इन्द्रावती र सुनकोसी नदी प्राकृतिक सौन्दर्यको दृष्टिकोणले जिल्लाकै गहना हुन् । तर, केही वर्षयता दुवै नदीमाथिको बढ्दो दोहनले नदीको प्राकृतिक सौन्दर्यमा ठूलो क्षति पुगेको छ । क्रसर व्यवसायीले दुवै नदीमा जताततै उत्खनन गरिरहेका छन् । नदीबाट दिनहुँ ढुंगा, गिटी र बालुवा झिकिरहँदा नदीको प्राकृतिक सौन्दर्य ह्रास हुँदै गएको हो ।
विगतमा इन्द्रावती नदीको पानी कञ्चन थियो । दायाँबायाँ किनार र वरिपरि चारैतिर हरियाली थियो । नदी किनारमा माझी बस्ती थियो । तर, आजभोलि न नदी किनारमा माझी बस्ती छ, न त कञ्चन पानी र हरियाली नै ।
नदीमा बग्दैन सङ्लो पानी
अचेल चलचित्र र गीतसंगीतको भिडियो छायाँकन गर्न आउने कलाकार नदीको अवस्था देखेर निराश बन्ने गरेका छन् । क्रसर उद्योगले जथाभावी उत्खनन गर्दा नदीको सतह २० मिटरसम्म गहिरिएको छ । नदीमा कहिल्यै सङ्लो पानी बग्दैन ।
‘क्रसरले नदी किनारको रूप बिगारेकाले हामीले बस्ती छाड्यौँ,’ प्युघरका निर्मल माझीले भने, ‘नदीछेउका खेतबारी बगाएपछि बस्तीलाई माथि बारीमा सारेका छौँ । नदी किनारामा बस्ने अवस्था छैन ।’ धमिलो पानीका कारण नदीमा माछासमेत पाइँन छाडेको र चराचुरुंगी पनि पातलिएको उनले बताए । नदी गहिरिएकाले स्थानीय किसानलाई खेतमा सिँचाइ गर्नसमेत नसक्ने अवस्था सिर्जना भएको छ ।
२० वटा क्रसर उद्योग
नदी दोहन गरेर अकुत आम्दानी गर्दै आएका क्रसर व्यवसायीलाई सम्बन्धित निकायले नियन्त्रणको पहल गरेको छैन । सरकारी कर्मचारी र राजनीतिक दलका नेताको समेत व्यवसायीसँग प्रत्यक्ष–अप्रत्यक्ष संलग्नता रहेकाले उनीहरूको मनोमानी बढ्दै गएको हो । सिन्धुपाल्चोकमा २० वटा क्रसर उद्योग छन् । व्यवसायी नरेन्द्र केसीले उद्योगमा करोडौँ लगानी गरेको बताए ।
नदीमा ठूला खाल्डा र पानीको धार नै वेलावेलामा नै परिवर्तन भइरहँदा भोटेकोसीदेखि दोलालघाटसम्म गरिने सुनकोसीको ¥याफ्टिङसमेत धरापमा परेको होटेल व्यवसायी महेन्द्रसिंह थापाले बताए । ‘जथाभावी खुलेका क्रसरका कारण सुनकोसीको मनोरम दृश्य हेर्न आउने पर्यटकसमेत घट्दै गएका छन्,’ उनले भने ।
The post जथाभावी क्रसर सञ्चालन गर्दा नदीको प्राकृतिक सौन्दर्यमा ह्रास appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2xIlhGf
No comments:
Post a Comment