ल्याब टेक्निसियनको भरमा सिरहाको प्राथमिक स्वास्थ्य केन्द्र - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, November 4, 2018

ल्याब टेक्निसियनको भरमा सिरहाको प्राथमिक स्वास्थ्य केन्द्र

दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा सिरहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र ल्याब टेक्निसियनको भरमा संचालन भइरहेको छ ।

स्थायी दरबन्दीका चिकित्सक चार वर्षअघि नै सरुवा भएर गएपछि कोही पनि चिकित्सक नआएकाले निमित्त प्रमुखको रुपमा काम गरिरहेको ल्याब टेक्निसियन उमेशकुमार यादवले बताए । ‘स्थानीय दरबन्दीका चिकित्सक नै आउँदैनन्, प्राथमिक स्वास्थ्य केन्द्र भएपनि गुणस्तरीय सेवा दिन सकेका छैनौं, जसोतसो स्वास्थ्य केन्द्र स्तरको सेवा प्रवाह गरेका छौं’ निमित्त प्रमुख यादवले भने ।

१३ दरबन्दीमा आठ कार्यरत
जिल्ला सदरमुकाम सिरहाबाट करिब १० किलोमिटर पूर्व र सिरहाको पूर्व पश्चिम सडकमा पर्ने कसहादेखि २० किलोमिटर दक्षिण भारतसँग जोडिएको औहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रका लागि स्थायी चिकित्सकसहित १३ जनाको दरबन्दी रहेको छ । तर दरबन्दी अनुसार कर्मचारी नभएर आठ जना मात्र कार्यरत रहेको निमित्त प्रमुख यादवले बताए । स्वास्थ्य केन्द्रमा स्थायी चिकित्सकको दरबन्दी भएपनि २०७१ माघदेखि कोही चिकित्सक नभएको स्थानीय समाजसेवी प्रमोदकुमार यादव बताउँछन् ।

केन्द्रका निमित्त प्रमुख यादवका अनुसार केन्द्रमा अहिले एक जना अहेब, तीन जना अनमी, एक जना ल्याब टेक्निसियन र तीन जना कार्यालय सहयोगीको भरमा चलिरहेको छ । स्थायी चिकित्सकको दरबन्दी खाली रहेको र एक जना दरबन्दी रहेको स्वास्थ्य सहायक बरियारपट्टि गाउँपालिकाको स्वास्थ्य शाखामा गएपछि कोही आएका छैनन् ।

केन्द्रको २४ घण्टे प्रसुती सेवामा स्टाफ नर्स अनिवार्य भएपनि दरबन्दीका स्टाफ नर्स सरुवा भएर अन्यत्र गएपछि खाली रहेको छ । त्यस्तै तीन जनाको दरबन्दी रहेको अहेव पदमा एक जना मात्र कार्यरत छन् ।

भवन र चिकित्सक ठूलो चुनौती

जिल्लाको दक्षिणी भेगमा पर्ने औरही, बरियारपट्टि, सुखीपुरको कविलासी, पोखरिया लगायतका करिब आधा दर्जन गाउँका सेवाग्राहीलाई लक्षित गरी स्थापना गरिएको केन्द्र भवन र स्थायी दरबन्दीको चिकित्सक अभाव रहेको गाउँपालिकाका अध्यक्ष सिद्धार्थ यादवले बताए ।

स्वास्थ्य केन्द्रको लागि १० कठ्ठा क्षेत्रफलमा निर्माणाधीन भवन अलपत्र परेको छ । ‘पुरानो र जीर्ण भवनको तीन कोठालाई प्रशासन, स्टोर र ओपिडीको रुपमा संचालन गरिरहेका छौं’ निमित्त प्रमुख यादवले भने ।

‘करिब १५ वर्ष अघिदेखि निर्माण थालिएको भवनको ठेकेदार कम्पनीले बीचमै छोडेर हिंडेपछि  भवन अलपत्र परेको छ’ गाउँपालिकाका अध्यक्ष सिद्धार्थ यादवले ‘शहरी विकास मन्त्रालय र स्वास्थ्य सेवा विभागमा ताकेता गरिरहेका छौं, समस्या जस्ताको त्यस्तै छ ।’

जिल्ला स्वास्थ्य कार्यालय सिरहा प्रशासन शाखाका शाखा अधिकृत उमेशलाल कर्णले केन्द्रमा दरबन्दी अनुसारको चिकित्सक र स्वास्थ्यकर्मीको लागि मन्त्रालय, विभाग र लोकसेवा आयोगलाई बारम्बार पत्राचार गरिएको जानकारी दिए । ‘आगामी केही दिन भित्र आयोगले जिल्लाका लागि दिने चिकित्सक र स्वास्थ्यकर्मी मध्ये पहिलो प्राथमिकता औरहीलाई दिन्छौं’ प्रशासन प्रमुख कर्णले भने ।

The post ल्याब टेक्निसियनको भरमा सिरहाको प्राथमिक स्वास्थ्य केन्द्र appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2QjGJbF

No comments:

Post a Comment

Post Bottom Ad

Pages