कर्णाली प्रदेशमा पनि सघन उपचार कक्ष (इन्टेन्सिभ केयर युनिट–आइसियू) सञ्चालनमा आएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले आइसियू सेवा सुरु गरेको हो ।
स्वास्थ्य क्षेत्रको सुधारका लागि आन्दोलनरत डा. गोविन्द केसी १६ असारमा यही प्रतिष्ठानमा अनशनमा बसेका थिए । उनको स्वास्थ्य बिग्रँदै गएपछि आइसियू नभएको बताउँदै ३ साउनमा सरकारले हेलिकोप्टरबाट काठमाडौं लगेको थियो । डा. केसीलाई काठमाडौं लग्ने क्रममा प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा प्रतिष्ठानमा तोडफोड भएको थियो भने स्वास्थ्यकर्मीलाई पनि कुटपिट गरिएको थियो ।
त्यसपछि प्रतिष्ठानमा आइसियू सञ्चालनका लागि प्रयास थालिएको थियो । स्थानीय सरकार र प्रतिष्ठानको प्रयासमा त्यसको ४ महिनापछि आइसियू सञ्चालनमा आएको छ । ‘तीन शøयाको आइसियू सेवा सुरु गरेका छौँ । मंसिरबाट ६ शय्या पु-याउँछौँ,’ प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले भने ।
प्रतिष्ठानमा आइसियू सञ्चालनका लागि आवश्यक उपकरण गतवर्ष नै जडान गरिएको थियो । तर, त्यसका लागि आवश्यक बिजुली नहुँदा सञ्चालनमा ल्याउन सकिएको थिएन । छिमेकी गुठीचौर गाउँपालिकाबाट बिजुली लिएर आइसियू सञ्चालन गरिएको रजिस्ट्रार काफ्लेले बताए ।
बिरामीलाई सहज
आइसियू सेवा नहुँदा कर्णाली प्रदेशका बिरामीलाई नेपालगन्ज र काठमाडौं रेफर गर्ने गरिएको थियो । प्रतिष्ठानमा आइसियू सञ्चालन भएसँगै हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पालगायत जिल्लाका बिरामीको उपचार सहज हुने रजिस्ट्रार विश्वराज काफ्लेको भनाइ छ । प्रतिष्ठानले रक्तसञ्चार र सिटी स्क्यान सेवा पनि सञ्चालन गर्ने तयारी गरेको छ । रक्तसञ्चार सेवाका लागि आवश्यक उपकरण जडान भइरहेको छ । मंसिरबाट दुवै सेवा सञ्चालन हुने प्रतिष्ठानले जनाएको छ ।
६५ लाखमा विद्युत् लाइन
जुम्ला सदरमुकामस्थित प्रतिष्ठान रहेको चन्दननाथ नगरपालिकामा विद्युत् नहुँदा आइसियू सञ्चालनमा समस्या भएको थियो । छिमेकी गुठीचौर गाउँपालिकामा २० किलोवाट क्षमताको जलविद्युत् आयोजना चालू अवस्थामा छ । १० किलोमिटर टाढाको गुठीचौरबाट प्रतिष्ठानका लागि विद्युत् लाइन विस्तार गरिएको हो ।
गुठीचौर गाउँपालिकाले आइसियू सञ्चालनका लागि विद्युत् उपलब्ध गराएको रजिस्ट्रार विश्वराज काफ्लेले बताए । त्यसमा ६५ लाख खर्च भएको प्रतिष्ठानले जनाएको छ । २४ घन्टै विद्युत् आपूर्ति हुन थालेपछि आइसियू सञ्चालन गर्न सहज भएको हो ।
The post कर्णालीमा आइसियू सञ्चालन appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2qsiEV5
No comments:
Post a Comment