९ माघ, काठमाडौं । सानो छँदा लता बज्राचार्यलाई कसैले ‘ठूली भएपछि के बन्ने ?’ भनेर सोध्यो भने केही नसोची जवाफ दिन्थिन्– डाक्टर । तर डाक्टर बन्नको लागि के गर्नुपर्छ, भन्ने उनलाई अत्तोपत्तो थिएन ।
त्यसो त उनी त्यो जमानाकी हुन् जतिबेला समाजमा छोरीलाई पढाउनुहुन्न भन्ने मान्यता थियो । लताकै बाजेबज्यैले पनि भन्ने गर्थे, ‘छोरीलाई पढायो भने त अंग्रेजीमा चिठी लेखेर पोइल जान्छन् ।’
तर, राजनीतिमा लागेका लताका बाबु पुष्प भने प्रगतिशील बिचारका थिए । त्यसैले सामाजिक मान्यतालाई पन्छाउँदै उनले छोरीलाई पढाउन कुनै कसर बाँकी राखेनन् । सामान्य गृहिणी आमाले पनि उनलाई भरपूर साथ दिइन् । र, अन्ततः लताले आफ्नो नाम अगाडि डा. फुर्को जोड्न सफल भइन् । स्त्री तथा प्रसूति रोगका धेरै बिरामीहरु अहिले पनि उनको खोजी गर्छन् ।
डा. लता बज्राचार्यलाई भेट्न मंगलबार बेलुकी पुतलीसडकस्थित क्यापिटल अस्पताल पुग्दा उनको क्याबिन बाहिरको सिट विरामीले खचाखच भरिएको थियो । त्यहाँ उपचार गराउन आउनेमा गर्भवती महिलादेखि पाठेघरसम्बन्धी र यौनजन्य रोगबाट पीडित महिलाहरु थिए ।
त्यही भीडमा थिइन् कालोपुलकी गीता महर्जन । विगत १५ वर्षदेखि डा. लतासित उपचार गराउँदै आएकी उनले त्यसदिन भने अर्की एक महिलालाई त्यहाँ जचाउन ल्याएकी थिइन् ।
०००
विशालनगरको चण्डोलमा स्थायी घर भएकी डा. लताको जन्म काठमाडौंकै नगलमा भएको हो । उनका एक छोरा र छोरी छन् । छोरा एमबीए ग्र्याजुएट हुन् भने छोरी चिकित्सक हुन् । उनले ०३५ सालमा हड्डी रोग विशेषज्ञ डा. अशोकरत्न बज्राचार्यसित नेपाली परम्पराअनुसार विवाह गरेकी हुन् ।
लताले सुरुको तीन कक्षा सिगलस्थित प्रभात कुराबाट पूरा गरिन् । त्यसपछि न्योखास्थित कन्या मन्दिर हाइस्कुल भर्ना भएकी उनले त्यही स्कुलबाट एसएलसीसम्मको अध्ययन पूरा गरिन् । त्यसो त कन्या मन्दिरमा भर्ना हुँदासम्म पनि उनलाई पढाइमा खासै रुचि थिएन ।
आठ कक्षा पुगेपछि भने उनले मन लगाएर पढ्न थालिन् । वि.सं. २०२३ सालमा एसएलसी पास गरेपछि उनी डाक्टरी पढ्ने उद्देश्यले लैनचौरस्थित अमृत क्याम्पसमा आईएस्सी भर्ना भइन् । त्यहाँबाट आईएस्सी पास गरेपछि भारतीय दूतावासको छात्रवृत्तिमा एमबीबीएस अध्ययनका लागि बनारस हिन्दू विश्वविद्यालय जाने अवसर पाइन् ।
‘म त त्यो बेलासम्म कुवाको भ्यागुतो जस्तै थिएँ । काठमाडौंबाट निस्केर पाटन, भक्तपुरसमेत नगएको मान्छे एकैपटक बनारस पढ्न जाँदा मलाई निकै होमसिक भएछ । त्यही भएर मैले एकपटक त पढाई छोडेर फर्किन्छु भनेर बुबालाई चिठ्ठी पनि लेखेँ,’ सेतो कोट र स्टेथोस्कोप लगाएर विरामी जाँच्न तयारी अवस्थामा भेटिएकी डा. लताले विगत सम्झिइन् ।
छोरीको चिठी पाउनासाथ बुबा हान्निएर बनारस पुगेछन् । उनले सम्झाएपछि लता सबै कुरा भुलेर आफ्नो पढाइमा केन्द्रित बनिन् ।
यसरी बनिन् स्त्री रोग विशेषज्ञ
एमबीबीएस पढ्दै गर्दा इन्टर्नसीपका क्रममा डा. लताको ड्युटी ‘लेबर रुम’ मा हुन्थ्यो । सुरुसुरुमा उनलाई महिलालाई बेथा लागेको देख्दा निकै अत्यास लाग्थ्यो । प्रसव व्यथाका क्रममा बच्चाको टाउको बाहिर निस्कन लागेपछि उनी आत्तिदै बाहिर कुद्थिन् ।
‘म बच्चा जन्मेको हेर्नै सक्दिनथेँ, देखिहालेँ भने आत्तिदै भागिहाल्थेँ,’ उनी भन्छिन् ।
एबीबीएस पास गरेपछि उनले थप तीन महिना त्यहीँ इन्टर्नसीप गरिन् । बिस्तारै बानी पर्न थालिन् । उनलाई लाग्यो, ‘यो क्षेत्रमा काम गर्न सके लाखौं महिलालाई मृत्युको मुखबाट बचाउन सकिने रहेछ ।’
त्यसपछि उनले यही विषयमा थप अध्ययन गर्ने निर्णय लिइन् । तर बिडम्बना, एमबीबीएसबाट पास गर्दा गाइने (स्त्री तथा प्रसूति) विषयमा कम अंक आएका कारण उनलाई सो विषय रोज्न दिइएन । बरु मेडिसिनमा बढी अंक आएका कारण बालरोग विशेषज्ञ बन्ने अवसर मिल्यो ।
‘तर मलाई बच्चाहरु रोएको देखेरै डर लाग्ने हुँदा मैले त्यो पढ्ने आँटै गर्न सकिनँ । र, जुन विषय पढ्न मन थियो, त्यो पढ्न पाइनँ,’ उनले भनिन् ।
उनले बालरोग विशेषज्ञ बन्नुभन्दा नेपाल नै फर्किन उचित ठानिन् । त्यसपछि, वीर अस्पतालमा मेडिकल अफिसरको रुपमा काम थालेकी उनी त्यसको करिब ६–७ वर्षपछि आफ्नै खर्चमा स्त्री तथा प्रसूति रोग विषयमा डिप्लोमा गर्न बंगलादेशको ढाका विश्वविद्यालय भर्ना भइन् । ०४२ सालमा डिप्लोमा सकेर नेपाल फर्किइन् । लगत्तै, प्रसूति गृह थापाथलीमा स्त्रीरोग विशेषज्ञको रुपमा काम सुरु गरेकी उनले यस क्षेत्रमा काम गरेको झण्डै ४० वर्ष भयो ।
उनले एमबीबीएस पास गर्दासम्म पनि नेपालमा स्त्री तथा प्रसूति रोग विशेषज्ञको संख्या निकै कम थियो । त्यसबेला धेरै चिकित्सक बच्चाका डाक्टर थिए भने कि त मेडिसिनका डाक्टर थिए । जनरल फिजिसियन नगन्य मात्रामा थिए ।
फेरि, त्यसबेलाका प्रसूति रोग लागेका महिलाहरु जचाउनका लागि महिला चिकित्सक नै खोज्थे । अहिले त्यो ट्रेण्ड कम भएको छ । जसले गर्दा पछिल्लो समय यो विषय अध्ययन गर्ने पुरुष डाक्टरहरुको संख्या पनि बढ्दो छ ।
वि.सं. ०४२ सालमा मेडिकल अफिसरको रुपमा वीर अस्पताल प्रवेश गरेकी लताले रजिस्ट्रार, सिनियर रजिष्ट्रार, जुनियर कन्सल्टेन्ट, सिनियर कन्सल्टेन्ट तथा डेपुटी डाइरेक्टरका रुपमा काम गरिन् । उनी ०६६ सालमा प्रसूति गृहको निर्देशकमा नियुक्त भएकी थिइन् । ०६९ सालमा प्रसूति गृहबाट अवकाश पाएकी उनी त्यसको चार वर्षपछि प्रसूति गृह विकास बोर्डको अध्यक्ष नियुक्त भइन् र आफ्नो कार्यकाल सफलतापूर्वक व्यतित गरिन् ।
डा. लताले जसलोक हस्पिटल मुम्बईबाट इन्डोस्कोपी सर्जरीमा विशेषज्ञता हासिल गर्नुका साथै थाई कलेज अफ अब्स्टे«टिक्स एण्ड गाइनाकोलोजीमा डिप्लोमा, जर्मनीबाट इन्डोस्कोपी सर्जरी एण्ड गाइनाकोलोजीमा थप विशेषज्ञता हासिल गरेकी छिन् । त्यसबाहेक, उनले बंगलादेशको ढाका विश्वविद्यालयबाट स्त्री तथा प्रसूति रोग विषयमा डिप्लोमा समेत गरेकी छिन् ।
समस्याको बदलिँदो रुप
पछिल्लो समय विभिन्न कारणले स्त्री रोगबाट पीडित बिरामीहरुको संख्या बढिरहेको डा. लता बताउँछिन् । आधुनिक जीवनशैलीसँगै पार्टनरहरु बफादार नहुँदा यौनजन्य रोगको शिकार हुने गरेको उनको भनाइ छ ।
‘मकहाँ आउने विरामीमध्ये झण्डै ५० प्रतिशतमा सेक्सुअल्ली ट्रान्समिटेड डिजिज (यौनसम्वन्धबाट सर्ने रोग)को समस्या हुन्छ । यो समस्या भएमा योनी चिलाउने, सेतो पानी बग्ने गर्छ । समयमै उपचार नभएमा यो रोग बिग्रिएर पेल्भिक इन्फ्लामेसन भई यौनजन्य रोगको संक्रमण हुन सक्छ ।’
त्यसबाहेक, पिसाब नलीको संक्रमण, पाठेघरको मुखमा घाउ, पाठेघरको मुखको क्यान्सरजस्ता समस्या लिएर आउने विरामीको संख्या पनि उच्च हुने गरेको उनको भनाइ छ ।
जनचेतना बढ्दै जाँदा पछिल्लो समयमा स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, पाठेघर खस्ने समस्या लिएर आउने विरामीको संख्या भने कम भइरहेको डा. लता बताउँछिन् । तर, हार्मोनसम्बन्धी गडबडी, पाठेघरको क्यान्सर, मासु बढेर पाठेघरबाट रगत बग्ने समस्या लिएर आउने विरामीको संख्या बढेको उनले जानकारी दिइन् ।
‘यौनजन्य समस्या बढ्नुमा पार्टनर बफादार नहुनु वा एकभन्दा बढीसित यौनसम्पर्क गर्नु नै मुख्य कारण हो,’ उनले भनिन्, ‘आजकलका कतिपय पार्टनर वफादार छैनन् । पुरुष वा स्त्रीमध्ये एक जना पोलीगेमीभयो भने मात्र यो संक्रमण एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ ।’ एकपटक यो संक्रमण भएमा बारम्बार दोहोरिने उनको भनाइ छ ।
बेलामै उपचार गरेर तथा यौनाङ्गको सरसफाइमा उचित ध्यान दिएर पनि यो समस्यालाई कम गर्न सकिने डा. लता बताउँछिन् ।
बिरामीको हिस्ट्री महत्वपूर्ण
पुरानो पुस्ताले विश्वास गरेकी तपाईंलाई नयाँ पुस्ताका विरामीले कसरी लिन्छन् त भन्ने प्रश्नमा उनी भन्छिन्, ‘मैले वि.सं. ०३४ सालमा एमबीबीएस पास गर्दा त्यसबेला नेपालमा अल्ट्रासाउण्डको समेत सुविधा थिएन । जसले गर्दा रोगको पहिचान गर्न विरामीको हिस्ट्री लिनुपर्ने र अन्य सबै जाँच गर्नुपर्ने हुन्थ्यो ।’
विकसित प्रविधिका कारण अहिलेका चिकित्सकहरु विरामीको हिस्ट्री लिनमा भन्दा मेसिनमा केन्द्रित हुँदै गएको डा. लताको अनुभव छ ।
‘कुनै पनि विरामीको सही रोग पत्ता लगाउन उनीहरुको हिस्ट्री लिएर काउन्सिलिङ गर्नु आवश्यक छ,’ उनले भनिन् ।
मानिसहरुमा देखापरेको नयाँ–नयाँ समस्याका कारण पनि आफूलाई अपडेट गर्नु नै अहिलेको मुख्य चुनौती रहेको डा. लता बताउँछिन् ।
उनी भन्छिन्, ‘पहिले–पहिले पाठेघरको मुखको क्यान्सर, पाठेघर खस्ने समस्या, स्तन क्यान्सर मात्र महिलाहरुको प्रमुख समस्याको रुपमा देखिन्थ्यो भने अहिले यौनजन्य रोगको संक्रमण, असामान्य रक्तश्राव, हार्मोनको गडबडीका कारण हुने पाठेघरको समस्या धेरै देखिन थालेको छ ।
यस्ता रोगको पहिचान गरी सही उपचार गर्नका लागि पनि पछिल्लो समय निम्तिरहेको रोग तथा त्यसको उपचार पद्धतिबारे आफूलाई अपडेट गराउन जरुरी रहेको उनको भनाइ छ ।
उनी भन्छिन्, ‘हामी पुराना हौं, हामीले त जे गरे पनि चल्छ भन्ने हो भने विरामीलाई राम्रो सेवा दिन सक्दैनौं ।’
नबिर्सने दुई बिरामी
करिब १५ वर्ष अघिको कुरा हो । डा. लता निजी क्लिनिकमा एक विरामीको नियमित जाँचका लागि आउँथिन् । उच्च रक्तचापको समस्याबाट ग्रसित ती विरामीको पहिलो डेलीभरी पनि उनले नै गरेकी थिइन् । त्यसको करिब चार वर्षपछि ती महिलाले दोश्रो पटक गर्भधारण गरेकी थिइन् ।
उनको गर्भमा जुम्ल्याहा शिशु देखियो । जसले गर्दा डा. लता ती महिलाको प्रसूति शल्यक्रियाको लागि दिएको समयभन्दा करिब तीन हप्तापछि गर्ने योजनामा थिइन् ।
‘एक दिन उनलाई व्यथा लागेझैं भयो । त्यसबेला म प्रसूति गृहमा नै ड्युटीमा थिएँ । ड्युटीमा छँदै शल्यक्रिया गरेर बच्चा निकाल्ने सोचिरहेको हँुदा मैले त्यस्तो केही होला भन्ने सोचेकी पनि थिइनँ,’ लता भन्छिन्, ‘मेरो साथीले शल्यक्रिया गरेर बच्चा निकाल्ने भन्दाभन्दै पहिल्यै अत्यधिक रक्तस्राव भयो । हेर्दाहेदै झण्डै चार लिटर रगत बगेर गयो । त्यसपछि साथीले मलाई बोलायो । म पनि गएँ । मैले पनि सक्दो कोशिश गरेँ । त्यसका बाबजुद रगत नरोकिएपछि सिनियरलाई पनि बोलाएँ । हामी सबैको प्रयासका बाबजुद ती महिलाको मृत्यु भयो ।’
त्यसले उनलाई निकै दिक्दार महसुस गरायो । करिब एक हप्तासम्म त उनलाई खान पनि रुचेन । आफैं पनि आमा भएको हुनाले त्यसबेला ती बच्चाहरु सम्झेरै पीडा भएको उनी बताउँछिन् ।
पछि थाहा भयो, ती महिलाको साल पाठेघरको भित्रभित्रै पसेको रहेछ । जसले गर्दा ती महिलाको रक्तश्राव भएको रहेछ ।
‘त्यो साल निकाल्नै नहुने रहेछ । तर थाहा नभएर उक्त साल निकाल्दा उनको अत्यधिक रक्तश्राव भएर मृत्यु भएको रहेछ,’ उनले भनिन् ।
पुतलीसडकमा क्यापिटल अस्पताल निर्माण भएको करिब ५–६ महिनापछि त्यस्तै घटना दोहोरियो । दोश्रो पटक गर्भवती भएकी एक महिलाको करिब आठ महिनापछि हल्का सुरु रक्तश्राव भयो । ती महिलाको पहिलो बच्चा क्यापिटल हस्पिटलमै सकुशल जन्मेकाले दोश्रो बच्चा पनि सोही हस्पिटलमा जन्माउन चाहेकी थिइन् ।
डा. लताले ती महिलालाई अस्पताल भर्ना गरिन् । भर्ना हुदाँसम्म पनि हल्का रक्तश्राव थियो । पहिलेको घटना सम्झेर उनी झसंग भइन् । उनले ती महिलाको तुरुन्तै अल्ट्रासाउण्ड गरिन् । अल्ट्रासाउण्ड गर्दा थाहा भयो, ती महिलाको साल पनि पाठेघरभित्र पसेको रहेछ ।
विगतको घटनाले उनलाई पाठ सिकाएको थियो । यसपटक भने उनले डेलीभरीमा कुनै जोखिम मोलिनन् । शल्यक्रिया गर्नुअघि नै दश पिन्ट रगत जम्मा गर्न निर्देशन दिइन् । त्यस्तै, अपरेसनका क्रममा आइपर्ने जटिलतालाई ध्यानमा राखेर ३/४ जना सिनियर चिकित्सकलाई सहायताका लागि ‘स्ट्याण्डबाइ’ राखिन् । नभन्दै शल्यक्रियाका क्रममा ती महिलामा पनि पहिलेको जस्तै समस्या देखियो । साल निकाल्न नपाउँदै उनको पनि अत्यधिक रक्तश्राव भयो ।
लतालाई यो पटक समस्या थाहा पाउन खासै गाह्रो भएन । उनले तुरुन्तै महिलाको पाठेघर नै झिकिदिइन् । पाठेघर नै निकालेका कारण महिलाको शरीरबाट रगत जान पाएन । उनी खतरामुक्त भइन् । ती महिला अहिले पनि डा. लताको नियमित सम्पर्कमा छिन् ।
‘यी दुई घटना म कहिल्यै बिर्सिन सक्दिनँ । एउटामा समस्या थाहा नभएर विरामीको ज्यान गयो । अर्कोमा विरामीको ज्यान बच्यो,’ उनले भनिन् ।
शल्यक्रिया हैन, सामान्य प्रसूति
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. लताले ४० वर्षको अवधीमा हजारौं बच्चाहरुलाई यस धर्तीमा उतारिसकेकी छिन् । त्यसमध्ये कयौं सामान्य प्रसूतिद्वारा जन्मिए भने कयौं शल्यक्रियाद्वारा । यसरी बच्चालाई संसारमा ल्याउँदा मिल्ने खुशी उनी शब्दमा वर्णन गर्न सक्दिनन् ।
भन्छिन्, ‘आफ्नो त आफ्नो भइहाल्यो, अरुको बच्चा आमाको पेटबाट निकालेपछि जति आनन्द महसुस हुन्छ, त्यसलाई शब्दले वर्णन गर्न नसकिँदो रहेछ ।’
उनी अहिलेका महिलाहरुलाई सकभर शल्यक्रियामार्फतभन्दा सामान्य प्रसूतिबाटै बच्चा जन्माउनुपर्ने सुझाव दिन्छिन् ।
‘शल्यक्रियाद्वारा बच्चा जन्माउँदा स्वास्थ्यमा विभिन्न समस्या आउन सक्छन् । जोखिम पनि हुन्छ । फेरि, एकपटक शल्यक्रियाद्वारा बच्चा जन्माए अर्को बच्चा जन्माउन पनि शल्यक्रिया नै गर्नुपर्छ,’ उनी भन्छिन् ।
एउटा गुनासो
उपचार गर्दागर्दै बिरामीको मृत्यु भएमा अस्पतालमा तोडफोड गर्ने, चिकित्सकलाई आरोपित गर्ने प्रवृत्ति बढ्दै गएको छ । मुलुकी संहितामा पनि लापरवाही गर्ने चिकित्सकलाई जेल पठाउने व्यवस्था गरिएको छ ।
तर डा. लताको भनाइ छ, कुनै पनि चिकित्सकले जानाजान कसैको पनि ज्यानमा खेलवाड गर्दैन । प्रयास गर्दागर्दै सफल नहुनु एउटा कुरा हो ।
उनी भन्छिन्, ‘उपचारका क्रममा मैले यस्ता धेरै विरामीहरुलाई बचाएको छुँ, जो अन्तिम अवस्थामा पुगिसकेका थिए । त्यस्ता विरामीलाई चिकित्सकले यसरी बचायो भनेर कसैले भन्दैन । तर कहिलेकाहीँ विभिन्न कोशिसका बाबजुद बिरामी मर्यो भने चाहिँ डाक्टरमाथि दोष थोपरिन्छ ।’
from Online Khabar http://bit.ly/2U4KFP4
No comments:
Post a Comment