ईश्वर तामाङ/उदयपुर ।
निर्माण व्यवसायीले सडक निर्माणमा गरेको लापर्बाही र ढिलासुस्तीका कारण सगरमाथा लोकमार्ग भएर यात्रा गर्ने सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ ।
सडक निर्माण सुरु भएको २४ वर्ष बितिसक्दा पनि सडकको अवस्था सुधार नहुँदा यात्रुले सास्ती खेप्नुपरेको हो । ठेकेदार कम्पनीले सडक कटिङ गरेको स्थानमा ग्राबेल नहाल्दा समस्या भएको हो ।
ठेकेदारले हिउँदको समयमा काम रोकेर बर्खा लागेपछि बिल भुक्तानी गर्नका लागि मात्र काम गरेजस्तो देखाउने प्रवृत्तिले गर्दा सडक निर्माणले गति लिन नसकेको हो ।
सगरमाथा लोकमार्गको गाईघाट–दिक्तेल सडकखण्ड २०५१ सालमा निर्माण सुरु भएको हो । तर, २४ वर्ष बितिसक्दा पनि पूर्ण रूपमा निर्माण हुन सकेको छैन् ।
उदयपुरको त्रियुगा नगरपालिकाबाट १४ किलिोमिटरको दूरीमा रहेको बाघखोरदेखि सुनकोसीसम्मको अवस्था झनै दयनीय छ । मोड सुधारसँगै स्तरोन्नति गर्ने भन्दै काम गरिए पनि उल्टै सडकमा सवारीसाधन सञ्चालनमै कठिनाइ भएको छ ।
सडक स्तरोन्नति सुरु गर्नु अघिसम्म सहज रूपमा सञ्चालन भइरहेको सडक अहिले हिँड्नै नसक्ने अवस्थामा पुगेको छ । निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीको लापर्बाही र गाईघाट दिक्तेल सडक आयोजनाको प्रभावकारी अनुगमन नहँुदा सडक गोरेटोमा परिणत भएको छ । ट्र्याक खुलेको वर्षौं भइसक्दा पनि स्तरोन्नति हुन नसक्दा सर्वसाधारणले समस्या भोग्नुपरेको हो ।
पूर्वपश्चिम लोकमार्गअन्तर्गत सप्तरीको कदमाह र उदयपुरको सदरमुकाम गाईघाट हुँदै खोटाङ सदरमुकाम दिक्तेल जोड्ने सडक दुवैतर्फ (उदयपुर र खोटाङ) पूर्ण रूपमा ट्र्याक खुलेको झन्डै पाँच वर्ष बितिसकेको छ ।
स्तरोन्नतिका नाममा बर्सेनि करोडौं खर्चे पनि सडकको अवस्था सुधारिएको छैन । ‘बर्सेनि करोडौं खर्चेर सडक सुधार गर्ने भनिएको छ,’ रौतामाई गाउँपािलका–५ वडाध्यक्ष पाण्डव राईले बताए ।
‘सडकको अवस्था भने पहिलेको भन्दा बिग्रँदै गएको छ । गाईघाटबाट १३ किलोमिटरसम्म सजिलो भए पनि त्यहाँबाट माथि उदयपुरतर्फ सडकमा समस्या रहेको उनले बताए । उदयपुरतर्फ गाईघाटदेखि सुनकोसीसम्म ५३ किलोमिटरमध्ये १३ किमि मात्रै सजिलो यात्रा गर्न सकिन्छ । बाँकी ४० किलोमिटर सडक गुणस्तरीय नहुँदा समस्या भएको स्थानीयको गुनासो छ ।
‘गाईघाट दिक्तेल सडक गुणस्तरीय नहुँदा व्यवसाय धरासायी भयो,’ हिमाली यातायात व्यवसायी केन्द्रका महासचिव ओमभक्त मैनालीले भने, ‘वर्षमा तीन–चार महिना पनि यातायात सहज रूपमा सञ्चालन गर्न सकिँदैन ।’ पहिरो, हिलो, खाल्डो र सडक भत्कँदा समस्या हुने गरेको उनले बताए ।
त्रियुगा नगरपालिका–१५ रातमाटेदेखि १३ किलोमिटर सडक पहिरोको जोखिममा परेकाले यस वर्ष तीन महिना यातायात बन्द हुन पुग्यो । सडक स्तरोन्नतिका लागि काम थालेपछि पहिरो जाने क्रम सुरु भएकोमा अहिलेसम्म रोकिएको छैन ।
‘रातमाटेदेखि करिब १३ किलोमिटर सडक पुरै पहिरोको जोखिममा छ,’ आयोजनाका साइट इन्जिनियर नारायण थापाले भने, ‘वैशाखदेखि गएको पहिरो अहिलेसम्म रोकिएको छैन । पहिरो गएको स्थानमा कमजोर माटो भएकाले यो स्थानमा पहिरो रोकथाम समस्या आएको हो । दुई वर्षयता गाईघाटदेखि खोटाङको महुरेसम्म सडक स्तरोन्नतिको काम भइरहेको छ ।
स्तरमेन्नतिका लागि सरकारले लोकर्मागमा गत आर्थिक वर्ष सुनकोसीमा बेलिब्रिज लगाउनेसहित ४५ करोड रुपैयाँ खर्चेको छ । तर, सडकको अवस्था पहिलेको भन्दा दयनीय भएको सर्वसाधारणले गुनासो गरेका छन् ।
‘गत आर्थिक वर्ष ४५ करोड रुपैयाँ खर्च गरेर सुनकोसीमा बेलिब्रिज लगाउने समेत गरेर सडकको स्तरोन्नतिको काम गरियो,’ आयोजनाका सूचना अधिकृत इन्जिनियर निर्जल श्रेष्ठले भने, ‘फ्रस कटिङ, पहिरो रोकथाम, पिचिङलगायतमा खर्च गरिएको छ ।’ साउने–गाईघाट खण्डमा चार किलोमिटर सडक पिच गरिएको उनले बताए ।
तर, मध्य वर्षात्को समय साउनमा गरिएको पिच भदौ लागेपछि उक्किएको छ । ठेकेदार कम्पनीले आफ्नो काम पूरा गर्ने बहानामा साउनमा पिच गरेको आयोजनाले जनाएको छ । सुनौलो र खिम्ती विकास जेभी कन्स्ट्रक्सनले सडक कालोपत्रे गर्ने काम गरेको हो । करिब डेढ करोड लागतमा गरिएको काम अहिले उक्किएर धुले सडकमा परिणत भइसकेको छ । ‘साउनमा पिच नगर्न योजना कार्यालयले भन्दाभन्दै ठेकेदार कम्पनीले जबर्जस्ती काम गरेको हो,’ सूचना अधिकृत इन्जिनियर श्रेष्ठले भने, ‘कालोपत्रे उक्किएपछि निर्माण कम्पनीको भुक्तानीसमेत रोकिएको छौं ।
सप्तकोसीमा मिनी पानीजहाज
नदीको बहाव बढेसँगै रोकिएको मिनी पानीजहाज जेटबोट पुन सञ्चालनमा आएको छ । उदयपुर र सुनसरीको सीमानदी सप्तकोसीमा पानीको बहाव घटेसँगै सप्तकोसीको चतराघाटबाट जेटबोट सञ्चालनमा आएको हो ।
यात्रुलाई दसैंतिहारमा आउजाउ सहज बनाउने उद्देश्यले उदयपुर, सुनसरी, भोजपुर, खोटाङ र धनुकुटालाई समेत पायक पर्नेगरी चतराघाटमा मिनी पानीजहाज सञ्चालनमा ल्याइएका हुन् ।
पानीजहाज सञ्चालनमा आएपछि खोटाङ, भोजपुर र धनकुटाको तल्लो भेगका स्थानीयवासीलाई धरानबाट दैनिक उपभोग्य सामान ढुवानी गर्न तथा गाउँघरमा उत्पादित सामान बिक्री गर्न सहज हुने गरेको जेटबोट व्यवसायी पर्शुराम राईले बताए ।
उनका अनुसार असारमा नदीको बहाव बढेपछि स्थगित गरिएको जेटबोट पुनः सञ्चालनमा ल्याइएको हो ।
नजिकिएको दसैं र तिहारमा पहाडी भेगका गाउँघर फर्किने यात्रु अत्यधिक बढ्ने तथा सामान ढुवानी गर्न सहज हुने भएकाले स्थानीयको आग्रहअनुसार जेटबोट सञ्चालनमा ल्याइएको राईले बताए ।
जहाज सञ्चालनमा ल्याइएपछि गाउँलेलाई सुविधा पुग्ने सप्तकोसी जेटबोट तथा पानीजहाज सञ्चालक समितिको भनाइ रहेको छ । बर्खामा पानीको बहाव बढ्ने भएकाले गत असारदेखि भदौसम्म स्थगित गरिएकोमा वर्षा घट्नुका साथै दसैंमा सहयोग पु¥याउन सेवा सुचारु गरिएको उनले बताए ।
वर्षा घट्दै गएकाले पानीको बहाव साबिककै सतहमा आएकाले तीन महिना लामो स्थगनपछि जेटबोट सञ्चालनमा ल्याइएको हो ।
क्यान–१ नामक जेटबोटले उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहा गाउँपालिकाको सिमाना भएर बग्ने सप्तकोसीस्थित चतरा पुलदेखि भोजपुरको हलेदे र धनकुटाको सिम्लेसम्म जेटबोट सञ्चालन हुँदै आएको छ ।
सप्तकोसीमा ६ महिनाअघि सञ्चालन सुरु भएको जेटबोट सप्कोसीमा दुईवटा चलाइँदै आएको छ । चतरा पुलमुनिबाट यात्रा गर्ने जेटबोटले एकपटकमा २५ जनासम्म यात्रु राखेर १५ किलोमिटर दूरी यात्रा गराउने गरेको छ । जेटबोटबाट खोटाङको दक्षिणी भेग, उदयपुरको बेलका नगरपालिका–७ र ८ वडावासीलाई फाइदा पुग्नेछ भने भोजपुर र धनकुटाका तल्लो भेगका बासिन्दा लाभान्वित हुने गरेका छन् ।
स्थानीयवासीलाई ७ घण्टासम्म हिँड्नुपर्ने भौगोलिक विकट बाटो जेटबोटबाट १५ मिनेट मात्रै लाग्ने गरेको छ । नगर कार्यपालिकाले सप्तकोसीमा जेटबोट सञ्चालन गर्ने अवधारणा अघि सारेको थियो ।
परीक्षणका लागि सञ्चालित जेटबोट व्यावहारिक देखिएपछि नगरपालिकाले अनुमति दिएर सुरु गरेको जेटबोटले जल यातायात लोकप्रिय बन्दै गएको बेलका नगरपालिकाका नगरप्रमुख दुर्गाकुमार थापाले बताए ।
गत फागुनदेखि सुरु भएको जेटबोट सेवामा गर्मी मौसममा धेरै आन्तरिक र बाह्य पर्यटक कोसीको चिसो हावा खान जेटबोटबाट जलयात्रा गर्ने गरेको उनले बताए । नगरपालिकाले जल यातायात सञ्चालन गरेर पर्यटक भिœयाउँदै आन्तरिक पर्यटनको विकास गर्ने योजना चालू आर्थिक वर्षमा समेटेको नगरप्रमुख थापाले बताए ।
from Rajdhani Daily https://ift.tt/2DE1IEh

No comments:
Post a Comment