फर्निचर तथा फर्निसिङ एक्स्पो
नेपालको फर्निचर व्यवसायमा लगानी, रोजगारी र योगदान कस्तो छ ?
फर्निचर तथा फर्निसिङ व्यवसाय दिनहुँ बढ्दै गइरहेको छ । पहिले उच्च गुणस्तरका र आकर्षक फर्निचरका ग्राहक धनाढ्य वर्ग मात्र थिए । तर, अहिले आमनेपालीको रोजाइमा आकर्षक र गुणस्तरीय फर्निचर नै पर्न थालेका छन् ।
समयसँगै जीवनशैलीमा आएको परिवर्तनका कारण पनि राम्रा फर्निचर सोख होइन, आवश्यकता बनेका छन् । हिजोका दिनमा भुइँमा सामान्य डसना वा अन्य ओछ्याउने मात्र भए पनि हुन्छ भन्ने थियो, तर आज मानिसहरू फर्निचर बेगरको अवस्था सोच्न पनि सक्दैनन् । अघिल्लो वर्ष फर्निचर तथा फर्निसिङको व्यापार करिब ३५ अर्बबराबरको थियो भने यो वर्ष करिब ४० अर्ब पुग्ने अपेक्षा गरिएको छ । यो क्षेत्रमा करिब १ खर्ब लगानी भएको छ ।

फर्निचर तथा फर्निसिङ व्यवसायी संघ काठमाडौंमा मात्र ७ सयभन्दा बढी सदस्य छन् । एउटा कम्पनीमा सरदर १५ जनाले रोजगारी पाएको छ भन्ने हो भने पनि यो क्षेत्रमा १० हजारभन्दा बढीले रोजगारी पाएको देखिन्छ । काठमाडौंमा मात्र यस्तो तथ्यांक छ भने देशभर कति रोजगारी सिर्जना भएको होला ? अप्रत्यक्ष रोजगारीको त हिसाब भएकै छैन । त्यस्तै हामी साधारण कार्पेटमा आत्मनिर्भर भइसकेका छौँ भने म्याट्रेसमा पनि मोटामोटी आत्मनिर्भर भइसकेको अवस्था छ ।
नेपाल सरकारको नियमअनुसार भ्याटमा दर्ता नभई हामीले कारोबार गर्न सक्दैनौँ । हामीले कसैलाई सदस्यता दिँदा पनि ऊ प्यान वा भ्याटमा दर्ता भएको छ कि छैन राम्ररी हेरेर र बुझेर मात्र दिने गरेका छौँ । हामीले संघमा पहिल्यै सदस्यता लिएकाहरूलाई पनि सरकारको नियमअनुसार भ्याटमा दर्ता हुन भनिरहेका छौँ ।
वार्षिक कारोबार ३५ अर्बबराबरको भइसकेपछि त्यसबाट राजस्वमा राम्रै योगदान रहेको स्पष्टै हुन्छ । हामी उत्पादकले त कर तिरिरहेकै छौँ, डिलरले, खुद्रा विक्रेताले, उपभोक्ताले पनि राजस्व तिरेका छन् । सरकारले यो क्षेत्रको विकासमा थोरै मात्र चासो दिने हो भने केही वर्षभित्रै राजस्वमा यस क्षेत्रको योगदान पनि उल्लेख्य रहनेमा कसैको दुईमत हुन सक्दैन ।
फर्निचर तथा फर्निसिङ क्षेत्रमा सरकारको नीतिगत पक्ष कस्तो छ ?
फर्निचर उद्योगको मुख्य समस्या दक्ष कामदार र कच्चा पदार्थ अभाव हो । हामीले अहिले वार्षिक करिब ६ अर्ब रुपैयाँको काठ आयात गरिरहेका छौँ । नेपालमा उपलब्ध काठको सहज बिक्री–वितरणको व्यवस्था नहुँदा हामी काठ आयात गर्न बाध्य छौँ । कुनै पनि फर्निचर उद्योगले सीधै काठको टेन्डरमा भाग लिन पाउँदैन । टेन्डरवालाले काठ सःमिललाई बेच्छ र हामीले सःमिलबाट खरिद गर्नुपर्छ । जसका कारण हाम्रो लागत उच्च हुन्छ । त्यसैले अहिले हामीलाई आयातीय फर्निचरसँग प्रतिस्पर्धा गर्न नै कठिन भइरहेको छ ।
हामीकहाँ पुरानो घर भत्काउँदा रहेको काठसमेत एक जिल्लाबाट अर्को जिल्ला लैजान पाइँदैन । फर्निचर, काठको भ्mयाल, ढोका लान पाइँदैन । यस्ता कुरालाई सरलीकरण गर्नुपर्छ भन्ने हाम्रो माग हो । पहिले फर्निचर बनाउँदा सम्पूर्ण रूपमा कामदार प्रयोग हुन्थ्यो भने अहिले अत्याधुनिक मेसिन प्रयोग हुन थालेको छ । प्रविधिमा परिवर्तन र विकास भएको छ । विद्युत् आपूर्ति सहज भएको छ । तर, दक्ष कामदार र कच्चा पदार्थको समस्या जस्ताको तस्तै छ ।
दक्ष कामदारको उपलब्धता र समस्या कस्तो छ ?
अहिले सिटिइभिटीलगायत धेरै निकायले तालिम दिन्छन् । तर, प्रमाणपत्र हात पर्नेबित्तिकै वैदेशिक रोजगारीमा जाने समस्या छ । यो परम्पराकै रूपमै विकास भएकाले अन्यत्रैबाट कामदार ल्याउनुपर्ने अवस्था छ । प्रमाणपत्र लिएपछि केही वर्ष नेपालमै काम गर्नुपर्ने नीति ल्याउने हो नेपाली दक्ष कामदार नेपालमै बस्न सक्छन् । अहिले उनीहरूलाई यहाँको वास्तविकता नै थाहा छैन । पहिले नै उनीहरू वैदेशिक रोजगारीको सपनामा डुबिसकेका हुन्छन् । यो क्षेत्रमा रोजगारीको कुनै समस्या छैन ।
काठको विकल्प पनि आएका छन् नि होइन ?
अहिले प्लास्टिक, आल्मुनियमका भ्mयाल, ढोकालगायतका सामान आएका छन्, तर कतिपय सामान काठबाटै बनाउनुपर्छ र त्यो राम्रो तथा आकर्षक पनि देखिन्छ । त्यसैले काठको मागमा खासै असर परेको छैन । अर्को कुरा काठबाहेकका अन्य कच्चा पदार्थ पनि आयातमै निर्भर हुनुपर्ने अवस्था छ । नेपालमै उत्पादन गर्ने हो भने त्यो धेरै महँगो पर्छ । त्यसैले अहिले व्यवसायीले कच्चा पदार्थ उत्पादन गर्ने आँट गर्न सकेका छैनन् ।
नेपाली फर्निचर र फर्निसिङ क्षेत्रलाई अघि बढाउन संघले के गरिरहेको छ ?
हामीले संघबाट सदस्य तथा गैरसदस्य सबैलाई अप्ठेरोमा सहयोग गरिरहेका छौँ । घरबेटी वा कामदारको समस्या समाधानमा पहल गर्दै आएका छौँ । कुनै पनि व्यक्ति फर्निचर तथा फर्निसिङ पसल खोल्न चाहन्छ भने उसलाई आवश्यक कुरा सिकाउने, कुन सामान कहाँ र सस्तो तथा राम्रो पाइन्छ भन्ने जानकारी दिने काम गरिरहेका छौँ । हामी नयाँ पसलमा धेरै सामानभन्दा धेरै प्रकारका सामान राख्न सल्लाह दिन्छौँ । हामी डिस्ट्रिब्युटर चिनाइदिन्छौँ । त्योसँगै सदस्यहरू सरकारी नीति नियममा परिवर्तन भए त्यसको सूचना पनि दिन्छौँ ।
The post दक्ष कामदार र काठ सबैभन्दा ठूला समस्या हुन् appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2xCKCjR
No comments:
Post a Comment