गत साता नेप्से परिसूचक २० दशमलव १३ अंक घटेको छ । पाँच कारोबार दिनका लागि खुलेको बजारमा ४ दिन नेप्से ओरालो लागेको थियो भने १ दिनमा उकालो लागेको थियो । गत साताको बजारलाई वित्तीय क्षेत्रमा देखिएको तरलता अभावले प्रत्यक्ष प्रभाव पारेको छ । दसैँंलगत्तै देखिएको यस समस्याका कारण दैनिक कारोबार रकममा कमी आएको थियो । लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा देखिएका थिए ।
लगानीकर्ताहरू लामो समयदेखि वाणिज्य बैंकहरूको लाभांश घोषणाको पर्खाइमा रहेका छन् । नयाँ आवको पहिलो त्रैमास सकिसक्दा पनि वाणिज्य बैंकहरूले लाभांश घोषणा गरेका थिएनन् । गत बिहीबार सानिमा बैंकले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । यसका साथै गत शुक्रबार एभरेष्ट बैंकले २० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । वाणिज्य बैंकहरूको लाभांश घोषणाले बजारलाई सकारात्मक दिशातर्फ अघि बढाउन टेवा पुग्ने लगानीकर्ताहरूको अपेक्षा रहेको छ ।
सूचीकृत कम्पनीहरूले चालू आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । कम्पनीहरूले गत आवको तुलनामा नाफामा वृद्धि गरेका छन् । यसले लगानीकर्ताहरूको मनोबल केही बढाएको छ । कात्तिक १५ गतेदेखि नेप्सेमा पूर्ण अनलाइन प्रणाली लागू गर्ने भनिए पनि सोको कार्यान्वयन हुन सकेन ।
यसले लगानीकर्ताहरूलाई केही निराश बनाएको छ । तर, नेप्सेले तिहारअगाडि नै अनलाइन प्रणाली ल्याउने बताएको छ । गत साताको अन्तिम कारोबार दिन नेप्सेको १४ दिने आरएसआई ४४ दशमलव १२ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ ।
गतसाता १ सय ८३ कम्पनीको २१ हजार १ सय ११ पटकको कारोबारमा १ अर्ब २१ करोड १८ लाख १० हजार रुपैयाँबराबरको ४५ लाख ७७ हजार २ सय ३६ कित्ता सेयर खरिद–बिक्री भएको छ । गत साता १ सय ७७ कम्पनीको १७ हजार १ सय ७१ पटकको कारोबारमा १ अर्ब १ करोड ९२ लाख ८० हजार रुपैयाँबराबरको ४१ लाख १३ हजार ५ सय २० कित्ता सेयर खरिद–बिक्री भएको थियो ।
अघिल्लो साताको अन्तिम कारोबार दिन १ हजार २ सय ४१ दशमलव ११ बिन्दुमा बन्द भएको बजार गत साताको बिहीबार १ हजार २ सय २० दशमलव ९८ बिन्दुमा बन्द भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन २ सय ६४ दशमलव शून्य १ विन्दुमा बन्द भएको सेन्सेटिभ इन्डेक्स गत साता ४ दशमलव ३४ अंक घटेर २ सय ५९ दशलमव ६७ बिन्दुमा पुगेर बन्द भएको छ ।
गत साता कारोबारमा आएको उत्पादनमूलक समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक घटेको छ । गत साता उत्पादनमूलक समूहको परिसूचक १५ दशमलव २३ अंक बढेको छ । निर्जीवन बिमा समूहको परिसूचक गतसाता सर्वाधिक ९४ दशमलव ५३ अंक घटेको छ । त्यसैगरी, होटेल समूहको परिसूचक ५१ दशमलव ९४ अंक, जलविद्युत् समूहको ४२ दशमलव २२ अंक, लघुवित्त समूहको ३० दशमलव ६८ अंक, वाणिज्य बैंक समूहको २१ दशमलव ९९ अंक, जीवन बिमा समूहको १६ दशमलव ८२ अंक, विकास बैंक समूहको १४ दशमलव १६ अंक, वित्त समूहको ११ दशमलव शून्य १ अंक र अन्य समूहको शून्य दशमलव ९३ अंक घटेको छ ।
गतसाता कारोबार रकम र सेयर संख्याका आधारमा प्रभु बैंक लिमिटेड अगाडि रहेको छ । गत साता सो वाणिज्य बैंकको ६ सय ७८ पटकको कारोबारमा ७ करोड २४ लाख रुपैयाँबराबरको २ लाख ९५ हजार कित्ता सेयर किनबेच भएको छ । कारोबार संख्याका आधारमा भने सो साता कालिका पावर कम्पनी लिमिटेड अगाडि रहेको छ । सो कम्पनीको गत साता १ हजार ४ सय ८४ पटक सेयर कारोबार भएको छ ।
ङादीको नगद लाभांश वितरण
ङादी ग्रुप पावर लिमिटेडले १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कपनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरूको बैंक खातामा सो नगद लाभांश जम्मा गरिएको हो । हालसम्म भौतिक सेयर धारण गरेका सेयरधनीहरूलाई कम्पनीले शीघ्र सेयर अभौतिक गराई हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन अनुरोध गरेको छ । कम्पनीको सेयर रजिस्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
एभरेष्टको नगद लाभांश
एभरेष्ट बैंक लिमिटेडले २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कात्तिक १५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवको सञ्चित मुनाफाबाट सो नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात् सो नगद लाभांश वितरण गरिनेछ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब २ करोड ६८ लाख ६३ हजार ६ सय ६९ रुपैयाँ रहेको छ ।
गुहेश्वरीको नाफा १ करोड १५ लाख
चालू आवको पहिलो त्रैमासमा गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले १ करोड १५ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १ करोड १२ लाख ९६ हजार खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि कम्पनीको नाफा बढ्न पुगेको हो ।
सो अवधिमा कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ भने जगेडा कोष १२ करोड ९५ लाख ४१ हजार रुपैयाँ रहेको छ । सो अवधिमा कम्पनीले ३ अर्ब १५ करोड ८७ लाख निक्षेप संकलन गरी २ अर्ब ७२ करोड ६१ लाख कर्जा प्रवाह गर्न सफल भएको छ । त्यसैगरी, कम्पनीले सो अवधिमा ३ करोड ४१ लाख ३० हजार खुद ब्याज आम्दानी गरेको छ भने १ करोड ७९ लाख २२ हजार सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । कम्पनीको निष्क्रिय कर्जा घटेर शून्य दशमलव २५ प्रतिशतमा सीमित भएको छ ।
सो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ५ दशमलव ७७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५ सय ४२ दशमलव ४८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १ सय १६ दशमलव १९ रुपैयाँ रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात २२ दशमलव १८ गुणा रहेको छ भने तरलता अनुपात २९ दशमलव ३१ प्रतिशत रहेको छ ।
The post सातामा २० अंक घट्यो नेप्से appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2qsyNcR
No comments:
Post a Comment