दैलेख। जिल्लाको भगवतीमाई गाउँपालिका–७ को बस्तीमा वर्षौंपछि खानेपानी सेवा पुगेको छ । खानेपानी आयोजना निर्माण भएपछि खानेपानी लिनका लागि घन्टौं हिँड्नुपर्ने र लाइन लाग्नुपर्ने समस्या अन्त्य भएको छ ।
बस्तीमा खानेपानी पुगेपछि त्यहाँका उपभोक्ता खुसी भएका छन् । लामो प्रयासपछि ३९ बढी घरधुरी सो खानेपानी आयोजनाबाट लाभान्वित हुने खालिडाँडा खानेपानी आयोजनाले जनाएको छ ।
अन्तर्राष्ट्रिय कृषि विकास कोषको आर्थिक सहयोगमा नेपाल सरकार वन तथा वातावरण मन्त्रालय पहाडी साना किसानका लागि अनुकूलन आयोजनाको ९ लाख ९५ हजारको लागतमा खानेपानी आयोजना निर्माण भएको हो ।
पानीको अभावका कारण सोचेअनुसारको खेतीकिसान गर्न नपाएका स्थानीयले अब बेमौसमी तरकारी खेती गर्न र आफ्नो आयआर्जन गर्न समेत टेवा पुग्ने निर्माण समितिका अध्यक्ष नगेन्द्र बुढाले बताए ।
‘हामीकहाँ खानेपानी अभावका थियो, तरकारी लगाउने अवस्था नै थिएन, तरकारी किनेर खानुपर्ने अवस्था थियो,’ उनले भने, ‘लगाउने जग्गा जमिन भए पनि पानीको अभावमा काम गर्न सकिएको थिएन, अब पानी घरआँगनमै आएपछि करेसामा व्यावसायिक रूपमा तरकारी खेती गर्नेेछौं ।’
पानी लिन टाढा जाँदा घन्टौं समय बित्ने गरेको स्थानीय सीता शाहीले बताइन् । उनले भनिन्, ‘सुत्केरी महिलालाई झनै कष्ट हुन्थ्यो, घरमा बच्चालाई सुताएर पानी लिन जानुपर्ने बाध्यता थियो, अब आफ्ना छोराछोरीको हेरचाह र सरसफाइ गर्न सजिलो हुने भयो ।’
बिहान ४ बजे उठेर पानी लिन जानुपर्ने बाध्यताबाट मुक्त भएको भन्दै डिलकुमारी शाहीले भनिन्, ‘अब पानीका लागि पालो बस्नुपर्ने दिन पनि गए ।’ अब सुक्खा डाँडामा तकारी फलाउने आफ्नो धोका पूरा हुने उनले बताइन् ।
पहाडी साना किसानका लागि अनुकूल आयोजनाका जिल्ला संयोजक कमल आचार्यले आयोजनाले स्थानीय स्तरमा जलवायु परिर्तनका कारण असरमा परेका समुदायको वर्गीकरणका लागि उनीहरूलाई जलवायु अनुकूलनमा सहयोग पुग्ने खालका कार्यक्रम सञ्चालन गरिएको बताए ।
गाउँपालिकामा तालाबन्दी
जिल्लाको भगवतीमाई गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । गाउँपालिकाको विकास निर्माण, कर्मचारी नियुक्ति र उपभोक्ता समिति गठनमा राजनीतिक पूर्वाग्रह भएको र गाउँपालिकाले निर्माण गरेका ऐनकानुनभन्दा बाहिर गएर काम गरेको आरोप लगाउँदै विभिन्न आठबँुदे माग राखी नेपाली कांग्रेस, भगवतीमाई गाउँपालिकाले तालाबन्दी गरेको हो ।
आव २०७४÷७५ मा गरिएको खर्च विवरण सार्वजनिक गर्नुपर्ने, गाउँपालिकाको ऐन नियमविपरीत विगतका योजनालाई क्रमागत गरिएको, कर्मचारीहरू नियुक्ति गर्दा नीतिनियमबाहिर गएर नियुक्ति गरेका आदि आरोप लगाउँदै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको कांग्रेसले जनाएको छ ।
गाउँपालिका अध्यक्ष दानबहादुर थापाले आफूले गाउँपालिकाको समृद्धि र विकास गर्न खोज्दा अवरोध गर्ने खोजेको आरोप बन्दकर्तालाई लगाएका छन् ।
उनले बन्दकर्ताको माग जायन नै भए पनि आफूसँग एकपटक पनि कुरा नगरी एक्कासि तालाबन्दी गर्नु गैरराजनीतिक चरित्र भएको टिप्पणी गरे । हरेक विकास निर्माणका काम गर्दा सबै राजनीतिक दलसँग समन्वय गरी अगाडि बढेको उनले बताए ।
from Rajdhani Daily https://ift.tt/2QeeUVL
No comments:
Post a Comment