०७२ को विनाशकारी भूकम्पपछि आमाछोदिङ्मो गाउँपालिका–३ गत्लाङस्थित कालोबस्तीको अस्तित्व संकटमा परेको छ । कमिलाको ताँतीझैँ मिलेर बसेका करिब पाँच सय घरसहितको कालोबस्तीलाई १२ वैशाख ०७२ को विनाशकारी भूकम्पले क्षतविक्षत बनाएपछि बस्तीको अस्तित्व नै संकटमा परेको हो ।
सदरमुकाम धुन्चेबाट करिब ३५ किमिको दूरीमा अवस्थित तामाङ सम्पदा मार्गमा पर्ने कालोबस्ती विगतमा पर्यटकको आकर्षणको केन्द्रबिन्दु थियो । भूकम्पले कालोबस्तीका सबै संरचना भत्किएपछि बस्तीको पहिचान नै संकटमा परेको स्थानीयले बताएका छन् ।
स्थानीयस्तरमा पाइने कालो ढुंगाको प्रयोग गरी निर्माण गरिएकाले बस्तीको नाम नै कालोबस्ती थियो । भूकम्पपछिको पुनर्निर्माणसँगै बस्तीको पहिचान नै फेरिएको छ । १२ वैशाखको भूकम्पपछिको पुनर्निर्माणले गाउँ अहिले रंगीचंगी बनेको छ ।
‘भूकम्पअघि बस्तीको छाना सबै कालो ढुंगाका थिए, घरहरू लहरै मिलेका थिए,’ स्थानीय अनिल तामाङले भने, ‘कति मिलेको बस्ती थियो, भूकम्पपछिको पुनर्निर्माणले घरहरू छरिए । छाना पनि रंगीचंगी बने । कालोबस्तीको अस्तित्व नै संकटमा प-यो ।’
पर्यटक आउन छाडे
विगतमा यहाँ ढुंगामाटोका मात्रै घर थिए । तर, अहिले रड, सिमेन्ट र इँटाको प्रयोग गरी पुनर्निर्माणको काम भइरहेको छ । समयमै पुनर्निर्माणको काम नसकिँदा विगतमा पर्यटकले खचाखच हुने कालोबस्ती अहिले सुनसान छ ।
भूकम्प जानुअघि गत्लाङमा होमस्टे, गेस्टहाउसहरू सञ्चालनमा थिए । तर, अहिले यहाँ होमस्टे, होटेल, लज केही छैनन् । परम्परागत शैलीका घर भत्किएपछि गाउँमा पर्यटक आउने क्रम घटेकोे स्थानीय होटेल व्यवसायी विकास लामाले बताए । ‘पहिला गाउँ हेर्नकै लागि दुई दिनका लागि आएका पर्यटक थप दुई दिन बसेर जान्थे,’ लामाले भने, ‘तर अहिले हत्तपत्त पर्यटक आउँदैनन्, आएका पनि
तुरुन्तै फर्किन्छन् ।’
गाउँको मौलिकता नै लोप
मौलिकता जोगाउन नसक्दा गाउँको पहिचान नै मेटिएको स्थानीयले बताएका छन् । स्थानीय स्रोतसाधनको उपयोग गरी मौलिक र बलियो घर बनाउन सकिने पुनर्निर्माण प्राधिकरणको नियमावलीमा उल्लेख छ । तर, स्थानीय रूपमा खटिएका प्राविधिकले त्यसलाई बेवास्ता गरेर पुनर्निर्माणमा रड र सिमेन्टमा मात्रै जोड दिँदा गाउँको मौलिकता गुमेको स्थानीयको गुनासो छ ।
‘पहिला पहिचान नबिग्रने गरी पुनर्निर्माण गर्न सकिन्छ भनिएको थियो । तर, पछि प्राविधिकले रड र सिमेन्ट हालेर पुनर्निर्माण गर्नुपर्छ भनेपछि हाम्रो गाउँको पहिचान नै लोप हुने अवस्था आयो,’ स्थानीय फुर्पु तामाङले भने । करिब पाँच सय घरधुरी रहेको गत्लाङमा यसअघि ढुंगा र काठले बनेका कलात्मक घरहरू थिए । त्यस्ता घर अहिले निकै कम छन् । ढुंगाका गारो र काठले मात्रै छाइएका परम्परागत घर भूकम्पले भत्किएपछि पुनर्निर्माणका क्रममा सिमेन्ट, इँटा, रड र जस्तापाताको प्रयोग गरेर अधिकांश घर निर्माण गरिएको छ । कालोबस्ती अहिले रंगीचंगी बस्तीमा परिवर्तन भएको छ ।
The post पुनर्निर्माणका क्रममा बने रंगीचंगी घर, कालोबस्तीको अस्तित्व संकटमा appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2DJ6Jvl
No comments:
Post a Comment