भूकम्पमा खोसिएको माझी बस्तीको खुसी नयाँ वर्षमा फर्कियो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, April 20, 2019

भूकम्पमा खोसिएको माझी बस्तीको खुसी नयाँ वर्षमा फर्कियो

७ वैशाख, सिन्धुपाल्चोक । तीन वर्षसम्म जस्ताको टहरोमा बस्दै आएकी इन्द्रावती गाउँपालिका ११ बिसदेउटारकी चमेली माझीको परिवार अहिले पक्की घरमा बस्न थालेको छ । भूकम्पपछि अस्थायी टहरोमा दुःखसँग बस्दै आएको उनको परिवार पक्की घरमा बस्न पाउँदा फुरुङ छ ।

२०७२ वैशाखको भूकम्पसँगै गुमेको माझी समुदायको खुसी तीन वर्षपछि बनेको नयाँ घरसँगै फर्किएको छ ।

चमेली जस्तै बिसदेउटारका कालीबहादुर माझीले पनि नयाँ घर पाएपछि लिपपोत गरेर घरलाई चिटिक्क बनाएका छन् । केही दिनदेखि नयाँ घरमा बस्न थालेको छ उनको परिवार पनि । नयाँ घरमा पुरानो घरबाट ल्याएका सामनहरु मिलाउन व्यस्त उनले भने, ‘भूकम्पपछि त जस्ताको टहरोमा बस्दा निकै दुःख पाइयो, अब भने सजिलो भएको छ ।’

चमेली र कालीबहादुर मात्रै होइन इन्द्रावती गाउँपालिका-११ बिसदेउटारका ५६ माझी समुदायले नयाँ वर्षको सुरुवातमै भूकम्प प्रतिरोधी चिटिक्क परेको नयाँ घर पाएका छन् ।

यो पनि पढ्नुहोस श्वेताको पहलमा ठडियो माझी वस्ती

अल्पसंख्यक माझी समुदायको बसोबास रहेको बिसदेउटारमा उस्तै आकार र उस्तै रंगका ५६ घर निर्माण भएका छन् ।

२०७२ सालको भूकम्पका बिसदेउटार बस्तीका १२ जनाले ज्यान गुमाएको स्मरण गर्दै वडा अध्यक्ष मने माझीले भने, ‘भूकम्पमा सबै सखाप नै भयो, तर सबैको सहयोगमा यती छिट्टै बस्ती उठ्यो ।’

तीनकोठे घरको बीचमा भान्सा, शौचालय अनि शौचालयबाट निस्केको मानव मलमुत्रबाट गोबरग्याँस प्लान्ट निर्माण भइरहेको छ । भूकम्पअघि कुनै पनि घरमा शौचालय थिएन अहिले निर्माणको ५६ घरमा छुट्टाछुट्टै शौचालय छ ।

‘निर्माण सामग्री संस्थाले नै दियो निर्माण भने हामीले नै गरेका हौं,’ स्थानीय बस्ती निर्माण समितिका अध्यक्ष नारायण माझीले भने ।

नजिकै इन्द्रावती र झ्याडी खोला भएपनि बस्तीमा पानीको समस्या छ । स्थानीय सरकार र संघ संस्थाको सहयोगमा पानी लिफ्टिङ गरेर गाउँमा पानी ल्याउने योजना सुरु भएको माझीले बताए ।

भूकम्पपछि विसदेउटारमा राहात सामग्री लिएर पहिलो पटक महिला पुनस्थापना केन्द्र नेपाल (ओरेक) पुगेको थियो । ‘भूकम्पपछि लामो समयसम्म पनि माझी बस्तीमा कसैले सहयोग गरेका रहेनछन् हामी पहिलो पटक राहात सामग्री बोकेर जाँदा माझी समुदाय खुसी भए,’ ओरेक नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेले स्मरण गरे, ‘राहात सामग्री वितरण पछि भूकम्पले लडाएको माझी बस्ती निर्माणका लागि स्थानीयले आग्रह गर्नुभयो, त्यसपछि हामीले एइन लक्जेम्बरको सहयोगमा माझी बस्ती निर्माण गर्ने निर्णय गरेका थियौं ।’

२०७३ जेठ ३१ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग बिसदेउटारमा बस्ती निर्माण गर्ने सम्झौतापछि २२ महिनामा नै ५६ घर निर्माण सम्पन्न भएको ओरेक नेपालले जानकारी दिएको छ । ५६ घर निर्माणमा २ करोड ८७ लाख ९७ हजार ५३४ रुपियाँ खर्च गरेको र प्रतिघर लागत ५ लाख १४ हजार २४१ परेको कार्यकारी निर्देशक न्यौपाने बताउँछन् ।

भुकम्पमा ढलेको बस्ती मात्रै होइन ओरेक नेपालले बिसदेउटारमा जीविकोपार्जनका कार्यक्रमहरु पनि सँगै अघि बढाएको छ । स्थानीयले त्यसमा साथ दिएका छन् ।

गाउँपालिका अब बिसदेउटार माझी बस्तीमा होमस्टे बनाउनेतर्फ अग्रसर छ । ‘गाउँमा आकर्षित गर्नका लागि गाउँपालिकाले होमस्टे अभियान सुरु गर्ने छ,’ गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले भने ।

माझी समुदायले आफ्नो घर मात्रै निर्माण गरेनन् घरसँगै केही आम्दानी पनि गाउँमा नै बसेर गर्न सफल भएका छन् । ‘हामीले आफ्नो घर पनि बनायौं, पैसा पनि कमायौं,’ स्थानीय नरे माझीले भने । भूकम्प प्रतिरोधी घर निर्माणका लागि माझी समुदायलाई सिकर्मी, डकर्मी तालिम दिएपछि महिला-पुरुष मिलेर आफ्नो घर आफैंले बनाएका थिए ।

ओरेक नेपालले माझी समुदायलाई विद्युत जडान, सुधारिएको चुलो निर्माण लगायतका सीप पनि सँगै दिएको थियो । लैगिक हिंसा विरुद्ध सम्बन्धी कार्यक्रम, प्रजनन स्वास्थ्य, महिला स्वास्थ्य लगायतका क्षेत्रमा पनि माझी समुदायका महिलाहरुलाई विभिन्न कार्यक्रमहरु गरेको ओरेकले जानकारी दिएको छ ।

भूकम्पको तीन वर्षपछि नयाँ घर पाएका माझी समुदायमा बस्ती हस्तान्तरणका दिन सबैमा खुसी छाएको थियो । बस्ती हस्तान्तरणमा पुगेका सासंद सहितका टोलीलाई स्थानीयले भव्य स्वागत गरे । पूर्वकानुन मन्त्री शेरबहादुर तामाङ, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङ, इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ, ओरेक नेपालका प्रतिनिधिहरु बिसदेउटार पुगेका थिए ।

घर अवलोकन गरेपछि पूर्वकानुनमन्त्री समेत रहेका तामाङले बस्तीमा अब अन्य संरचनाहरुको निर्माणमा आफूले सहयोग गर्ने बचन दिए । अब यो बस्तीमा होमस्टे सञ्चालन गरेर आन्तरिक पर्यटकहरुलाई ल्याउनु पर्छ र त्यसका लागि पूर्वाधार निर्माण गर्नुपर्छ,’ तामाङले भने ।

स्थानीय सरकारको तर्फबाट माझी बस्तीमा खानेपानी, शिक्षा, सडक लगायतको विकासका लागि गाउँपालिकाले सहयोग गर्ने इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले बताए । बस्तीको साँचो स्थानीय बस्ती निर्माण समितिका अध्यक्ष नारायण माझीलाई तामाङले हस्तान्तरण गरेका थिए ।



from Online Khabar http://bit.ly/2DoWLwN

No comments:

Post a Comment

Post Bottom Ad

Pages