राजधानी समाचारदाता/काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रिया विश्वलाई नै अभिप्रेरक कथा बन्ने बताएका छन् । प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक परिवर्तन शान्तिपूर्ण तथा प्रजातान्त्रिक सङ्क्रमणको विश्वकै लागि मौलिक उदाहरण भएको दाबी समेत गरे ।
संयुक्त राष्ट्रसङ्घको ७३ औँ महासभामा बोल्दै प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक द्वन्द्व व्यवस्थापन विश्वका विभिन्न भागमा शान्तिको कामना गर्ने धेरै व्यक्तिलाई अभिप्रेरक कथा बन्नसक्ने भएकाले नेपालले यो अनुभव र अन्तर्दृष्टि अन्य पक्षसँग साझेदारी गर्न चाहेको समेत बताए । वार्ताले मतभेद पराजित गर्छ र मतले गोलीलाई पराजित गर्छ भन्ने भनाइको साक्षी–बयानको रुपमा नेपालको शान्ति प्रक्रियालाई प्रस्तुत गर्न सकिने समेत उनको भनाई छ ।
प्रधानमन्त्री ओलीले नेपाली राजनीतिक परिवर्तन सशस्त्र द्वन्द्वको शान्तिपूर्ण समाधान भएको र यसले राज्यको पुनः संरचनामार्फत विविधतामा एकता प्रवद्र्धन गर्ने उल्लेख गरे । उनले नेपालको संविधान सङ्घीय गणतन्त्रको संरचनामा प्रजातान्त्रिक राजनीति बलियो बनाउने कुरा मात्र नभई यसले जनतालाई विस्तृत अधिकार र स्वतन्त्रता दिएको समेत बताए ।
प्रधानमन्त्री ओलीले प्रजातान्त्रिक सङ्क्रमणको कठिन यात्रापछि नेपाल आफैँले दिगो राजनीतिक र आर्थिक सङ्क्रमणको मार्गको रुपमा ‘समृद्ध नेपाल र सुखी नेपाली’ को दृष्टिकोण अगाडि बढाएको पनि बताए ।
प्रधानमन्त्री ओलीले महासभामा शक्तिपृथकीकरण, नियन्त्रण र सन्तुलन, कानूनी राज्य, स्वतन्त्र न्यायपालिका, आवधिक निर्वाचन, समावेशी तथा समानुपातिक प्रतिनिधित्व नयाँ संविधानको प्रमुख विशेषता भएको जानकारी गराए ।
प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयन गर्नु आफ्ना लागि महत्वपूर्ण काम भएको र गत वर्ष सङ्घीय, प्रान्तीय तथा स्थानीयस्तरको स्वतन्त्र, निष्पक्ष निर्वाचनबाट सम्पन्न हुनु संविधान कार्यान्वयनकै उदाहरण भएको बताए । उनले निर्वाचनबाट ४१ प्रतिशत महिला विभिन्न निकायमा आएको तथ्य पेश गर्दै बाँकी नौ प्रतिशत रिक्त स्थान पनि पूर्ति गरिने प्रतिवद्धता समेत जनाए ।
प्रधानमन्त्री ओलीले नेपालको विदेश नीतिले सबैसँग मैत्री भावना कायम राख्ने र कसैसँग शत्रुता नराख्ने बताउँदै क्षेत्रीय सहयोगको प्राथमिकता अनुसार नेपालले हालै बिमस्टेकको चौँथो शिखर बैठक आयोजना गरेको र सार्कलाई महत्वपूर्ण क्षेत्रीय सङ्गठनको रुपमा पुनः सबल भएको देख्न चाहेको बताए । उनले नेपाली शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसङ्घ तथा अन्तर्रा्ष्ट्रिय समुदायले दिएको सहयोगका लागि कृतज्ञता पनि प्रकट गरे । महाधिवेशनको यस सत्रको सफलताका लागि बुद्ध र सगरमाथाको भूमिबाट शुभकामना ल्याएको समेत उनले बताएका थिए ।
प्रधानमन्त्री र राष्ट्रसंघका महासचिवबिच भेट
नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघमा भाग लिन पुगेका प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
भेटमा नेपाल तथा राष्ट्र सङ्घबीच सहयोगका विभिन्न पक्षका विषयमा छलफल भएको राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगले विज्ञप्ति जारी गरेर जनाएको छ । उनीहरुबीच शान्ति स्थापना गर्ने अभियान र त्यसमा नेपालको भूमिका विस्तार गर्ने विषयमा पनि छलफल भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री ओलीसँग महासचिव गुटेरेसले शान्तिपूर्ण सङ्क्रमणमा नेपालमा सशक्त प्रजातन्त्र स्थापना हुनु उदाहरणीय भएको बताउँदै नेपालको पुनःसंरचना तथा दिगो विकासका लक्ष्य प्राप्त गर्न राष्ट्रसङ्घीय सहयोगको प्रतिवद्धता जनाएका छन् ।
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2DCtjWk

No comments:
Post a Comment