महामन्त्री थपिएपछि नेवि संघमा भाँडभैलो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, October 3, 2018

महामन्त्री थपिएपछि नेवि संघमा भाँडभैलो

१७ असोज, काठमाडौं । महाधिवेशनको तयारीमा जुटेको नेपाल विद्यार्थी संघमा महामन्त्रीसहित १५ केन्द्रीय सदस्य थपिएपछि नयाँ विवाद सुरु भएको छ । यसले महाधिवेशन नहुने खतरा बढेको भन्दै नेताहरुले चिन्ता व्यक्त गरेका छन् ।

सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको निर्देशक समितिमा ३२ वर्षे उमेर हदबारे बहस भइरहेको थियो । पार्टी नेतृत्व विधानमा भएको यो व्यवस्था कार्यान्वयन गर्ने पक्षमा छ भने नेविसंघको नेतृत्वमा आउन चाहनेहरु विपक्षमा छन् ।

यही बेला विजयकुमार गच्छदार समूहका नाममा एक महामन्त्रीसहित १५ केन्द्रीय सदस्य थपिएका छन् । कमलेश्वर यादव महामन्त्री मनोनित भएका छन् ।

नेविसंघ अध्यक्ष नैनसिंह महरले भने, ‘कांग्रेससँग पार्टी एकीकरण गरेको फोरम लोकतान्त्रिकलाई पनि समायोजन गर्नुहोला भनेर पार्टीले पत्र पठाएको छ, त्यहीअनुसार मनोनित गरिएको छ ।’

उनले भने, ‘यसैको बहानामा महाधिवेशन बिथोल्ने चलखेल हुनु हुँदैन । कुनै पनि हालतमा तोकिएकै मितिमा महाधिवेशन हुनुपर्छ । म महाधिवेशन गराउन क्रियाशील छु ।’

रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहका नेताहरु भने निर्देशक समितिमा समेत छलफल नै नगरी महामन्त्री र केन्द्रीय सदस्य थपिएको भन्दै रुष्ट बनेका छन् । संयोजक महत र सदस्य नविन्द्रराज जोशीबीच फोनमै बाझाबाझ समेत भएको स्रोतले बतायो ।

अहिले पछिल्लो पटक देखिएको विवादले महाधिवेशन सुनिश्चित हुने दिशामा नजाने देखिएको महामन्त्री कुन्दन काफ्ले बताउँछन् । उनले निर्देशक समिति नै महाधिवेशनको पक्षमा नरहेको आरोपसमेत लगाए ।

‘अन्धाधुन्द मनोनित गरिएको छ । नियम, कानुन, पद्दतीद्वारा गरिँदैन । नेविसंघलाई सीमित कोटरीमा राखेर चलाउने कोशिस भइरहेकाले त्यसविरुद्ध आफूहरुले आन्दोलन जारी राखेको काफ्लेले बताए ।

हेर्नुहोस् मनोनित भएकाहरुको नामावली

निर्देशक समिति नै महाधिवेशनको पक्षमा देखिँदैनः महामन्त्री काफ्ले

पौडेल समूहले भेला नै गरेर पार्टी नेतृत्वको यो कदम अस्वीकार गर्ने निर्णय गरेको छ । ‘नेविसंघमा यो प्रारम्भ मात्र हो । यसरी नै भोलि अरु संगठन र पार्टीमा पनि गच्छदार समूहका नाममा आफ्ना अनुकुलमा मानिसहरुलाई ल्याउने खेल भइरहेको छ,’ एक नेताले भने, ‘यो हामीलाई कुनै हालतमा स्वीकार्य छैन ।’

नेविसंघको वर्तमान नेतृत्वको दुई वर्षे कार्यकाल गत भदौ दुई गते नै पूरा भइसकेको छ । महाधिवेशन गर्न नसकेपछि कांग्रेसले बनाएको निर्देशक समितिले महाधिवेशन गर्ने कार्ययोजनासहित तीन महिना म्याद थप गर्ने निर्णय गरेको थियो ।

यसका बाबजुद विधानमा रहेको ३२ वर्षे उमेर हद कार्यान्वयन गर्ने–नगर्ने बहस भइरहेको छ । यही बेला महामन्त्री र केन्द्रीय सदस्य थप भएपछि महाधिवेशन नै नहुने सम्भावना बढेर गएको नेविसंघ महामन्त्री काफ्लेले बताए । ‘यसरी महाधिवेशन सुनिश्चित हुने दिशामा जाँदैन,’ काफ्लेले भने, ‘पार्टीको निर्देशक समिति स्वयम् पनि महाधिवेशनको पक्षमा जस्तो देखिँदैन ।’



from Online Khabar https://ift.tt/2xWihGt

No comments:

Post a Comment

Post Bottom Ad

Pages