ईश्वर तामाङ/उदयपुर
एक वर्ष अघि नै निर्माण सम्पन्न हुनु पर्ने निर्माणाधिन पक्की पुल निर्माण कम्पनीको लापरबाहीका कारण अलपत्र परेको छ ।
जिल्लाको बेलका नगरपालिका–३ स्थित गिदेरी खोलाको पक्की पुल निर्माण कम्पनीको लापरबाहीपछि अलपत्र परेको हो । निर्माण सम्पन्न हुने पहिलो समय सिमा सकिएपछि पुनः म्याद थप भई चार वर्ष बितिसक्दा हालसम्म २० प्रतिशत मात्र काम भएका छन् । सो पुल निर्माणको जिम्मा पप्पु निर्माण सेवाले लिएको छ ।
अर्को एक कम्पनीसँग ज्वाइन्ट भेन्जर (जेभी) मा कामको जिम्मा लिएको पप्पुले बेलका नगरपालिका– ३, ठोक्शीलास्थित गिदेरी खोलाको पुल निर्माणको काम पनि ४ वर्षदेखि अलपत्र छाडेका छन् । बेलका नगरपालिका–३ को सातपत्रे र रातापानी बीचको गिदेरी खोलामा २१८ मिटर लामो पक्की पुलको निर्माण को जिम्मा पप्पु र मृतसञ्जिवनी जेभी बानेश्वरले जिम्मा लिएका हुन् ।
सातवटा आरसिसी बेल फाउण्डेशन र ६ स्पामको सो पुल ४ वर्ष बित्न लाग्दा पनि २० प्रतिशत भन्दा बढी काम हुन सकेको छैन । पुल बनाउने गरी निर्माण कम्पनीले २०७१ मा डिभिजन सडक कार्यालय लाहानसँग सम्झौता गरेका थिए । तर, ३ वर्षभित्र अर्थात ३० असार ०७४ भित्र सम्पन्न गर्नेगरी १३ करोड ३९ लाख ६७ हजार ४७९ रुपैयाँमा निर्माणको जिम्मा लिएको पुलको काम तोकिएको म्यादभित्र ५ प्रतिशत र म्याद थप गरेपछि १५ प्रतिशत गरी २० प्रतिशत मात्र काम भएको स्थानीयको गुनासो छ ।
तोकिएको म्याद सकिएपछि १ वर्षको म्याद थप भएको हो । ४ वर्ष बित्दा पनि पुल बन्ने अत्तोपत्तो नहुँदा बेलकाका स्थानीयका साथै सो मार्ग भएर हिड्ने सप्तरी–उदयपुर खण्डमा पर्ने गिदेरी खोलाले वर्षेनी जनता पीडित हुँदै आएका छन् । बेलका नगरपालिकाको केन्द्र रामपुर आउजाउ गर्न नगरपालिकाका २, ३ र ४ का वडवासीले हरेक वर्षायाममा कष्ट भोग्दै आएको स्थानीयले जानकारी दिए ।
पुल नबन्दा भागलपुर, तपेश्वरी, बानडाँडा, जगन्ना, भासी, रातापानी, पुरन्दह, बेल्हा, करैया, गलफडिया लगायत झण्डै दर्जन हाराहारी गाउँका वासिन्दा वर्षायाममा नगरपालिका केन्द्र आउजाउँ गर्न समस्यामा हुने गरेको छ ।
ठेक्का सम्झौतापछि लगत्तै पेश्की रकम लिई निर्माण कम्पनी बेपत्ता भएकाले काम ढिला भएको हो । ०७४ चैतसम्म ५ प्रतिशत मात्र काम गरेको कम्पनीले ०७५ लागेपछि धमाधम काम गरेजस्तो गर्दा पनि बल्ल २० प्रतिशत पुगेको र साउन लागेपछि राजनीतिक दबाबमा एक वर्षको म्याद थप्न सफल भएको स्थानीय नारद निरौलाले बताए । तर, हतारमा काम गरे जस्तो गरेर कम्पनीले पुलमा गुणस्तरहीन सामान प्रयोग गर्न खोजेपछि स्थानीयले निर्माणाधीन बेल फाउण्डेशनका पिलर भत्काइदिने धम्की दिएका थिए, उनले भने ।
स्थानीयको अवरोधपछि काम रोक्ने बहाना पाएको कम्पनीले अहिलेसम्म थप काम नगरेको प्राविधिक रेखदेखको जिम्मा पाएको डिभिजन सडक कार्यालय लाहानका इन्जिनियर सोभितलाल ठाकुरले बताए । ठाकुरका अनुसार कम्पनीले हालसम्म २ करोड १५ लाखभन्दा बढी भुक्तानी भने लिइसकेको छ ।
पुल नबन्दा वडाबासीहरू नगरपालिका कार्यालय पुग्न नदाहा–कन्चनपुर खण्डको शनिबारे–सुपाडे–लालबजार–गुरुङचौरी हुँदै ४० किलोमिटर पार गरेर नगरपालिका पुग्न बाध्य रहेको वडा सदस्य कुमार अधिकारीले बताए । पुल बन्यो भने हामीलाई १५ किलोमिटर दूरीको नगरपालिका पुग्न पैदल १ घण्टा, मोटरसाइकलमा १५ मिनेट लाग्छ’ उनले भने ‘तर, ‘पुल नबन्दा ४० किलोमिटर दूरी घुमाउरो सडक पार गर्नुपर्छ ।’
त्यसैगरी पप्पुले सप्तरीको रूपनी–राजविराज–कुनौली सडक खण्डमा पर्ने महुली घाडन खोलाको पुलको निर्माण गर्ने जिम्मा लिएर पुल अलपत्र छाडेको स्थानीयको आरोप रहेको छ । सडक कार्यालय लाहानले दिएको जानकारी अनुसार सो पुल पनि उसले मृतसञ्जीवनीसँगै मिलेर २०७३ असारसम्ममा सक्ने गरी २०७१ मा ठेक्का सम्झौता गरेकोमा हालसम्म काम नगरेको इन्जिनियर ठाकुरले जानकारी दिए । राजनीतिक दबाबबाटै ६ महिना म्याद थपेर पुलको काम गरिरहेको ठाकुरले बताए ।
सो पुल निर्माणका लागि ५ करोड ४३ लाख लागतमा २०७३ पुसमा निर्माण सक्नेगरी जिम्मा लिएको ९५ मिटर लामो सो पुलको काम पनि २० प्रतिशतभन्दा बढी हुन नसकेको स्थानीयबासी बताउँछन । ठेक्का सम्झौता भएलगत्तै ठेकेदारले १ करोड ४६ लाख रुपैयाँ भुक्तानी भने लिइसकेको साइट इन्चार्जसमेत रहेका इन्जिनियर ठाकुरले जानकारी दिए ।
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2Nhtead

No comments:
Post a Comment