फिल्म समीक्षाः वेस्वादको दाल भात तरकारी - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, May 7, 2019

फिल्म समीक्षाः वेस्वादको दाल भात तरकारी

तथ्यांकले भन्छ, दिनहुँ १५ सय नेपाली युवा श्रम भिषा च्यापेर त्रिभूवन विमानस्थलबाट विदेशिन्छन् । यही लस्करमा हुन्छन्, स्टुडेन्ट भिषा र भिजिट भिषा बोक्नेहरु पनि ।

राष्ट्रिय अर्थतन्त्रले भन्छ, विदेशीएका नेपालीबाट बाषिर्क अर्बौं रुपैयाँ रेमिट्यान्स प्राप्त हुन्छ । यसले मुलुकको अर्थतन्त्रमा ठोस योगदान पुर्‍याइरहेको छ ।

यी दुई तथ्यांकको गठजोठ के हो भने, विदेशको श्रम बजारले हाम्रो रहर, बाध्यता दुबै समाहित गरेको छ । कोही रहरले तानिएर त, कोही बाध्यताले धकेलिएर समुन्द्रपारका मुलुक पुगेका छन् । यसरी विदेशिनेमध्ये एकथरी छन्, भिजिट भिषाधारी । निश्चित अवधीका लागि ‘भ्रमण’मा गएका कति युवा र्फकदैनन् । त्यसैले त ‘भिजिट भिषा’ काखीमा च्यापेर विदेश जानेहरु सधै शंसयको घेरामा हुन्छन् ।

युरोप-अमेरिकाको वैभवले लोभ्याएर पनि थुप्रै युवाले घरको संघारसँग दुरी बढाउँछन् । पढ्ने मेलोमेसोमा होस् वा घुम्ने वहानामा, उनीहरु घर-आँगन त्याग्छन् ।

विदेशप्रतिको यो आशक्ति र आकर्षणको एउटा पाटो भयानक कुरुप छ । यसले पारिवारिक विखण्डनदेखि घरेलु श्रमशक्तिमा ह्रास पुर्‍याइरहेको छ । गाउँघरमा लास बोक्ने मलामी छैनन् । बाँझो फुटाउने पाखुरा छैनन् । सिपालु र दक्ष जनशक्ति छैनन् । रेमिट्यान्सको घनचक्करले राज्यलाई रुखो बनाउँदैछ ।

विल्सन विक्रम राइदेखि आँचल शर्मासम्मलाई किन चलचित्रमा समेटियो भनेर अर्थ खोज्नुपर्ने हुन्छ । संभवत धेरै कलाकारको टेकोमा दर्शक हँसाउने चेष्टा गर्नु पनि एउटा भूल हो ।

विदेशप्रतिको आकर्षण र त्यसले पुर्‍याइरहेको सामाजिक/मानविय क्षयिकरणको यही मियोमा मह संचारले निर्माण गरेको चलचित्र हो, दाल भात तरकारी ।

नेपालको हास्य कलाकारितामा अग्रपक्तिका धावक मानिन्छन्, महलाई । यसर्थ उनीहरुले निर्माण गरेको चलचित्रप्रति अपेक्षा हुनु स्वभाविक हो । चलचित्रलाई मह क्लबकै किरण केसीले निर्माण गरेका हुन् भने उनका छोरो सुदन निर्देशक ।

हास्य जनराको यो चलचित्रले नेपालीको विदेश मोह र त्यसको सामाजिक प्रभावलाई कति फुलबुट्टा भरेर पस्किएको छ त ?

यस्तो छ कथा ?

रामहरि (हरिवंश आचार्य) पत्नी उर्मिला (निरुता सिंह)को उकसाहटमा लागेर अमेरिका जाने र उतै सुख-भोग गर्ने लालसा प्रकट भएको छ । उनीहरुको यो लालसामा छोरा, छोराकी गर्लप|mेन्ड र ससुरा समेतले र्‍याल चुहाएका छन् । सबै एकमत छन् । यहाँसम्म कुनै द्वन्द्व छैन ।

डिभी भरेर विदेश जाने वैधानिक बाटो बटारिएपछि उनीहरु कथित धर्मगुरुको शरणमा पुग्छन् । हुँदाछँदाको घर महंगो ब्याजमा लोनमा राख्छन् र एक करोड रुपैयाँ धर्मगुरुलाई बुझाउँछन् । धर्मगुरुले भनेका छन्, ‘भिजिट भिषामा अमेरिका पुर्‍याएरै छाड्छु ।’

तर, अर्को दिन ति धर्मगुरु पैसा र पासपोर्ट कुम्ल्याएर अलाप हुन्छन् । त्यसपछि के हुन्छ ? २ घण्टा लामो चलचित्रले किस्ताबन्दीमा रहस्य खोतल्छ ।

के छ राम्रो ?

पारिवारिक आकंक्षा । विदेश मोह । डिभीको घनचक्कर । दलालको फन्दा । राजनीतिक स्वार्थ र दाउपेच । डनगिरी  । तथाकथित धर्मगुरु ।

विषय गंभीर छ । पस्कने शैली मनोरञ्जात्मक छ ।

चलचित्रले उठाउन खोजेको मुद्दा आयतित र नक्कली होइन । यसलाई हास्य लेपन दिएर पस्किएकाले महका प्रशंसकलाई सुपाच्य लाग्नसक्छ ।

चलचित्रले वर्तमान समाजको अनुहार केही हदसम्म उदाङ्गो बनाइदिएको छ । वैदेशिक मोह र त्यसले निम्त्याउने संकट यसको मूल मर्म हो । चलचित्रले स्वदेशको दाल भात तरकारी छाडेर विदेश जानेहरुको मोहभंग गरिदिन सक्छ ।

किन चिप्लियो ?

चलचित्रको मेरुदण्ड नै कमजोर भयो । हरिवंश आचार्यको परिपक्क हातले लेखेको कथा र पटकथा फितलो मात्र छैन, झर्कोलाग्दो पनि छ । हुन त उनले यसलाई ‘रंगमञ्चको ढाँचामा तयार गरेको र पात्रहरु केही लाउड लाग्नसक्ने’ रक्षात्मक जवाफ दिदै आएका छन् । यद्यपी एउटै घरको कोठाभित्र खुम्चिएको कथा पट्यारलाग्दो छ, भलै यसमा उनले ‘नौलो प्रयोग’ गरेका हुन् ।

चलचित्रलाई सुदन केसीले निर्देशन गरेको भनिएपनि यसमा उनको निर्देशकिय शिल्प कहीँ कतै फेला पर्दैन । बरु जहाँपनि, जहिले पनि हरिवंश आचार्यको हस्तक्षेप महशुस हुन्छ । चलचित्रको मूल कथा विदेश मोह, त्यसले ल्याउने उतार-चढाव र आफ्नै सामाजिक मूल्य हो । तर, यसको प्रवाह घरेलु झगडामै अल्झिएको छ ।

विदेशी मोहको निहुँमा बुढाबुढीबीच हुने ‘टम एन्ड जेरी’ शैलीको घर-झगडाबाट बाहिर निस्कन नसक्दा दर्शकले फिका हाँसो हास्नु सिवाय केही रोमाञ्चकता अनुभूत गर्दैनन् ।

दर्शक हँसाउने चक्करमा दम्पतीबीच हुने झगडा नाटकिय र टिठलाग्दो बनेको छ । त्यसपछि जोडिन आउने पात्र र घटनाक्रम पनि पत्यारिलो लाग्दैन । चलचित्रमा यति धेरै पात्रको थुप्रो लगाइएको छ कि, जसको आवश्यक्ता दुई-चार संवाद बोलेर हँसाउन बाहेक अरु छैन । विल्सन विक्रम राइदेखि आँचल शर्मासम्मलाई किन चलचित्रमा समेटियो भनेर अर्थ खोज्नुपर्ने हुन्छ । संभवत धेरै कलाकारको टेकोमा दर्शक हँसाउने चेष्टा गर्नु पनि एउटा भूल हो ।

परिवेश, परिस्थितीबाट नभई कटाक्ष मिश्रति संवादबाट हसाउने चेष्टा गरिएको छ । फगत हँसाउनकै लागि मात्र सम्पूर्ण तागत खर्चिएको छ । त्यही चक्करले ‘दाल भात तरकारी’ दर्शकको मेनुमा वेस्वादको खान्की बन्न पुगेको छ ।

चलचित्र- दाल भात तरकारी

निर्देशक- सुदन केसी

निर्माण- मह संचार

कलाकार- हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, राजाराम पौडेल आदि ।

अवधी- २ घण्टा २ मिनेट

जनरा- डार्क कमेडी



from Online Khabar http://bit.ly/2H6582j

No comments:

Post a Comment

Post Bottom Ad

Pages