भण्डारण क्षमता न्यून हुँदा सुदूरपश्चिममा सधैँ इन्धन अभाव हुने गरेको छ । भारतबाट इन्धन ढुवानीमा एक दिन ढिलो हुँदा पनि समस्या आउने नेपाल आयल निगम धनगढी कार्यालयले जनाएको छ ।
इन्धनको खपत बर्सेनि बढ्दै गएको र भण्डारण क्षमता बढ्न नसकेकाले इन्धन आपूर्ति गर्न अप्ठ्यारो भएको कार्यालय प्रमुख सर्पराज शर्माले बताए । ‘निगमको भण्डारण क्षमता निकै कम छ । एक–दुई दिन ढुवानी रोकिए पनि अभाव हुने अवस्था छ,’ शर्माले भने ।
सुदूरपश्चिम प्रदेशभरि एक दिन खपत हुने पेट्रोल भण्डारण क्षमता पनि छैन । निगमका अनुसार, सुदूरपश्चिममा दैनिक एक लाख लिटरभन्दा बढी पेट्रोल खपत हुन्छ । जबकि निगमसँग ७० हजार लिटर मात्रै भण्डारण क्षमता छ । त्यस्तै, अहिलेको खपतअनुसार डिजेल पाँच दिनलाई पुग्ने भण्डारण क्षमता रहेको निमगले जनाएको छ । डिजेल तीन लाख लिटरसम्म भण्डारण हुन्छ ।
भण्डारण क्षमता न्यून हुँदा सुदूरपश्चिममा लामो बिदा, भारतमा ढुवानीमा ढिलाइ हुँदा तथा खेती लगाउने समयमा इन्धनको अभाव हुँदै आएको छ । इन्धनको खपत कैयौँ गुणा बढे पनि वर्षौँअघिको भण्डारण क्षमताले नै काम चलाउनुपरेकाले आपूर्तिमा समस्या हुने गरेको शर्माले बताए । ‘पेट्रोलको आपूर्तिमा बढी समस्या छ,’ उनले भने । हिउँदे बाली लगाउने वेला प्राय सधैँजसो डिजेलको अभाव चर्कन्छ ।
निगमको धनगढी कार्यालयले भारतको उत्तर प्रदेशस्थित बन्थरा डिपोबाट इन्धन ल्याउने गरेको छ । भारतमा बिदाका कारण शनिबार र आइतबार दुई दिन लोड बन्द हुन्छ । दुई दिन बन्द हुँदा यहाँ अभाव देखिने भएकाले भारतीय अधिकारीहरूसँग कुरा गरेर शनिबार पनि इन्धन लोड गर्ने व्यवस्था मिलाइएको शर्माले बताए ।
खपत २७ प्रतिशतले वृद्धि
सवारीसाधनको संख्या र विकासका योजना बढेसँगै सुदूरपश्चिममा पेट्रोलियम पदार्थको खपत बढ्दै गएको छ । गत एक वर्षमा मात्रै पेट्रोलियम पदार्थको खपत २७ प्रतिशतले बढेको नेपाल आयल निगम, धनगढी कार्यालयले जनाएको छ ।
निगमका अनुसार, गत एक वर्षमा पेट्रोलको खपत २३ प्रतिशत, डिजेल २२ प्रतिशत र हवाई इन्धनको खपत ३७ प्रतिशतले बढेको हो । सवारीसाधनको संख्या वृद्धि, पुल, सडकलगायत भौतिक विकासका ठूला योजनाहरू निर्माणले डिजेलको खपत बढेको जनाएको छ । त्यस्तै, काठमाडौं–धनगढी हवाई उडान संख्या बढेकाले हवाई इन्धनको खपत पनि बढेको हो ।
त्यस्तै, सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको खपत पनि बढेको निगम धनगढी कार्यालयको तथ्यांक छ । मट्टितेलको खपत भने २१ प्रतिशतले घटेको छ ।
ट्यांकर पनि कमी
निगमको कार्यालय धनगढीका लागि इन्धन ढुवानी गर्न ट्यांकरको पनि कमी छ । अहिले निगमसँग ६५ वटा ट्यांकर छन् । ढुवानीका लागि दैनिक २०–२२ ट्यांकर भारत जाने गरेका छन् । केही ट्यांकर आयात गरिएको इन्धन वितरणका लागि विभिन्न जिल्लामा जाने गरेका छन् । एउटा ट्यांकर पनि बिग्रियो भने आपूर्तिमा समस्या आउने देखिएको निगमले जनाएको छ । इन्धनको खपत दैनिक बढिरहेकाले तत्काल कम्तीमा थप ३० ट्यांकर आवश्यक रहेको निगम धनगढीका प्रमुख शर्माले बताए ।
The post भण्डारण क्षमता न्यून हुँदा सधैँ इन्धन अभाव appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2QiKs9F
No comments:
Post a Comment