काठमाडौं। उपाधिको दाबेदर ललितपुर मंगलबजारको रुस्लान थ्री स्टार क्लबले पल्सर शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फराकिलो जित निकालेको छ । लिगअन्तर्गत आइतबार भएको ललितपर डर्बीमा थ्री स्टारले ब्रिगेड ब्वाइज क्लबमाथि ५–१ को फराकलो जित निकालेको हो । थ्री स्टारको जितमा रञ्जित धिमाल, सुनिल बल, रञ्जन विष्ट, निराजन खड्का र विक्रम लामाले गोल गरे । पराजित टिमका लागि राजन तिवारीले सान्त्वना गोल फर्काए ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृत्रिम मैदानमा आइतबार भएको खेलमा उपाधिको दाबेदार थ्री स्टारविरुद्ध ब्रिगेड ब्वाइजले सुरुवातदेखि नै राम्रो खेल पस्केको थियो । आफ्नै गल्तीमा ब्रिगेड ब्वाइजले गोल खान पुगेको थियो । निराजन खड्काले बल अघि बढाउँदै गर्दा रन्दीप पौडेलले अनावश्यक फाउल गरेपछि थ्री स्टारले पेनाल्टी पाएको थियो । नवांै मिनेटमा रञ्जित धिमालले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएको थियो । पहिलो पछि थ्री स्टारले पटक–पटक प्रयास गरे पनि दोस्रो गोलका लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । १३औं मिनेटमा सुनलको कर्नरमा निराजन खड्काको हेडर विपक्षी डिफेन्डरले क्लियर गरिदिएका थिए ।
२३औं मिनेटमा रञ्जन विष्टको पासमा बुद्ध चेम्जोङको प्रहार निकै फितलो बन्यो । ३०औं मिनेटमा सुनिलले डी–बक्सभित्र उपलब्ध गराएको पासलाई रञ्जनले भेट्न नसक्दा अग्रता दोब्बर पार्ने मौका खेर गयो । ४२औं मिनेटमा अजायी मार्टिनको हेडर बिग्रेडका गोलरक्षक आकाश रानाभाटले बचाएका थिए । पहिलो हाफको इन्जुरी समयमा बुद्धको प्रहार अकासिएको थियो । दोस्रो हाफको सुरुमै ब्रिगेड ब्वाइजले दुई सुन्दर मौका खेर फालेको थियो । वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका रितिक खड्काको शक्तिशाली प्रहारलाई थ्री स्टारका गोलरक्षक एलेन न्यौपानेले उत्कृष्ट बचाउ गर्दै बराबरीमा टारेका थए । लगत्तै शिशिर लेखीको कर्नरमा रितिकको हेडर पोस्टबाट थोरै बाहिरिएको थियो ।
त्यसपछि भने थ्री स्टारले सम्हालिँदै खेल्दै अर्काे गोल गर्न सफल भयो । ४१औं मिनेटमा सुनिल बलले उत्कृष्ट गोल गर्दै थ्री स्टारको अग्रता दोब्बर पारेको थियो । रञ्जनले उपलब्ध गराएको बललाई अनमार्क रहेका सुनिलले एक प्रयासमा दोस्रो बार च्याप्दै सुन्दर गोल गरेका थिए । ७५औं मिनेटमा राजन तिवारीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएका थिए । त्यसपछि पनि थ्री स्टारले बरम्बार पोस्टमा आक्रमण बुनिरह्यो । त्यसपछि विक्रम लामा, सुनिल बल र रञ्जन विष्टले गोलको मौका खेर फालेका थिए । गोल गर्ने मौका खेर फालिरहेका रञ्जन विष्टले अन्ततः ८४औं मिनेटमा गोल गर्दा थ्री स्टारले खेलमा ३–१ को अग्रता बनाएको थियो । रञ्जनले विपक्षी डिफेन्डर रन्दीप पौडेलबाट बल खोस्दै चलाखीपूर्ण तरिकाले गोल गरेका थिए । ८९औं मिनेटमा सुनिल बलले क्रस गरेको बललाई रञ्जनले हेडमार्फत निराजनलाई उपलब्ध गराएको बललाई निराजनले डी–बक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।
इन्जुरी समयको थप गरिएको तेस्रो मिनेटमा ९ महिनापछि फुटबलमा पुनरागमन गरेका कप्तान विक्रम लामाले गोल गर्दै थ्री स्टारलाई ५–१ को फराकिलो जित दिलाए । विक्रमले सुनिलकै क्रसमा हेड गोल गरेका थिए । ब्रिगेड ब्वाइजविरुद्ध १ गोल गर्नुका साथै २ गोलका लागि अवसर सिर्जना गरेका सुनिल बल खेलको म्यान अफ दी म्याच घोषित भए । उनले १० हजार पाए ।जितपछि थ्री स्टार २ खेलबाट ६ अंक जोडेर लिगको शीर्ष स्थानमा उक्लिएको छ । समान ६ अंक नै रहेको मनाङ गोल अन्तरमा दोस्रोस्थानमा झ¥यो ।
जितपछि थ्री स्टारका प्रशिक्षक मेघराज केसीले झन्डै डेढ महिनाको विश्रामपछि पनि थ्री स्टाले राम्रो खेल्दा जित हात पार्न सकिएको बताए । ‘बीबीसीले हामीविरुद्ध राम्रो खेल्यो । हामीले उनीहरूले भन्दा राम्रो खेल्यौं । युवा खेलाडीले भरिएको बीबीसीले हामीसँग डोमिनेट भएर खेलेन,’ खेलपछि थ्री स्टारका प्रशिक्षक मेघराज केसीले भने, ‘हामीले पनि बीबीसीलाई कमजोर टिमका रूपमा खेलेनौं । स्कोरले मात्रै खेलको कथा भन्दैन । खेलले नै खेलको कथा भन्ने हो । आज त्यही भयो ।’ उनले विक्रम लामाले पहिले भन्दा झनै बलियो भएर आएको र उनले आफ्नो पोजिसन भन्दा बाहिर पनि राम्रो खेलेको बताए ।
बीबीसीका प्रशिक्षक उर्जन श्रेष्ठले थ्री स्टारविरुद्ध राम्रो खेलेको बताए । सुरुमा अनावश्यक पेनाल्टीले नै टिममा दबाब परेको र दोस्रो हाफमा गोल गर्ने रणनीतिमा खेल्दा झनै गोल खान पुगेको बताए ।
आइतबारै भएको अर्काे खेलमा विभागीय नेपाल पुलिस क्लब र मच्छिन्द्र क्लब गोलरहित बराबरी खेल्दै अंक बाँडे । पुलिसले आक्रमक फुटबल खेले पनि मच्छिन्द्रको बलियो डिफेन्सलाई तोड्न सकेन । अग्रपंक्तिमा तालमेल नमिल्दा पुलिसले अधिकांश समय बल पोसेसन राखे पनि गोल गर्न सकेन । मच्छिन्द्रका विक्रम राई खेलको म्यान अफ दी म्याच घोषित हुँदै १० हजार पाए । बराबरीपछि पुलिसको २ खेलबाट ४ अंक पुगेको छ । मच्छिन्द्रको २ खेलबाट २ अंक छ ।
बराबरीपछि पुलिसका प्रशिक्षक अनन्तराज थापाले जितका लागि आए पनि अग्रपंक्तिमा तालमेल मिल्न नसक्दा बराबरीमा रोकिन पुगेको बताए । मच्छिन्द्रका प्रशिक्षक धनेश्वर प्रजापतिले नतिजामा सन्तुष्ट रहेको बताए ।
विक्रम नौ महिनापछि मैदानमा
नेपाली राष्ट्रिय टिमका मिडफिल्डर तथा रुस्लान थ्री स्टार क्लबका कप्तान विक्रम लामाले नौ महिनापछि फुटबलमा पुनरागमन गरेका छन् । विक्रमले आइतबार पल्सर शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत बिग्रेड ब्वाइजविरुद्धको खेलमा कप्तानी गर्दै फुटबलमा पुनरागमन गरेका हुन् । पुनरागमनको पहिलो खेलमा फरक भूमिकामा देखिएका विक्रमले १ गोल गरे । थप गरिएको तेस्रो मिनेटमा सुनिल बलको क्रसलाई विक्रमले हेडमार्फत गोल गरेका थिए । अट्याकिङ र होल्डिङ मिडफिल्डर विक्रम बीबीसीविरुद्धको खेलमा दायाँ डिफेन्सबाट खेलेका थिए ।
पुनरागमनपछि थ्री स्टारका कप्तान विक्रम लामाले सुखद सुरुवात भएको बताए । ‘इन्जुरीको समयमा मैले जति दुःख र मिहिनेत गरे । आज पूरा भएजस्तो लाग्छ । मैले गोल गरें, मेरो टिमले जित्यो । कति स्कोर ग¥यो भन्दा पनि मैले फुटबल हानें । ९० मिनेटसम्म खेल्न सकेकामा निकै खुसी छु,’ खेलपछि कप्तन विक्रमले भने, ‘यो बीचमा हरेक दिन फुटबल मिस गरें । मनमा जहिल्यै पोल्ने, धैर्य र मिहिनेतले गर्दा आज यहाँ आउन सकेको छु । पुनरागमन गर्छु भन्ने विश्वास थियो । सुखद होला भन्ने सोचेको थिइनँ ।’ कुनै पनि खेलका खेलाडी सक्रिय रूपमा खेलिरहँदा इन्जुरीले टाढिनु पर्दा त्यो जस्तो पीडा अरू कसैलाई नहुने र आफूले पनि त्यस्तै भोगेको विक्रमले बताए । ‘मलाई यहाँसम्म ल्याउन ग्रान्डी अस्पताल, नवल गुरुङ दाइ र कोच मेघराजको हौसला बिर्सन सक्दिनँ,’ उनले भने ।
गत वर्ष २७ माघमा बूढासुब्बा गोल्डकपको फाइनलमा पुलिसका तेज तामाङको गम्भीर ट्याकलमा परी विक्रमको दायाँ नली खुट्टा भाँचिएको थियो । त्यसयता उनी मैदानबाहिर थिए ।सोही रात नै धरानबाट ग्रान्डी अस्पतालमा ल्याई उपचार गरिएको थियो । वरिष्ठ अर्थोपेडिक सर्जन तथा ग्रान्डीका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेको टिमले विक्रमको गोडाको शल्यक्रिया गरेको हो । त्यसपछि विक्रमले खुट्टाको शल्यक्रिया गरेर रिह्याबमा बिताएका थिए । यसबीचमा उनले मोफसलका प्रतियोगितासँगै राष्ट्रिय टोलीबाट बंगलादेशमा भएको साफ च्याम्पियनसिप खेल्ने मौका गुमाएका थिए ।
from Rajdhani Daily https://ift.tt/2DuOMiq

No comments:
Post a Comment