पुरानो कांग्रेस कसरी बन्छ नयाँ ? - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, September 28, 2018

पुरानो कांग्रेस कसरी बन्छ नयाँ ?

संसारको आधा क्षति आफूँलाई महत्वपूर्ण ठान्ने मानिसका कारण भएको छ । उनीहरू हानि होस् भन्ने चाहँदैनन् । हानिको पनि उनीहरूमाथि कुनै चाख हुँदैन । – बेलायती कवि टिएस इलियट ।

 

यो स्तम्भको प्रारम्भ कवि इलियटको यस कथनबाट हुँदैछ । उनको यो कथन स्तम्भकारले ट्विटरबाट लिएको हो । वर्तमान नेपालको राजनीतिक सन्दर्भमा यो निकै रोचक छ । हामी नेपाली आफूलाई महत्वपूर्ण ठान्ने मानिसबाट पीडित छौँ । हाम्रो समाजमा जे–जति हानि भएको छ, त्यसको मुख्य कारण राजनीतिमा लागेका मानिसले आफैँलाई महत्वपूर्ण ठानेका छन् । अब यस्तो लाग्छ, बढी हानि हुनका लागि हामीसँग ठाउँ नै छैन ।

नेपालमा शासन व्यवस्था फेरिएपछि ‘संघीय गणतन्त्र’को स्थानीयदेखि संघीय तहसम्मका पहिलो चुनावमा पराजय भएदेखि नै कांग्रेसको प्रखर विरोध सुरु भएको छ वामपन्थीबाट, अनुदारवादीबाट, निरंकुश राजतन्त्रवादीबाट र चुनावमा सोसल मिडियाको प्रभावशाली प्रयोग गर्न जानेका साना पार्टीहरूबाट ।

विवेकशील पार्टीका मिलन पाण्डेले सञ्चार माध्यममा लेखेका छन् : ०४६ सालयता कांग्रेसले कहिल्यै चुनाव जितेको होइन, अरू पार्टीले हारेका हुन् । कसको कारणले र कसरी कांग्रेसले चुनाव नजितेरै ०४६ सालपछि केही समयका लागि सत्तामा पुग्यो ? यसको विश्लेषण कठिन छ । जो यथार्थ होइन, त्यसको विश्लेषण र व्याख्या हुन सक्दैन । समसामयिक नेपाली राजनीतिमा नयाँ शक्ति र विवेकशील मूल खालमा बसेका दल होइनन् ।

च्याँखे बल्झिए मात्र सत्तामा जाने मौका ढुकेर बसेका छन् यी दल । पछिल्लो चुनावमा काठमाडौं १ को मत परिणामले देखाएको छ, यो एउटा क्षेत्रमा मात्र कांग्रेसभन्दा एक हजार मतले पछाडि छ, विवेकशील पार्टी । एक हजारको यो अंक अर्को चुनावमा दुस्साहसिक सावित हुन नसक्ने आधार छैन।

निश्चय पनि, संघीय गणतन्त्रको पहिलो चुनावमा कांग्रेस यति नराम्रोसँग पराजित हुनु अचम्मलाग्दो विषय हो । धेरै राजनीतिक विश्लेषकले यसलाई कांग्रेसप्रति मतदाताको बदलिँदो धारणाका रूपमा लिएका छन् । यो सत्य हो । कांग्रेसले अहिलेसम्म कहिल्यै आफ्नो राजनीतिको संगठनात्मक नाफा–नोक्सानको वासलात हेरेन ।कांग्रेसका नेताले सधैँ आफ्नो नाफा–नोक्सानको वासलात हेरे ।

कार्यकर्ताको ‘जय नेपाल’मा रमाए । ‘जय नेपाल’ शब्दले अभिवादन गर्दा कार्यकर्ताको ध्वनिको वजन घटेको भेउ पाउन सकेनन् । जनताको असन्तोष कुन हदसम्म बढेको छ, त्यसलाई बुझ्ने चेष्टा गरेनन् । कसैले केही गरेनन् । न शेरबहादुरले गरे, न रामचन्द्रले । गिरिजाप्रसाद कोइरालापछि कुनै कोइरालाले राम्रो भाषण गर्नसम्म सिकेनन् । अहिलेको दुर्गति धेरै हदसम्म नेताहरूको खोकिलाबाट निस्केको हो ।

अहिलेको समय कांग्रेसका लागि प्रतिकूल हुँदै गएको छ । प्रचारलाई राजनीतिक रणनीतिको केन्द्रबिन्दु बनाएको कम्युनिस्ट पार्टीले कांग्रेसको हुर्मत लिन कुनै कसर बाँकी राखेको छैन । सामाजिक सञ्जाल, विभिन्न अनलाइन, मूलधारका समाचारपत्रमार्फत कांग्रेसविरुद्ध कम्युनिस्टले जेहाद छेडेका छन् । यसमा कुनै शंका छैन, उनीहरूले आफूँ ठूलो लोकतन्त्रवादी र उदारवादी भएको प्रचार गरे पनि उनीहरू प्रतिस्पर्धात्मक राजनीतिका खलनायक नै हुन् ।

उनीहरू प्रेसको राजनीतिक प्रयोग गर्न, सांस्कृतिक र सामाजिक मञ्चमा कब्जा जमाउन र प्रचारको झ्याली पिट्न तालिमप्राप्त मानिन्छन् । उस्तै परे प्रतिस्पर्धीलाई उठबस गराउन र पिटपाट गर्न उद्यत हुने उनीहरूको आदत यहाँ दोहोर्‍याइरहनुपर्दैन । प्रमुख प्रतिपक्षी पार्टीविरुद्ध सरकारी पार्टी यसरी खनिनु कतै पनि राम्रो मानिँदैन ।

त्यसमा पनि अहिलेसम्म आपस्तमा मिल्दै आएका कांग्रेस र पहिलेको एमालेबीच यतिबिघ्न कटुता होला भन्ने कसैले सोचेका थिएनन् । चरित्रगत हिसाबले पनि कांग्रेस र एमालेबीच त्यति ठूलो भिन्नता छैन । राजनीति दुवैका लागि आफ्नो आर्थिक र पारम्परिक हैसियत उठाउने बाटो हो । देश बनाउने कुरा तपसीलमा पर्छ ।

एमालेमा माओवादी र अन्य साना दल मिसिएपछि राजनीतिको स्वरूप पनि बदलिएको छ । हिजो एक्लै छँदा एमालेको मनसाय कठोर थिएन । कम्युनिस्ट एकतापछि एमाले नेतृत्व कम्युनिस्ट पार्टीमा हाबी भएको छ । माओवादीका शक्तिशाली नेता प्रचण्ड कम्युनिस्ट पार्टीको सहअध्यक्ष भएपछि मरिच जस्तै चाउरिएका छन् । उनी पत्नीको उपचारका लागि एउटा सामान्य पारिवारिक व्यक्तिले झैँ लुखुरलुखुर सिंगापुर धाउन थालेका छन् । उनको ‘बडी ल्यांग्वेज’ यतिवेला निष्क्रिय भएको छ ।

बाँकी अरू कम्युनिस्ट नेताका कुरै छाडौँ । लामो समय एमालेको नेतृत्वमा रहेका माधव नेपाल स्वयं प्रतिपक्षी नेताजस्ता देखिएका छन् । झलनाथ खनालको अवस्था पनि कम अप्ठ्यारो छैन । बर्दियामा चुनावी पराजय भोगेका वामदेव गौतम संसद् पस्ने बाटोको खोजमा अलमलिएका छन् । सत्तासीन कम्युनिस्ट पार्टीको चरित्र यस्तै हुन्छ । सत्ताको केन्द्रमा त्यसैको पकड बलियो हुन्छ, जसले पर्याप्त स्रोत र शक्तिको व्यवस्थापन गर्न सक्छन् । अहिले प्रधानमन्त्रीको कुर्सीमा कामरेड केपी ओली छन् ।

बलात्कारदेखि बुढिगण्डकीसम्म, कर्म, कुकर्म, यहाँ जे भइरहेको छ, त्यो उनैको नाममा भएको छ ।
कांग्रेसका नेताहरूले यति टड्कारो सत्यलाई पनि आत्मसात् गर्न सकेका छैनन् । उनीहरूसँग न मिडिया छ, न सामाजिक सञ्जालमा पकड छ, न त मिडियालाई सक्रिय बनाउने चाहना नै छ ।

पार्टीका जिम्मेवार नेताहरू बडो सजिलोसँग ‘दस–बीस हजार पत्रकारको हातमा थमाएर आफ्नो समर्थन लेखाउने कुरा गर्छन् । एक्काइसौँ शताब्दीमा मिडियाको बढ्दो शक्तिको अनुभव उनीहरूले नगरेको होइन, तर पार्टीका पक्षमा त्यसको प्रयोगबाट उनीहरू हच्किएका छन् ।

नेताबीच पारस्परिक मनोमालिन्य र विभाजन सबै पार्टीमा छ । तर, कांग्रेसमा त्यसको मात्रा बढी नै देखिन्छ । पार्टी पावरमा भएका वेला सत्ता–सुख र लाभका लागि नेताबीच झगडा हुनु अस्वाभाविक नहोला । तर, जब पार्टी पावरमा छैन, त्यस्तो वेला नेताबीच आपसी सहमति बन्न नसक्नु दुर्भाग्यपूर्ण हो। पार्टीका समर्पित कार्यकर्ताले नेताबीचको यो विग्रहलाई कसरी हेरेका होलान् ? सामान्य जनताले यसलाई प्रहसनका रूपमा लिएका छन् ।

कांग्रेसले अहिलेसम्म कहिल्यै आफ्नो राजनीतिको संगठनात्मक नाफा–नोक्सानको वासलात हेरेन । कांग्रेसका नेताले सधैँ आफ्नो नाफा–नोक्सानको वासलात हेरे । कार्यकर्ताको ‘जय नेपाल’मा रमाए ।

कांग्रेसले आफूँलाई समयानुकूल अपडेट गरेको देखिँदैन । उसको घोषणापत्र र प्रतिबद्धतामा आमूल परिवर्तन अहिलेको आवश्यकता हो । एउटा लोकतान्त्रिक पार्टीले आफ्नो मूलभूत लक्ष्यको पहिचान गर्न नसक्नु राम्रो होइन । यो साहै्र ठूलो कमी हो । पार्टीमा बुद्धिमान र विद्वान् दुवैथरी मानिस उपलब्ध छन् । नयाँ पुस्ताका मानिस पार्टीका लागि बौद्धिक र व्यावहारिक दुवैथरी काम गर्न तत्पर छन् ।

तर, निर्णायक तहमा रहेका जिम्मेवार नेताहरू पार्टीभित्र नयाँ रक्तसञ्चार हुनै दिँदैनन् । चाहे सभापति शेरबहादुर देउवा हुन् अथवा महामन्त्री शशांक कोइराला, यी दुवैको चिन्तन प्रक्रिया अनुदारवादी छ । प्रभावशाली तहमा रहेका अन्य नेताहरूको प्रभाव क्षीण हुँदै गएको छ । यो अवस्थामा कांग्रेसले कसरी आपूmलाई समय सान्दर्भिक बनाउनेछ ? लोकतन्त्रवादीका लागि यो चिन्ताको विषय हो ।

कांग्रेसले यतिवेला आएर आफ्नो सदस्यतामा विविधता ल्याउने भएको छ । साधारण र क्रियाशीलपछि अब थपिने सदस्यता सम्मानित र विशेष हुन् । विद्यार्थीको संस्थाले निकाल्ने पत्रिकामा जस्तो पार्टीमा सम्मानित र विशेष सदस्य थप्नु अनावश्यक तह निर्माण गर्नु हो । कसलाई सम्मानित सदस्य बनाउने वा पार्टीका लागि कस्तो योगदान दिनेलाई विशेष सदस्य बनाउने हो ?

यो त पार्टी सभापति र कार्यसमितिले निर्णय गर्ने विषय हो । यो प्रयोग नयाँ देखिए पनि यसको कुनै सान्दर्भिकता देखि“दैन । अहिले कांग्रेस आफ्नो संरचनात्मक सुधारमा लाग्नुपर्छ । त्यसलाई वाद गरेर कांग्रेस अघि बढ्न सक्दैन । कांग्रेसले विभिन्न विषयमा विशिष्टता हासिल गरेका विद्वान्लाई हरेक प्रदेश र स्थानीय तहमा पुर्‍याउनुपर्छ । त्यहाँ सर्वसाधारण जनतासँग छलफल गरेर नीति बनाउने काम गर्नुपर्छ । जनतालाई समयको चुनौतीको सामना गर्न सक्ने बनाउनु कांग्रेसको पहिलो आवश्यकता हो।

कांग्रेसले यति लामो समय शासन गरेर पनि जनतालाई केही दिएन, विकास गरेन, भन्ने आरोप विरोधीले लगातार लगाइरहेका छन् । ऐतिहासिक हिसाबले नै यो गलत आरोप हो । कांग्रेसले कति लामो समय सरकार चलायो र यस अवधिमा के–के गर्‍यो ?

पार्टीले आफ्नो इतिहासको व्याख्या गर्नैपर्छ । जनताले यी कुरा जानेकै छन् भनेर पुग्दैन । यतिवेला कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको परिचयसमेत धुमिल हुन थालेको छ भने यो जनताको दोष होइन । ०४५ सालपछि जन्मिएका जनताका सन्तानले बिपीको नाम सुनेका छैनन् भन्दा पार्टीका नेतालाई लाज लाग्नुपर्ने हो । तर, नेतामाथि लज्जाको पनि कुनै बिसात रहेन।

The post पुरानो कांग्रेस कसरी बन्छ नयाँ ? appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2Q9nQaU

No comments:

Post a Comment

Post Bottom Ad

Pages