७०औं अन्तराष्ट्रिय मानव अधिकार दिवसकाे अवसरमा सोमबार काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । ‘दिगो विकास र मानव अधिकारः नेपालीको मूल आधार’ भन्ने मूल नाराका साथ राष्ट्रिय मानव अधिकार आयोगको आह्वानमा मानव अधिकार प्रभातफेरी कार्यक्रम आयोजना गरिएको हो ।
काठमाडौंको भृकुटीमण्डपबाट सुरु गरिएको प्रभातफेरी रत्नपार्कस्थित शान्ति बाटिकामा पुगेर समाप्त भएको थियो । प्रभातफेरी कार्यक्रममा सहभागी मानव अधिकारकर्मीहरुले मानव अधिकारको पूर्ण प्रत्याभूति गराउन सरकारसँग माग गरेका छन् । उनीहरुले महिला हत्या, हिंसालगायतका घटना बढदै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई तत्काल रोक्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानव अधिकारको पूर्णप्रत्याभूति दिलाउन र मानव अधिकार हनन्कर्तामाथि कडा कारवाही गर्न सरकारलाई सचेत गराए ।
राष्ट्रिय मानव अधिकार आयोगले सशष्त्र द्वन्द्वकालका घटनामा पीडितलाई न्याय दिन सरकारलाई पटक–पटक सचेत गराउँदै आएको छ । त्यसैगरी मानव अधिकारकर्मी सिताराम लामाले दण्डहिनताको अन्त्य गर्न सरकारसँग माग गरेका छन् । उनले मानव अधिकारको प्रत्याभूति गराउने प्रतिवद्धताको पूर्ण पालन गर्न सरकारको ध्यानाकर्षण गराए ।
महिला अधिकारकर्मी सुशीला श्रेष्ठले महिला हिंसा, हत्यालगायतका घटना तत्काल अन्त्य गर्न सरकारसँग आग्रह गरेकी छन् । उनले महिला हत्या, हिंसामा संलग्नलाई पक्राउ गरी कडा कारवाही गर्न सरकारलाई दवाव दिइन् ।
प्रभातफेरीमा सहभागी मानव अधिकारकर्मीहरुले द्वन्द्वकालका पीडितलाई न्याय दिन ढिलाई नगर्न पनि सरकारलाई दवाव दिएका छन । उनीहरुले समानता, न्याय र मानव मर्यादाका लागि सबैलाई एकजुट हुन आह्वान गरेका छन ।
The post मानव अधिकारको पूर्ण प्रत्याभूति गराउन सरकारसँग मानव अधिकारकर्मीकाे माग appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2QLhoLs
No comments:
Post a Comment