८ माघ, बुटवल । प्रदेश ५ को स्थायी राजधानी बुटवल नै कायम गर्न र नाम लुम्बिनी राख्न दबाव दिने उद्देश्यले नेकपाका सांसदहरुले हस्ताक्षर संकलन अभियान चलाएको खुलासा भएको छ । आठ जना प्रदेश सांसदहरुले हस्ताक्षर गरिसकेका छन् ।
प्रदेश सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार तथा विकास मन्त्री वैजनाथ चौधरी, नेकपाका प्रमुख सचेतक भूमेश्वर ढकाल, तुल्सी प्रसाद चौधरी, थानकुमारी थापालगायतको समूहले हस्ताक्षर संकलन थालेको एक सांसदले अनलाइनखबरलाई जानकारी दिए ।
सांसद तुल्सीप्रसाद चौधरीले भने हस्ताक्षर अभियानबारे खुलेर कुरा गर्न चाहेनन् । उनले अनलाइनखबरसँग भने, ‘हामी हस्ताक्षर बुझाउन नसक्ने भए किन काम गर्थ्यौं । अहिले मिडियामा बोल्न अप्ठ्यारो हुन्छ, प्रेसर हुन्छ ।’
उनले प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी बुटवलबाहेक अन्त हुनै नसक्ने दाबीसमेत गरे ।
बुटवललाई अस्थायी राजधानी बनाएको एक वर्ष बितिसक्दा पनि प्रदेश ५ को नाम र राजधानी टुंगो लाग्न सकेको छैन । नाम र राजधानीको विषयमा सुझाव दिन १५ सदस्यीय विशेष समितिसमेत गठन गरिएको छ ।
दाङबाट प्रदेशसभा सांसदमा निर्वाचित भएर मुख्यमन्त्री बनेका शंकर पोखरेलले सडकबाट नभइ संसदबाट प्रदेश राजधानी तोकिने बताउँदै आएका छन् । ‘यो काम प्रदेशसभाकै हो,’ नेकपा प्रदेश ५ का इञ्चार्जसमेत रहेका पोखरेलले भने, ‘विशेष समितिलाई सरकारबाट जस्तो सहयोग आवश्यक पर्छ त्यहीअनुसार सहयोग गर्न सरकार तयार छ ।’ स्थायी राजधानी तोक्दा र नामाकरण गर्दा प्रदेशका सबै जनतालाई गौरवबोध हुने गरी गर्नुपर्ने उनको भनाइ छ ।
लामो समयसम्म स्थायी राजधानी नतोकिएको र नामाकरण पनि नगरिएको विषय धेरै पटक प्रदेशसभा बैठकमै उठ्दै आएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले स्थायी राजधानी र नामाकरणको विषय जोडेर साउन १३ गतेको बैठक नै अवरुद्ध गरेको थियो भने माघ ३ गते बुटवलमा खबरदारी सभा समेत आयोजना गरेको थियो ।
गोप्य हस्ताक्षरको औचित्य हुन्न : संयोजक पुन
प्रदेश ५ को नाम र स्थायी राजधानी सिफारिसका लागि गत साउन २५ गते गठित विशेष समिति संयोजक दीपेन्द्रकुमार पुनमगर ‘सिजल’ले कसैले हस्ताक्षर अभियान चलाए पनि त्यसको कुनै औचित्य नहुने बताए । आफूहरुले प्रश्नावली निर्माण र प्रशासनिक काम सकेको बताउँदै छिट्टै प्रतिवेदन बुझाउने बताए ।
उनले भने, ‘समय अभावले काम गर्न असहज भएको छ, संसदको बैठक, समितिको बैठकले गर्दा समय मिलेको छैन, हामी काम गरेर प्रतिवेदन बुझाउछौं ।’
सांसदहरू सुझाव संकलनका लागि प्रदेशका १२ वटै जिल्लामा पुग्ने समिति सदस्य रमा अर्यालले बताइन् । समितिले जिल्लाका जनप्रतिनिधि, राजनीतिक दल र बुद्धिजीवीहरुसँग छलफल चलाउनेछ । छलफलबाट आएको सुझावलाई प्रतिवेदनमा समेटिने छ ।
नाम र राजधानी सिफारिस गर्न बनेको समितिले प्रतिवेदन बुझाए पनि प्रदेश नामाकरण र स्थायी राजधानीको अन्तिम टुंगो भने प्रदेशसभाको दुईतिहाइ बहुमतले निर्णय गर्ने संवैधानिक व्यवस्था छ ।
प्रदेश ५ मा बर्दियादेखि नवलपरासी सुस्ता पश्चिमका १२ जिल्लाहरु छन् । नवलपरासी पश्चिमबाट ५, रुपन्देहीबाट १९, कपिलवस्तुबाट १२, पाल्पाबाट ७, गुल्मीबाट ५, अर्घाखाँचीबाट ४, प्यूठानबाट ३, रोल्पाबाट २, रुकुम पूर्वबाट ३, दाङबाट १०, बाँकेबाट ९ र बर्दियाबाट ८ गरी जम्मा ८७ जना सांसद प्रदेश ५ मा छन् ।
प्रदेश ५ मा नेकपा ६१, नेपाली कांग्रेसका १९, संघीय समाजवादी फोरम नेपालका ५ र राजपा तथा राजमोका १–१ जना सांसद छन् ।
प्रदेश ५ को राजधानी बुटवल वा दाङ बनाउने विषयमा सत्तारुढ नेकपा र प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरु भूगोलअनुसार विभाजित छन् । कतिपयले अहिलेको अस्थायी राजधानी बुटवललाई नै स्थायी राजधानी कायम गर्नुपर्ने बताउँदै आएका छन् । कतिपय भने बर्दियादेखि नवलपरासी पश्चिमसम्मको भूभागको केन्द्रमा दाङ जिल्ला पर्ने भएकाले दाङलाई नै स्थायी राजधानी बनाउनुपर्ने पक्षमा छन् ।
from Online Khabar http://bit.ly/2AXzVLv
No comments:
Post a Comment