राजधानी समाचारदाता/काठमाडौं।
रोटरी इन्टरनेसनल र नर्भिक अस्पतालबीच एक सम्झौता भएको छ । रोटरी इन्टरनेसनल डिस्ट्रिक्स ३२९२ का डिस्ट्रिक्स गर्भनर चिन्ता मणि भट्टराई र नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले मंगलबार एक समारोहबीच सहमतिपत्रमा हस्ताक्षर गरे । सहमतिअनुसार नर्भिकले रोटरी इन्टरनेसनलका सम्पूर्ण रोटरियनहरू तथा तिनका परिवारलाई एक विशेष प्राथमिकतासहितको निदानात्मक, निरोधात्मक, रोकथाममूलक र उपचारात्मक चिकित्सा सेवा प्रदान गर्नेछ ।
ललितपुरमा आयोजित रोटरियनहरूको इन्टरसिटी बैठकमै उक्त सहमतिमा हस्ताक्षर भएको हो । इन्टरसिटी बैठक तथा सहमतिपत्र हस्ताक्षर समारोहलाई रोटरी क्लब चन्द्रागिरी, रोटरी क्लब कुपण्डोल र रोटरी क्लब अफ स्वयम्भूले आयोजना गरेका थिए । उक्त बैठकमा रोटरी क्लबका पूर्वडिस्ट्रिक्स गभर्नरहरू, प्रेसिडेन्टहरू, विशिष्ट पदाधिकारीहरू र नर्भिकको मेडिकल अन्कोलोजी विभागका चिकित्सकहरू सहभागी थिए ।
सो अवसरमा रोटरी क्लब दरबारमार्गका चार्टर्ड प्रेसिडेन्ट तथा नर्भिक मेडिकल अन्कोलोजी विभागका प्रमुख प्रा.डा. राजेन्द्रप्रसाद बरालले सो समारोहमा अर्वुद रोग (क्यान्सर) र तिनका जटिलताहरू, रोकथामका उपायहरूबारे आफ्नो गहन मन्तव्य दिएका थिए । नर्भिककी प्रसूति तथा स्त्रीरोग विभागीय प्रमुख प्रा.डा. अचला वैद्यले नेपालमा महिलाहरूमा हुने स्तन क्यान्सर, पाठेघरको क्यान्सर र योनिको मुखको क्यान्सर र तिनलाई समयमै निदान गराउँदाका फाइदाहरू आदिबारे बृहत् प्रस्तुति दिएकी थिइन् । रोटरीयन डा. निरज श्रेष्ठले रजोनिवृत्त महिलाहरूमा देखा पर्ने अस्थिपञ्जरको समस्याबारे व्याख्या गरेका थिए ।
from Rajdhani Daily https://ift.tt/2Rl3gpE

No comments:
Post a Comment