अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ वर्षसम्म प्रहरी र एयरलाइन्सका कर्मचारीकै ‘सेटिङ’मा करिब ३८ क्विन्टल सुन तस्करी भएको छानबिनका क्रममा खुल्यो । प्रहरी र एयरलाइन्सका कर्मचारी पक्राउ परेपछि ‘सेटिङ’ भत्किए पनि तस्करी भने रोकिएको छैन । अहिले झन् नयाँ–नयाँ जुक्ति लगाएर प्रहरी र भन्सार कर्मचारीको आँखा छल्दै सुन तस्करी भइरहेको छ ।
सुन तस्करीका अनौठा शैली
१. जिब्रोमुनि सुनका टुक्रा
१ साउनमा विमानस्थलमा दुई भारतीयले अनौठो व्यवहार देखाए । प्रहरीले कुरा गर्न खोज्दा उनीहरूले बोल्न चाहेनन् । मुखमा केही खाइरहेजस्तो देखिन्थ्यो । तर, उनीहरूले केही खाएका थिएनन्, सुन लुकाएका थिए । संयुक्त अरब इमिरेट्स (युएई)बाट फर्किएका भारतीय नागरिक रहिस अहमद र मोहम्मद अजामले जिब्रोमुनि सुनका टुक्रा लुकाएर तस्करीको प्रयास गरेका थिए । अहमदबाट ११६ ग्राम र अजामसँग १३९ ग्राम सुन बरामद भयो । प्रहरीलाई शंका लागेर सोधपुछ गर्दा मुखमा सुनको दाँतजस्तो देखिएको थियो । थप सोधपुछ गर्दा दुवैले मुखभित्र सुन लुकाएको पत्ता लाग्यो ।
२. सुनको पेटी, सुनकै साँचो
८ साउनमा साढे ३ किलो सुनसहित पक्राउ परेका दुई थाई महिलाले तस्करीको अनौठो शैली अपनाएका थिए । उनीहरूले बेल्टको बकल, घडीको कभर, सिक्का र चाबी नै सुनको बनाएका थिए । तर, झट्ट हेर्दा ती सामान सुनजस्तो देखिँदैनथ्यो, सिल्भरजस्तो देखिन्थ्यो । बैंककबाट आएकी जुथामास र प्रेरायानुमले सुन तस्करीमा यस्तो तरिका अपनाएका हुन् । जुथामासबाट २१ वटा तथा प्रेरायानुमबाट २२ वटा सुनका टुक्रा बरामद भएको थियो । प्रहरीलाई झुक्याउने उनीहरूको नयाँ तरिका थियो ।
३. सुटकेसको पांग्रा नै सुनको
७ साउनमा सुन तस्करीको अर्काे नयाँ शैली प्रहरीले पत्ता लगायो । सुटकेसको पांग्रा नै सुनको बनाएरसमेत तस्करीको प्रयास भएको खुल्यो । भारतीय सुन तस्करहरूले सुटकेसको पांग्रा नै सुनको बनाएर तस्करी गर्ने प्रयास गरेका हुन् । पांग्रा बनाएर तस्करी गर्न खोज्ने ५ व्यक्तिबाट तीन किलोभन्दा धेरै सुन बरामद भएको थियो । भारतीयहरू हरमिन्दर सिंह, अमितपल सिंह, ईश्वर दास, अवतार सिंह र रिजवन अब्बुल अन्सारीसँग ५९ वटा सुनका टुक्रा बरामद भएको थियो । पाँचजनासँग ३ केजी ३६ ग्राम सुन बरामद भएको थियो । उनीहरू सबै बैंककबाट थाई एयरमा नेपाल आएका थिए ।
४. मोजाभित्र २ किलो सुन
मोजाभित्र लुकाएरसमेत सुन तस्करीको प्रयास भएको छ । ८ असोजमा २ किलो सुनसहित चिनियाँ युवती हुकाओ पुलाई प्रहरीले पक्राउ गरेको थियो । एयरचाइनाबाट नेपाल आएकी उनको ह्यान्ड ब्याग चेकिङका क्रममा सुन बरामद भएको थियो । जुत्ता खोल्दा पनि पत्ता नलागोस् भनेर उनले पैतलामुनि १–१ किलो सुनका बिस्कुट लुकाएकी थिइन् ।
५. पेटीभित्र २ केजी सुनको धुलो
धुलो बनाएरसमेत सुन तस्करीको प्रयास भएका छन् । कम्मरमा बाँध्ने पेटीभित्र लुकाएर सुन तस्करी गर्न खोज्ने भारतीय नागरिक मोहम्मद हरिफ १८ चैतमा विमानस्थलमा पक्राउ परेका थिए । भन्सार कर्मचारीले नै चेकिङका क्रममा उनलाई पक्राउ गरेका हुन् ।
६. मलद्वारमा लुकाउने पुरानै शैली
मलद्वारमा लुकाएर सुन तस्करी प्रयास नयाँ होइन । अहिले पनि यस्तो धन्दा चलिरहेको छ । पछिल्लो तीन महिनामा दुईवटा यस्ता समूह विमानस्थलमा पक्राउ परिसकेका छन् । ६ साउनमा प्रहरीले दिल्ली घर भएका ३१ वर्षीय इम्रान र उत्तर प्रदेश घर भएका अरिफ अलीलाई मलद्वारमा लुकाएर सुन तस्करी गरेको आरोपमा पक्राउ गरेको थियो । उनीहरूले २ केजी ६ सय ७० ग्राम सुन तस्करीको प्रयास गरेका थिए । थाई एयरबाट बैंकक हुँदै उनीहरू नेपाल आएका थिए । गोलाकार सुनका टुक्रा उनीहरूले मलद्वारमा लुकाएका थिए ।
त्यस्तै, २३ असारमा दुबईबाट आएका भारतीय नागरिक जजालुधीन भिपिनपादाथ कुन्जु मोहम्मद र अर्सद चोलायी मलद्वारमा लुकाएको एक किलो ८ सय ६४ ग्राम सुनसहित विमानस्थलबाटै पक्राउ परेका थिए ।
भारतीयदेखि थाई नागरिकसम्म सक्रिय
नेपालमा सुन तस्करीमा भारत, चीन, थाइल्यान्ड तथा भुटानका नागरिक पक्राउ परेका छन् । साउन र भदौमा पक्राउ परेका ३९ मध्ये १५ जना भारतीय नागरिक छन् । त्यस्तै, दुई थाई र एक भुटानी नागरिक पक्राउ परेका छन् । यसअघि पटकपटक चिनियाँ नागरिक पक्राउ पर्दै आएका छन् ।
भारतीय नागरिकले नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गर्छन् । दुबई तथा बैंककबाट नेपाल हुँदै सुन लिएर भारत जान खोज्ने क्रममा भारतीयहरू पक्राउ पर्छन् । दुबईमा नेपालमा भन्दा सुन प्रतितोला १० हजार रुपैयाँसम्म सस्तो पर्छ । सोही कारण सानो मात्रामा पनि सुन तस्करी हुने गरेको छ ।
वैदेशिक रोजगारीबाट फर्कने नेपाली कामदारलाई समेत प्रयोग गरी सुन तस्करी हुने गरेको छ । गत बुधबार मात्र ८ जना नेपाली सुनका गहनासहित पक्राउ परेका थिए ।
कर्मचारीहरू नै निगरानीमा
विगतमा सुन तस्करीमा प्रहरी र एयरलाइन्सकै कर्मचारी संंलग्न भएको खुलेपछि अहिले विमानस्थलका कर्मचारीमाथि नै निगरानी बढाइएको छ । विमानस्थलको भित्री क्षेत्रमा प्रवेश गर्दा र निस्कँदा उनीहरूमाथि समेत चेकजाँच हुने गरेको छ । ‘प्रहरीमाथि नै चेकजाँच हुने गरेको छ,’ डिआइजी जिटी भन्छन्, ‘सिसिटिभी मोनिटरिङ पनि बलियो बनाइएको छ ।’
सुन तस्करी गर्न खोज्ने भारतीय लगातार पक्राउ परेपछि उनीहरूले तत्कालका लागि नेपालको विमानस्थल प्रयोग गर्न छाडेको प्रहरीको भनाइ छ । सानो मात्रामा हुने तस्करी रोक्न पनि सूचना संयन्त्र चुस्त बनाइएको महानगरीय प्रहरी विमानस्थल कार्यालयका प्रवक्ता एसपी दिनेशराज मैनाली बताउँछन् ।
The post प्रहरी झुक्याउन सुन तस्करीका अनेक जुक्ति appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2DliFmT

No comments:
Post a Comment