नेकपाका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले केही दिनमै तल्लो तहसम्मको पार्टी एकता टुंगिने बताएका छन् । बुटवलमा आयोजित शुभकामना सन्देश सभामा अध्यक्ष प्रचण्डले मुलुकलाई समृद्धितर्फ अगाडि बढाउन पार्टी एकता भएको र अबका दिनमा विकासका कामले गति लिने दाबी गरे ।
‘अब मुलुकको एकता र विकास नेकपाबाट मात्रै सम्भव छ,’ अध्यक्ष प्रचण्डले भने, ‘मुलुकलाई अबका ५ वर्षमा पूर्वाधार तयार र अर्को ५ वर्षमा एसियाली मापदण्डभन्दा माथि पु¥याउँछौँ ।’ उनले पार्टी एकता र बलियो सरकार बनेपछि देश ‘ल्यान्डलक’को चाबी खुलेको बताए । अहिले देश विकास र समृद्धिको अपार सम्भावनामा रहेको उनले बताए । कार्यक्रममा प्रचण्डले पार्टी एकता तलसम्मै सहज ढंगले केही दिनभित्रमा टुंगिने बताए ।
कार्यकर्तामा हौसला थपिएको दाबी
विभिन्न चाडपर्वका अवसरमा शुभकामना सन्देशसभा नाम दिइएको कार्यक्रमलाई नेता–कार्यकर्ताले तत्कालीन एमाले र माओवादी केन्द्रको एकता सन्देशसभाका रूपमा लिएका छन् । रुपन्देहीबाहिरका विभिन्न जिल्लाका नेता–कार्यकर्ता पनि कार्यक्रममा सहभागी थिए । तल्लो तहसम्म पार्टी एकता नटुंगिँदा कार्यकर्तामाझ निराशा छाएको र बुटवलबाट हौसला थप्नेखालको कार्यक्रम गरिएको नेताहरूको भनाइ छ ।
पार्टी महासचिव विष्णु पौडेलको निर्वाचन क्षेत्रसमेत रहेको बुटवलबाट नयाँ सन्देश दिने गरी गरिएको कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी हुने प्रचार गरिएको थियो । तर, स्वास्थ्यका कारण ओली सहभागी भएनन् । प्रचण्डसहितका प्रभावशाली नेताहरू सहभागी कार्यक्रममा नेताहरूले पार्टी एकता तथा सरकारका कामबारे चर्चा गर्दै एकताले नयाँ सन्देश दिएको बताएका थिए ।
मसँग समन्वय भएन : घनश्याम भुसाल
रुपन्देहीको बुटवलमा पार्टीले आयोजना गरेको ठूलो कार्यक्रममा सोही क्षेत्रकै प्रभावशाली नेता घनश्याम भुसालले आफूसँग समन्वय नभएको बताएका छन् । केही दिनदेखि जिल्लामै रहेका नेता भुसाललाई पार्टीले कार्यक्रमबारे जानकारी नगराएपछि उनले शनिबारका लागि दाङमा कार्यक्रम तय गरेका थिए । नेता भुसाल शनिबार बिहान रुपन्देहीबाट दाङ गएका थिए । ‘मसँग कार्यक्रमबारे कुनै समन्वय भएन, समन्वय भएको भए राम्रै हुने थियो,’ उनले भने, ‘सायद विष्णुजी (विष्णु पौडेल) महासचिव भएपछिको कार्यक्रम हुनुपर्छ । खबर नगर्नुलाई उपयुक्त भन्न सक्दिन ।’ पूर्वएमालेमा भुसाल र पौडेल दुवै उपमहासचिव थिए । रुपन्देहीबाट निर्वाचित सांसद भुसालले कार्यक्रमबारे १५ कात्तिकमा जानकारी पाएको बताए । समन्वय नगरेका कारण पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन दाङ पुगेको उनले बताए ।
बलियो जग खडा गर्न समय लागेको हो : महासचिव पौडेल
सन्देश सभामा पार्टी महासचिव विष्णु पौडेलले पार्टी एकतालाई बलियो जग बनाउन केही समय लागेको बताए । प्रदेश, जिल्ला, स्थानीय तह तथा जनवर्गीय संगठनको एकता यथाशीघ्र पूरा गर्न आवश्यक तयारी गरिरहेको उनको दाबी छ । ‘कमजोर धागोमा बाँधेर होइन, बलियो रसीमा बाँधेर एकता सम्पन्न गर्छौँ, छिटो र प्रभावकारी ढंगले गर्छौँ,’ उनले भने । जनता र राष्ट्रलाई केन्द्रमा राखेर पार्टी र सरकार अगाडि बढ्ने उनको भनाइ थियो ।
स्थायी समिति सदस्य तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशलाई समृद्ध बनाउने गरी कामहरू अगाडि बढाइएको बताए । स्थायी समिति सदस्य तथा केन्द्र सरकारका मन्त्री चक्रपाणि खनाल बलदेवले जनआकांक्षा पूरा गर्ने गरी सरकार अगाडि बढेको बताए । स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले मुलुक अब विकास र समृद्धितिर प्रवेश गरेको दाबी गरे ।
The post तल्लो तहसम्म एकता छिटै टुंगिन्छ : प्रचण्ड appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2QjIOo8
No comments:
Post a Comment