुको दौडादौड चल्यो ।

पीपीई र मास्क लगाएका स्वास्थ्यकर्मीहरुले एम्बुलेन्सबाट बिरामीहरुलाई निकाल्दै स्ट्रेचर र ह्वील चेयरमा राख्न थाले । डाक्टरहरुले सोधपुछ गर्न थाले । कोही एम्बुलेन्स, स्ट्रेचर, ह्वीलचेयर र वरिपरि स्यानिटाइज (निःसंक्रमण) गर्न थाले । सेना, प्रहरी, सुरक्षा गार्ड र चिकित्सक तथा स्वास्थ्यकर्मीको एक्कासी सुरु भएको दौडधुपले केही त अत्तालिए ।

एक जना बिरामीले आफू उदयपुरबाट आएको भने । अर्का एक जनाले कोरोना पोजेटिभ रिपोर्ट लेखिएको कागज डाक्टरलाई देखाए । त्यसपछि चिकित्सक र नर्सहरु केही आत्तिएको जस्तो देखिए ।

एकछिनपछि थाहा भयो रेडक्रस र मध्यपुर थिमि नगरपालिकाले कोरोनाका बिरामी अस्पतालमा ल्याउँदा गर्नुपर्ने कामको पूर्वअभ्यास पो गराएका रहेछन् । एम्बुलेन्समा कोरोनाका नक्कली बिरामी रहेछन् ।

मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले भने, ‘दुई जना बिरामीले आफूलाई कोरोना देखिएको भनेपछि नर्सहरुले अक्सिजन लगाइदिए अनि रगतको नमूना लिन खोज्दा बल्ल रेडक्रसका साथीहरुले यो पूर्वअभ्यास मात्रै हो, यी कोरोनाका बिरामी होइनन् भनेपछि बल्ल सबैलाई थाहा भयो । बिरामीहरुले राम्रो अभिनय गरे ।’

यो पूर्वअभ्यासको संयोजन जिल्ला रेडक्रस भक्तपुरका परशुराम बस्नेतले गरेका थिए । रेडक्रसले ६ वटा एम्बुलेन्समा आठ जनालाई नक्कली बिरामी बनाएर अस्पतालमा पठाएको थियो । तर, यो सबै अभ्यास मात्र हो भन्ने कुरा अस्पतालका स्टाफहरुलाई थाहा दिइएको थिएन ।

बिरामीहरु अस्पताल ल्याउँदा चिकित्सक र स्वास्थ्यकर्मीबाट हुन सक्ने त्रुटी पत्ता लगाएर सावधानीका साथ उपचारको प्रबन्ध गर्न पूर्वाभ्यास गरिएको मेयर श्रेष्ठले बताए । ‘आगलागी, भूकम्प, बाढी पहिरोको पूर्वाभ्यास हुने गरे पनि कोरोनाको उपचारको पूर्वअभ्यास गरिएको थिएन, हामीले गर्‍यौं,’ मेयर श्रेष्ठले भने, ‘उपचारको क्रममा हुन सक्ने कमजोरी पत्ता लगाउन यो एकदमै फलदायी भयो ।’

अभ्यासको क्रममा कतिपय डाक्टर तथा नर्सहरुले कोरोनाको शंका लागेका वा कोरोना पुष्टि भएकालाई छुट्टै राखेर उपचार गर्नुपर्छ भन्ने बिर्सेर आकस्मिक कक्षमा प्रवेश गराएको भन्दै उनले त्यस्ता त्रुटि सच्याउन यो अभ्यासले सहयोग गर्ने बताए ।

मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गर्दै आएको नेपाल-कोरिया अस्पतालले कोरोना संक्रमितको उपचार गर्न १० शय्याको आइसोलेसन वार्ड, ६ शय्याको भेन्टिलेटर र २० शय्याको क्वारेन्टाइन तयारी अवस्था राखेको छ । पीसीआर मेसिन पनि जडान गरिएको छ । कोरोनालाई लक्षित गरी अहिले अस्पतालमा दुई करोड लगानी गरिएको मेयर श्रेष्ठले जानकारी दिए ।



from Online Khabar https://ift.tt/2SuzGQN

No comments:

Post a Comment

Post Bottom Ad

Pages