स्वचालित प्रविधिको दुनियाँमा अत्यावश्यक शिक्षा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, September 21, 2018

स्वचालित प्रविधिको दुनियाँमा अत्यावश्यक शिक्षा

डिजिटल ज्ञान र प्राविधिक सीपलाई केन्द्रमा राखेर शिक्षामा आमूल परिवर्तन नगर्ने हो भने परम्परागत शिक्षा प्रणालीले वर्तमान विश्वमा नयाँ अवसर पाउन मुस्किल छ

डिजिटल प्रविधि र स्वचालित यन्त्रको बढ्दो प्रयोगले श्रमिकको भविष्य खतरामा पार्ने चिन्ता बढेको छ । यद्यपि, यी प्रविधिको प्रयोगबाट अहिले नै डराइहाल्नुपर्ने अवस्था भने छैन । मानवहितका लागि भनी विकास भएका यी अत्याधुनिक प्रविधिले अन्ततः नकारात्मक परिणाम ननिम्त्याऊन् भन्नेमा हामी सजग हुन जरुरी छ । यसका लागि समयअनुरूपको शिक्षामा जोड दिनुपर्छ ।


पछिल्लो समय विशेषगरी विकसित देशका कार्यक्षेत्रमा स्वचालित रोबोटको व्यापक प्रयोग हुँदै आएको छ । मानिसले गर्दै आएका काम रोबोटले गर्न थालेपछि केही क्षेत्रका श्रमिकलाई वास्तवमै ठूलो दबाब परेको छ । धेरैको रोजगारी गुमेको छ भने बाँकी धेरै बेरोजगार हुने खतरा बढेको छ ।

त्यसमा पनि दक्षिण कोरियाली उद्योगमा रोबोटको घनत्व सबैभन्दा बढी छ । १० हजार श्रमिकले गर्ने श्रमिकको ठाउँमा ६ सय ३१ रोबोट प्रयोग भएका छन् । परिणामस्वरूप, उत्पादनमूलक रोजगारी घट्दा युवा बेरोजगारी दर आकासिएको छ । सन् २०१७ मा गरिएको एक अध्ययनअनुसार अमेरिकामा रोबोटको प्रयोग बढेसँगै रोजगारी र ज्यालादर घटेको छ ।

प्राविधिक विकासले निश्चिय पनि भएका रोजगारी विनाश गर्छ । तर, यसो भनिरहँदा प्रविधिले रोजगारीका अन्य अवसर पनि सिर्जना गरिरहेको हुन्छ । उदाहरणका लागि, मोटर इन्जिनजडित सवारीसाधनको आविष्कारले घोडा तथा बयलगाडामा निर्भर हुने श्रमिकको रोजगारी खोसेको छ । तर, यस इन्जिनको आविष्कारले सवारीसाधन उत्पादन गर्ने उद्योग तथा सडक निर्माणको क्षेत्रमा लाखौँ रोजगारी सिर्जना गरेको छ । हालको एक अध्ययनले रोजगारीको क्षेत्रमा स्वचालित यन्त्रले सकारात्मक प्रभाव पारेको देखाएको छ ।

वर्तमान दुनियाँ अत्याधुनिक प्रविधिको हो । यस्ता प्रविधिको उत्पादन र प्रयोगका लागि पनि उच्च प्राविधिक सीपको आवश्यकता पर्छ । प्रविधिले माग गरेअनुरूपको क्षमता र सीप नभएको जनसंख्याले वर्तमान प्राविधिक दुनियाँमा सजिलै कामको अवसर पाउन मुस्किल छ । यसर्थ, आवश्यक दक्ष जनशक्तिको उत्पादनार्थ सम्बन्धित मुलुकले उच्च गुणस्तरीय शिक्षा तथा प्रशिक्षणात्मक कार्यक्रममा आफ्ना नागरिकको पहुँच सुनिश्चित गर्नुपर्छ । प्रमुख आविष्कारले सिर्जना गरेका अवसर प्राप्तिका लागि प्रविधि र शिक्षाबीचको सामञ्जस्यमूलक दौड हुन जरुरी छ । यस्तो हुन सके मात्र प्रविधिबाट फाइदा लिन सकिन्छ ।

प्रविधिको उत्पादन र प्रयोगका लागि पनि उच्च प्राविधिक सीपको आवश्यकता पर्छ । प्रविधिको मागअनुरूप क्षमता र सीप नभएको जनसंख्याले वर्तमान प्राविधिक दुनियाँमा सजिलै कामको अवसर पाउन मुस्किल छ ।

धेरै मुलुकमा प्रविधिको भूमिका अग्रस्थानमा देखिएको छ । यद्यपि, चीन र अन्य केही पूर्वी एसियाली अर्थतन्त्रमा बढेको आम्दानी असमानताले अत्याधुनिक प्रविधि अँगाल्ने र यस्ता प्रविधिको पहुँचबाट टाढा भएको जनसंख्याबीचको दूरीलाई चित्रित गरेको छ । शिक्षा र रोजगारीबीच तालमेल नमिल्दा विश्वभरका अर्थतन्त्रलाई असर गरेको छ । औपचारिक शिक्षाले विद्यार्र्थीलाई सीपमूलक तथा प्राविधिक दक्षता दिन नसक्दा एकातर्फ बरोजगारी बढेको छ भने अर्कातर्फ बजारले चाहेको जनशक्ति पाउन सकेको छैन ।

इकोनिमिस्ट इन्टेलिजेन्स युनिट (इआइयू) ले सार्वजनिक गरेको एक रिपोर्टअनुसार सर्वेक्षण गरिएका प्रमुख व्यवसायीमध्ये ६६ प्रतिशतले आफ्ना युवा श्रमिकको सीपस्तरबाट आफू असन्तुष्ट भएको जनाए । यसैगरी, ५२ प्रतिशतले श्रमिकबीचको सीपको दूरी नै उद्योगको कार्यक्षमताको अवरोध भएको बताए । यसैबीच अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलप्मेन्टले गरेको एक सर्वेक्षणअनुसार २१ प्रतिशत श्रमिकले गरिरहेको कामका लागि आवश्यक पर्नेभन्दा आफू बढी शिक्षित भएको दाबी गरेको पाइयो ।

यसको अर्थ औपचारिक शिक्षाले श्रमिकलाई गलत शिक्षा दिइरहेको छ भन्ने हो । यसकारण, डिजिटल ज्ञान र प्राविधिक सीपलाई केन्द्रमा राखेर शिक्षामा आमूल परिवर्तन गर्न जरुरी छ । परम्परागत शिक्षा प्रणालीले वर्तमान विश्वमा नयाँ अवसर पाउन मुस्किल छ । २१औँ शताब्दीको शिक्षामा गहन सोच, सिर्जनशीलता, सहकार्य र सञ्चारलाई केन्द्रमा राख्नुपर्छ । यसरी मानिसले कृत्रिम बौद्धिकता समाहित मेसिनबाट लाभ लिन सक्नुपर्छ । रोजगारी गुमाउने होइन, सिर्जना गर्नुपर्छ ।

यस्तो शिक्षा पद्धति निम्न माध्यमिक तहबाटै सुरु गर्नुपर्छ । शिक्षाको आधार बलियो भए मात्र माथिल्लो शैक्षिक तह तथा प्रशिक्षणबाट विद्यार्थीले यथेस्ट लाभ लिन सक्छन् । द्रुत गतिमा प्रविधिको विकास भइरहँदा श्रमिकको सीप तथा क्षमतालाई पनि निरन्तर अभिवृद्धि गर्दै लानुपर्छ ।

परिवर्तित प्रविधि र बजार मागअनुरूप सबै शैक्षिक तहका पाठ्यसामग्रीलाई परिमार्जन तथा अद्यावधिक गर्न अझ लचक र खुला बनाउनुपर्ने आवश्यकता छ । यद्यपि, यस्तो शैक्षिक प्रणाली सुधारको अवरोधका रूपमा गुणस्तरीय तथा प्रशिक्षित शिक्षकको अभाव छ । उदाहरणका लागि उप–साहरा क्षेत्रका अफ्रिकी मुलुकमा औसत रूपमा ४४ विद्यार्थीका लागि एक योग्य माध्यमिक शिक्षक राखिएको छ । निम्नमाध्यमिक तहमा ५८ जना विद्यार्थीका लागि एक शिक्षकको व्यवस्था छ ।

यस्तो स्थितिमा गुणस्तरीय शैक्षिक जनशक्ति उत्पादनका लागि शिक्षकलाई आर्थिक तथा गैरआर्थिक प्रोत्साहनको व्यवस्था गर्नुका साथै उनीहरूको व्यावसायिकता विकासका निम्ति पनि उच्च लगानी गर्नुपर्छ । शिक्षकलाई सूचना तथा सञ्चार प्रविधिका साधन उपलब्ध गराउनुपर्छ ।

औपचारिक तथा अनौपचारीक दुवै माध्यमबाट शिक्षकले प्रविधिसम्बन्धी ज्ञानमा पहुँच पाउनुपर्छ । इआइयूको रिपोर्टअनुसार केवल २८ प्रतिशत माध्यमिक विद्यालयले अध्यापनका लागि सक्रिय सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरेका छन् ।

सूचना तथा सञ्चार प्रविधिले दक्ष शिक्षकको अभावका साथै अन्य शैक्षिक स्रोतको अभावलाई सम्बोधन गर्न पनि मद्दत गर्नेछ । यसरी अनलाइन शैक्षिक प्लेटफर्ममार्फत दूर शिक्षासमेत सम्भव भएकाले शैक्षिक सामग्री तथा गुणस्तरीय शिक्षासमक्ष विद्यार्थीको पहुँच सम्भव हुन्छ । उदाहरणका लागि अमेरिकाको मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीको खुला अनलाइन कोर्समा विश्वभरका विद्यार्थीले विश्वका उत्कृष्ट प्राध्यापकबाट शिक्षा लिने अवसर पाउँछन् ।

गुणस्तरीय शिक्षाका लागि वर्तमान विश्वमा व्यापक अन्तर्राष्ट्रिय सहयोग तथा साझेदारी हुन जरुरी छ । अत्याधुनिक प्रविधिले शिक्षा क्षेत्रमा थपेको चुनौती सम्पूर्ण विश्वले सामना गर्नु परिरहेको छ । यसकारण, यस्तो चुनौती सामनार्थ विश्वका मुलुकबीच सहकार्यको अवश्यकता छ ।

विद्यार्थी र शिक्षक आदानप्रदान गरेर तथा सूचना तथा सञ्चार प्रविधिसम्बन्धी पूर्वाधार विकास तथा तीनको स्तरोन्नतिमा जोड दिनुपर्छ । परिवर्तित विश्व श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न कमजोर शैक्षिक पृष्ठभूमि तथा न्यून सीप स्तर भएका जनशक्तिको पहुँच गुणस्तरीय शिक्षामा हुनुपर्छ । यसैगरी, विस्तृत सामाजिक सुरक्षाका निम्ति बेरोजगार बिमा, सार्वजनिक स्वास्थ्य बिमाजस्ता कार्यक्रम पनि लागू गर्नुपर्छ ।

हो, कृत्रिम बौद्धिकताको क्षेत्रमा भएको क्रान्ति मूलतः विध्वंसात्मक देखिएको छ । तर, यसले मानिसलाई विस्थापित गर्न सक्दैन । समयअनुरूपको गुणस्तरीय शैक्षिक प्रणालीमार्फत प्रविधिको प्रयोगबाट हाम्रो जीवनलाई अझ आशावादी, पूर्ण र सम्पन्न बनाउन सकिन्छ ।

(लेखक कोरियन युनिभर्सिटीमातहतको एसियाटिक रिसर्च इन्स्टिच्युटका निर्देशक हुन्)

कपिराइट :  प्रोजेक्ट सिन्डिकेट, २०१८
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्यमा

The post स्वचालित प्रविधिको दुनियाँमा अत्यावश्यक शिक्षा appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2QLfZlb

No comments:

Post a Comment

Post Bottom Ad

Pages