सरकारबाट गरिएको अपेक्षा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, September 16, 2018

सरकारबाट गरिएको अपेक्षा

सरकारबाट गरिएको अपेक्षा


हरिनारायण रौनियार

 

संघीय समाजवादी फोरम नेपाल सम्मिलित वर्तमान सरकार निर्माण भएको ७ महिना पूरा हुँदै छ । यसबेला, सरकारले गरेका काम र सरकारको कार्यशैलीप्रति विभिन्न तह र कोणबाट मूल्यांकन हुन थालेका छन् । फोरम किन सरकारमा गयो, पहिले यसको चर्चा गरौं । फोरम सरकारमा जानुअघि नै ओली सरकारसँग स्पष्ट बहुमत थियो, यति हुँदाहुँदै पनि संघीय फोरम सरकारमा गयो, फोरमलाई सरकारमा जान किन हतार भयो या फोरमलाई सरकारमा ल्याउन प्रधानमन्त्रीलाई त्यस्तो के बाध्यता थियो ? यस्ता प्रश्न फोरम सरकारमा गएदेखि नै उठ्ने गरेका छन् ।
स्पष्ट छ, फोरम सरकारमा गएपछि यो सरकारसँग दुईतिहाइ पुगेको छ । अर्थात दुईतिहाइको बलियो सरकार बनेको छ । सरकारले चाहने हो भने संविधान संशोधन हुन सक्छ । अब संविधान संशोधनका लागि प्रतिपक्षीय दलको सहमति लिनैपर्ने बाध्यता सरकारसँग छैन । दुईतिहाइको अनुकूल सरकार बनेको छ, अहिले ।

एउटा राजनीतिक दल सधैं प्रतिपक्षीमै बस्नुपर्छ भन्ने होइन । कुनै पनि राजनीतिक दलको महŒवाकांक्षा सरकारमा गई आफ्ना एजेण्डा कार्यन्वयन गर्नु नै हो । फोरमको राजनीतिक एजेण्डा, जुन चुनावको बेलामा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । फोरमको पहिलो एजेण्डा संविधान संशोधन हो । पार्टी सरकारमा जानुअघि नै प्रधानमन्त्रीले संविधान संशोधन गर्ने प्रतिबद्धता लिखित रूपमै प्रकट गरेका छन् । सरकारसँग लिखित सहमति गरेर फोरम सरकारमा गएको हो । लिखित सहमति नगरी सरकारमा नजाने फोरमको अडान थियो । यही अडानका कारण फोरम चार महिनासम्म सरकारमा गएन ।

जब लिखित सहमति भयो, फोरम सरकारमा गयो । त्यसो त सरकारमा जान राष्ट्रिय जनता पार्टी नेपालका नेताहरू पनि चाहन्छन् । संसदको रोष्टममै राजपाका नेता राजेन्द्र महतोले ‘प्रधानमन्त्रीले मौखिक रूपमा संविधान संशोधन गर्ने प्रतिबद्धता जनाए हामी सरकारमा जान्छौं’ भनेका हुन् । यस अर्थमा हामी राजपाभन्दा एक कदम अगाडि छौं । हामीले मौखिक होइन, लिखित प्रतिवद्धता मागेको हो, जुन प्रधानमन्त्रीले पूरा गरे । त्यसो त केपी ओली प्रधानमन्त्रीमा नियुक्त भइसकेपछि र नियुक्त हुनुअघि ओलीले फोरमसँग पटकपटक वार्ता गरेका हुन् । फोरमलाई सरकारमा आउन प्रधानमन्त्रीले पहिले नै आह्वान गरेका हुन्, तर फोरमले आफ्नो अडानमा प्रष्ट रहिरह्यो । फोरम सरकारमा जान केही महिना ढिलो हुनु यो प्रमुख कारण हो ।
अहिले पनि राजपाका नेताहरू सरकारमा जान हतारमा देखिएका छन् । ‘संविधान संशोधन हुने विश्वसनीय वातावरण बनेमा सरकारमा जान तयार छौं’ भनी राजपाका नेताहरूले बेला बेलामा भन्दै आएका छन् । वर्तमान प्रधानमन्त्री ओली यति बलियो छन्, उनले नचाहने हो भने संविधान संशोधन हुन सक्दैन । ओलीको यसअघिको अभिव्यक्ति र अहिलेको अभिव्यक्तिको तुलना गर्दा धेरै ठूलो परिर्वतन आएको देखिन्छ । ओलीको अभिव्यक्ति र उनको व्यवहार हेर्दा अहिले ओली सच्चिएको देखिन्छन् । मधेसलाई हेर्ने उनको दृष्टि सच्चिएको छ । सच्चिएको ओलीको दृष्टिलाई समर्थन गर्न फोरम सरकारमा गएको हो । ओलीसँगै सिंगो नेपाल कम्युनिस्ट पार्टी सच्चिएको छ । नेकपा नेताहरू पनि सच्चिएका छन् ।

संविधान संशोधनलाई अहिले प्रधानमन्त्री ओलीले जायज भनेका छन् र उनले संशोधन गर्ने प्रतिबद्धता जनाएका थिए । विगतमा ओलीको अभिव्यक्तिबाट मधेसका जनता तर्सिएकै हुन् । ओलीको बोलीसँग मधेसका जनता आक्रोशित थिए । संविधान संशोधन कुरा ओलीले सुन्न पनि चाहन्नथे । तर अहिले संविधान संशोधनमा प्रतिबद्धता जनाउनु भनेको ‘विगतमा म गलत रहेछु’ भनी महसुस गर्नु हो । त्यो महसुस ओलीले गरेका हुन् । विगतमा संविधान संशोधनमा नकारात्मक धारणा राख्दै भीम रावल, सुवास नेम्वाङलगायतका तत्कालीन एमालेका नेताहरू पनि अहिले संविधान संशोधनलाई जायज ठान्न थालेका छन् । एक किसिमबाट भन्ने हो यसमा फोरमका नैतिक विजयी हो । किनभने संविधान संशोधन गर्ने फोरमको एजेण्डामा नेकपाले औपचारिक रूपमा नै प्रतिबद्धता जनाएको छ । प्रतिबद्धता जनाएअनुसार संविधान संशोधनको प्रक्रियामा सरकारअघि बढोस्, हाम्रो शुभकामना छ । संशोधनमा अब किन ढिलो गर्ने ? राजनीतिक मुद्दा किनारा लागिसकेपछि समृद्धिको मुद्दामा अघि बढ्न प्रेरित गर्छ ।

मधेसको मुद्दामा ओलीको सोचमा परिर्वतन आएपछि फोरमले ओलीसँग सहकार्यको हातअघि बढाएको हो । यो स्वाभाविक पनि हो । किनभने संविधान संशोधन गर्न अंक गणतीय रूपमा नेपाली कांग्रेसको भन्दा नेकपाको भूमिका धेरै नै महŒवपूर्ण हुन्छ । मुद्दाको आधारमा राजनीतिक दलहरूको एक आपसको सम्बन्ध कहिले नजिक हुन्छ, कहिले टाढा हुन्छ । हिजो संविधान संशोधनमा तत्कालीन एमाले नकारात्मक थियो, त्यतिखेर एमालेसँग हाम्रो सम्बन्ध टाढिएको थियो, अहिले संविधान संशोधनमा एमालेले प्रतिबद्धता जनाएको छ र हामी सरकारमा सहकार्य गरेका छौं । राजनीतिक दलहरूको आपसी सम्बन्ध सधंै एउटै किसिमको हुन्छ भन्ने हुँदैन । यो सोच्नु मुर्खता मात्र हो । जो कसैलाई पनि नजिक र टाढा मुद्दाले बनाउँछ । त्यसैले अहिले हामी संविधान संशोधन, मुलुकको समृृद्धि र मधेसका एजेण्डामा नेपाल कम्युनिस्ट पार्टीसँग सहयात्रा गरेका छौं । यो प्रतिबद्धतामा कार्यान्वयनको बाटोसम्म हाम्रो सहायत्रा जारी रहन्छ । यसमा वर्तमान सरकारलाई पार्टीको पूर्ण साथ रहन्छ ।

ओलीको अभिव्यक्ति र उनको व्यवहार हेर्दा अहिले ओली सच्चिएको देखिन्छन् । मधेसलाई हेर्ने उनको दृष्टि सच्चिएको छ । सच्चिएको ओलीको दृष्टिलाई समर्थन गर्न फोरम सरकारमा गएको हो । ओलीसँगै सिंगो नेपाल कम्युनिस्ट पार्टी सच्चिएको छ । नेकपा नेताहरू पनि सच्चिएका छन्

यो स्वाभाविक पनि हो, अहिलेका शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीबाट मुलुकले धेरै कुरामा अपेक्षा गरेको छ । शक्तिशाली यस अर्थमा कि, यो सरकारलाई दुईतिहाइको समर्थन छ, र विगतमा मधेसका आन्दोलनको अगुवाइ गरेको पार्टी संघीय समाजवादी फोरम नेपाल यो सरकारमा सहभागी छ । फोरम सरकारमा सहभागी हुनु भनेको मधेस आन्दोलको एउटा महŒवपूर्ण भाग सरकारमा आउनु हो । यो सरकारको ठूलो उपलब्धी पनि हो ।
त्यसैले अहिले प्रधानमन्त्रीलाई काम गर्न देशभित्र, देश बाहिर सबैतिर परिस्थिति अनुकूल छ । हिम्मत गरेर काम गर्न खोज्दा कहीँबाट बाधा आउने स्थिति देखिँदैन । त्यसो त, राष्ट्रिय जनता पार्टी नेपालले पनि यो सरकारलाई भोट दिएको छ । यस अर्थमा यो सरकारलाई राजपाको पनि समर्थन छ । यति मात्र होइन, प्रतिपक्षी दल नेपाली कांग्रेस अहिले कमजोर बनेको छ । कांग्रेस अहिले आन्तरिक विवादमा रुमल्लिएको छ । तत्काल कांग्रेस सरकारको विरोधमा आउने छाँटकाँट छैन । राजपा पनि तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिने मुडमा छैन । कथंकदाचित समर्थन फिर्ता लियो भने पनि सरकारको विरोधमा राजपा तत्काल आन्दोलनमा उत्रने अवस्थमा छैन । राजपा पनि आन्तरिक खिँचातानी र विवादमै मुछिएको छ । त्यस पार्टीका नेताहरू सरकारको विरोधमा भन्दा पनि आगामी महाधिबेशनमा केन्द्रित हुन थालेका छन् । त्यसैले यो समय सरकाराका लागि अवसर हो । त्यो अवसर भनेको काम गर्नका लागि हो । प्रधानमन्त्रीले ओलीले प्रधानमन्त्री हुनुअघि र प्रधानमन्त्री भइसकेपछि पनि जनतालाई ठूलो सपना देखाएका छन् । सपनाहरू पूरा गरी ऐतिहासिक नेता हुने या ‘हावादारी’ नेताको रूपमा आफनो पहिचान कायम गर्ने यो अब अवसर समयले उनलाई दिएको छ । उनले देखाएका सपनाहरू पूरा होऊन्, पार्टीको शुभकामना छ ।
यो अवसरलाई सदुपयोग गर्दै काम गर्न खोज्ने हो भने मुलुकमा साँच्चै नै कायलपल्टै आउँछ । ओली पार्टीभित्रको आन्तरिक समीकरणमा पनि उत्तिकै बलियो छन् । दुई छिमेकी देश भारत र चीन पनि उनको लागि अनुकूल छन । विगतमा जस्तो नाकाबन्दी हुने स्थिति अहिले छैन । भारतसँगको सम्बन्धलाई उनले सुधार गरेका छन् । यसैगरी चीनसँगको सम्बन्धलाई पनि सुदृढ बनाएका छन् ।

ओलीको सहयोगीहरूले पनि प्रधानमन्त्रीलाई अप्ठयारो बनाउने अवस्था तत्कल छैन । त्यसैले ओली यस अर्थमा भाग्यमानी प्रधानमन्त्री हुन् । फोरमको उपस्थितिले उनको ‘पावर’ झन बढेको छ । तर हाम्रो उपस्थिति ओलीलाई ‘पावरफूल’ बनाउनभन्दा पनि हाम्रो एजेण्डा कार्यान्वयन गर्न, संविधान संशोधन गर्न, देशलाई समृद्ध बनाउन र मधेसलाई विकासको बाटोमा अघि लैजानु हो । यो पनि स्वाभाविक हो कि, ओली प्रधानमन्त्री भएसँगसँगै मुलुकले स्थिर सरकार पाएको छ । मुलुकमा गणतन्त्र आएको छ । संघीयता कार्यन्वयनमा गएको छ । अहिलेसम्म स्थिर सरकार नभएकै कारणले देश अघि बढ्न सकेन भन्ने गुनासो आउने गरेको थियो । अब यस्तो भन्ने ठाउँ रहेन । त्यसैले यो समय यो सरकारका लागि अवसर मात्र होइन, चुनौती पनि हो । कुनै पनि बहाना ल्याएर मुलुकलाई समृद्धिको बाटोमा अघि नबढाउन यो सरकारलाई अब छुट छैन । त्यसलै कामना गरौं, यो जनताको भावना बुझेर काम गरोस् । सरकारप्रति जनताको विश्वास बढ्दै जाओस् ।

_(रौनियार संघीय समाजवादी फोरम नेपालका सांसद हुन्)



from Rajdhani Daily https://ift.tt/2MA5RbB

No comments:

Post a Comment

Post Bottom Ad

Pages