काठमाडौंमा ५ हजार साना उद्योग दर्ता - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, April 23, 2019

काठमाडौंमा ५ हजार साना उद्योग दर्ता

१० वैशाख, काठमाडौं । देशको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको साना तथा घरेलु उद्योग दर्ताको क्रम बढ्दो छ । सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई अगाडि बढाएसँगै काठमाडौँ जिल्लामा पनि साना तथा घरेलु उद्योग दर्ता गर्ने क्रम बढेको हो ।

घरेलु तथा साना उद्योग कार्यालय काठमाडौंका अनुसार चालू आर्थिक वर्षमा मात्र चार हजार ७०७ नयाँ उद्योग दर्ताका लागि आवेदन परेको छ । कार्यालयका सूचना अधिकारी सुनिता तुम्बाहाम्फे मुलुकमा लगानीमैत्री वातावरण बन्दै गएकाले साना तथा घरेलु उद्योग दर्ता हुने क्रम बढेको जानकारी दिइन् ।

संविधान निर्माणसँगै बनेको स्थायी सरकारसँगै देशमा लगानीको वातावरण बनेको र उद्योग दर्ता गर्ने क्रम बढेको उनको भनाइ छ । गत वर्षको तुलनामा यस वर्ष उद्योग दर्ता गर्ने क्रम बढेको तुम्बाहाम्फेले बताइन् ।

साना तथा घरेलु कार्यालय काठमाडौंका अनुसार पशुपालन, कृषि, होटल, रेष्टुरेन्ट, ब्यूटीपार्लर, बेकरी, ग्रील उद्योगलगायतका क्षेत्रमा बढी उद्योग दर्ता भएका छन् । ‘पछिल्लो समय सबै सवारीसाधनलाई कम्पनीमा जान सरकारले यातायात व्यवसायीलाई परिपत्र गरेसँगै ट्याक्सीसमेत उद्योगमा दर्ता हुन आएका छन्’, सूचना अधिकारी तुम्बाहाम्फेले जानकारी दिइन् ।

पछिल्लो समय काठमाडौँभित्रका नगरपालिका रहेका स्थानमा साना तथा घरेलु उद्योग धेरै दर्ता हुँदै आएको कार्यालयले जनाएको छ जसले गर्दा त्यसभित्रका युवामा उद्योगी बन्न हौसला मिलेको सूचना अधिकारी तुम्बाहाम्फेको भनाइ छ । कार्यालयले साउन, भदौ, असोज र कात्तिकमा एक हजार ४५, मङ्सिरमा ६३७, पुसमा एक हजार १७०, माघमा ४९३, फागुनमा ५६९ र चैतमा ७९३ उद्योग दर्ता गरेको छ ।

कार्यालयले रु चार अर्ब ६२ करोड ६६ लाख ७४ हजार बराबरको उद्योग दर्ता गरेको जनाएको छ । जसमध्ये साउन, भदौ, असोज र कात्तिकमा रु ६१ करोड ५७ लाख, मङ्सिरमा रु २८ करोड ७४ लाख ५० हजार, पुसमा रु ४६ करोड १५ लाख, माघमा रु २० करोड २२ लाख, फागुनमा रु एक अर्ब १७ करोड ९४ लाख र चैतमा रु १८ करोड ८० लाख ३८ हजार बराबरको उद्योग दर्ता भएका हुन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष एवं उद्योगी नरेश कटुवाल सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न घरेलु तथा साना उद्योगको विकास गर्नुपर्ने बताउँछन् । ‘सरकार ठूला उद्योगी तथा व्यवसायीको पहुँचमा रहेकाले साना तथा मझौला उद्योगी पछाडि परेका छन्’ उनी भन्छन्। सरकारले राखेको सुखी नेपालीको लक्ष्य पूरा गर्न घरेलु तथा साना उद्योगीलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

सरकारले १० करोडभन्दा कम लगानी भएका उद्योगलाई साना तथा घरेलु उद्योगका रूपमा दर्ता गर्दै आएको छ । विदेशी लगानीका ठूला, मझौला तथा साना उद्योग उद्योग विभागबाट दर्ता हुँदै आए पनि स्वदेशी उद्योग भने साना तथा घरेलु उद्योग कार्यालयबाट दर्ता गरिँदै आएको छ ।

हाल साना तथा घरेलु उद्योग प्रदेश सरकारअन्तर्गत जिल्ला कार्यालयबाट दर्ता हुने गरेको छ । घरेलु तथा साना उद्योग कार्यालयले महिला उद्यमीलाई दर्तादेखि व्यवसाय गर्न सहुलियत प्रदान गर्दै आएको जनाएको छ ।



from Online Khabar http://bit.ly/2VZj7Mo

No comments:

Post a Comment

Post Bottom Ad

Pages