काभ्रेमा ३२ लाभग्राहीले फिर्ता गरे पुनर्निर्माणको रकम - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, January 20, 2019

काभ्रेमा ३२ लाभग्राहीले फिर्ता गरे पुनर्निर्माणको रकम

६ माघ, बनेपा । भूकम्पपछि क्षति भएका निजी आवास पुन:निर्माणका लागि सरकारी अनुदान लिएर घर नबनाई रकम फिर्ता गर्नेको सङ्ख्या काभ्रेमा ३२ पुगेको छ ।

पुनर्निर्माण प्राधिकरणले निजी आवास निर्माणका लागि सम्झौता गरी पहिलो किस्ता रकम लिएर घर निर्माण नगर्नेले गत पुस १५ गते भित्रमा रकम फिर्ता गर्न सकिने सार्वजनिक सूचना जारी गरेपछि ३२ जनाले रकम फिर्ता गरेको जिल्ला आयोजना कार्यान्वयन इकाई काभ्रेपलाञ्चोकका प्रमुख लोकनाथ रेग्मीले बताए ।

‘प्राधिकरणले तोकिएको समयसीमा समाप्त भए पनि घर निर्माण गर्न नसक्नेले अझै पनि रकम फिर्ता गर्न चाहेमा गर्न सकिन्छ’ रेग्मीले भने ‘जसरी हुन्छ वास्तविक भूकम्प लाभग्राहीले कि त घर बनाउनु पर्‍यो, कि त रकम फिर्ता गर्नुपर्‍यो ।’

रकम लिने र घर निर्माण नगर्ने जो कसैको मनसाय भए पनि रकम असुल गरिने अभियानमा रहेको उनले बताए । त्यसको लागि पहिलो किस्ता लिएर घर नबनाउने लाभग्राहीबाट रकम फिर्ता गराई नाम लाभग्राहीको सूचीबाट हटाइने र त्यसको प्रभाकारी कार्यान्वयनको लागि अनुगमन प्रक्रिया तीव्र बनाइने उनले जानकारी दिए ।

पुनःनिर्माणको अभियानसँगै बाँकी रहेका मौलिक घरलाई प्रवलिकरण गर्न प्रोत्साहन गर्ने र सो प्रयास देशैभर गर्न सकेमा भूकम्पीय जोखिम पनि कम हुने तथा मौलिकबस्ती पनि जोगाइ राख्न सकिने उनको भनाइ छ । साथै एकीकृत बस्ती विकासमा जोड दिने र यसमा स्थानीय तहलाई अधिकार दिने तथा तेस्रो किस्ता लिनेलाई निर्माण सम्पन्न प्रमाणपत्र दिनुअघि प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न लगाउने लगायतको प्रक्रियामा रहेको उनले बताए ।

निजी आवास पुनःनिर्माण सम्बन्धी सूचना तथा जानकारी सम्बन्धित पक्ष समक्ष समयमा नै नपुग्दा स्थानीय निकाय, लाभग्राही सबैमा कतिपय अवस्थामा अन्योल रहेको पाइएकोसमेत उनले जानकारी दिए ।

काभ्रेपलाञ्चोकमा निजी आवास पुनःनिर्माणको लाभग्राहीको लागि ८२ हजार ८३३ जना लाभग्राहीको पहिचान भएकोमा अनुदान सम्झौता गरेर पहिलो किस्ता लिनेको सङ्ख्या ७२ हजार १७ छ ।



from Online Khabar http://bit.ly/2CyYUok

No comments:

Post a Comment

Post Bottom Ad

Pages