बजेटले बिराटनगरका उद्योगी पनि खुशी, प्रभावकारी कार्यान्वयनमा जोड - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, May 30, 2019

बजेटले बिराटनगरका उद्योगी पनि खुशी, प्रभावकारी कार्यान्वयनमा जोड

१६ जेठ, बिराटनगर । आगामी आर्थिक वर्षका लागि सरकारले बुधबार ल्याएको बजेटबाट विराटनगरका व्यवसायीहरु पनि उत्साहित बनेका छन् । बजेटले स्वदेशी उत्पादनको प्रवर्द्धन र आत्मनिर्भर हुने अभियानलाई प्राथमिकता राखेको उनीहरुको बुझाइ छ ।

मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले बजेटमा पूर्वाधार क्षेत्रको विकासलाई मुख्य प्राथमिकतामा राख्नु स्वागतयोग्य भएको बताए । बिराटनगरसहित देशका विभिन्न स्थानका निजी क्षेत्रले उठाउँदै आएका केही मागहरु सम्वोधन भएकोमा उनले खुशी व्यक्त गरे ।

कच्चा पदार्थ र तयारी पदार्थ बीचको भन्सार दरको अन्तर बढाउनु र एण्टी डम्पिङ कर वृद्धिले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने धारणा पनि सारडाको छ ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे सरकारले उर्जा, कृषि र स्वास्थ्य क्षेत्रको बिकासलाई प्राथमिकतामा राखेको बताउँछन् । निजी क्षेत्रले राखेका मागहरुमध्ये केही सम्बोधन भएको उनले टिप्पणी गरे । समग्र प्रदेश १ र विराटनगरको सरोकारका विषयमा भने बजेटमा उल्लेख्य सम्बोधन नभएको उनको गुनासो छ ।

‘विराटनगर–किमाथाङका सडक, विराटनगर बिमानस्थल र औद्योगिक ग्राम स्थापना गर्ने विषयलाई बजेटले समेटेन,’ उनले भने, ‘यद्यपि, समग्रमा बजेट राम्रो छ । भौतिक पूर्वाधार केन्द्रीत बजेट पूर्ण कार्यान्यन भए सकारात्मक प्रभाव पर्नेछ ।’

जतिसुकै राम्रो बजेट भएपनि त्यसको कार्यान्वयन पक्ष दह्रो हुनुपर्ने घिमिरे बताउँछन् । वस्तु आयातमा भन्सार दर बृद्धि गरेर सरकारले स्वदेशी उद्योगहरुलाई आत्मनिर्भर बनाउने प्रयास गरेको उनको धारणा छ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ उपाध्यक्ष राजेन्द्र राउतले पनि सरकारले उत्पादन क्षेत्रलाई सम्बोधन गर्ने गरी बजेट विनियोजन गरेको प्रतिक्रिया दिए । आयातलाई प्रतिस्थापन गर्दै स्वदेशी उत्पादनको विकास गर्न केन्द्रीत बजेटले कृषि, उद्योग क्षेत्रलाई समेटेको उनले बताए ।

प्रदेश १ मा चिया क्षेत्रको विकासका लागि चिया अक्सन खोल्ने, विराटगरमा सभाहल निर्माण गर्ने, विमानस्थलको विकास, कृषि सामग्री ढुवानीमा सहुलियतजस्ता विषयले स्वदेशी उद्योग र उत्पादनलाई प्रोत्साहन गर्ने राउतको भनाइ छ । त्यस्तै बैदेशिक रोजगारीबाट आउँदा १०० ग्रामसम्म सुन लिएर आउन पाउने निर्णयले मध्यमवर्गीय जनतालाई राहत पुगेको उनले बताए ।

‘विगतमा झैं कनिका छरेजस्तो सानातिना आयोजनामा बजेट छर्किेने कामको अन्त्य भएको छ,’ राउतले नले भने, ‘तर उद्योगी–व्यवसायीहरुको हितका लागि भने अझै ठोस कुरा आउन सकेन ।’

उनले सरकारले स्वेदेशी कपडा उद्योगको प्रवद्र्धन गर्न विद्युत महसुलमा ५० प्रतिशत छुट, अल्लो, बाँस, कपासजस्ता कच्चा पदार्थको उत्पादनलाई प्रोत्साहित गर्ने नीतिलाई भने सकारात्मक भनेका छन् । त्यसैगरी बजेटमार्फत सरकारले त्यस्ता उद्यमीको लगानी सुरक्षित गर्ने गरी च्यालेन्ज फण्ड बनाउने घोषणालाई पनि सकारात्मक पक्षका रुपमा आफूले लिएको उनले बताए ।

मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दाडाले समग्रमा बजेट नेपालको विकासमा लक्षित भएको धारणा राखे । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नाराअनुसार नै बजेट ल्याएको आफूले पाएको बताए ।

‘सरकारले शिक्षा, स्वास्थ्य र पुर्वाधारमा बजेट केन्द्रित गरेको देखिन्छ,’ वरिष्ठ उपाध्यक्ष मुन्दाडाले भने, ‘स्वदेशी उत्पादनलाई प्रोत्साहनदेखि औद्योगिक विकासका लागि योगदान दिने कुरामा बजेटले समेटेको छ ।’

अर्थशास्त्री डा. अर्जुन बराल भने सरकारले सार्वजनिक गरेको बजेट बितरणमुखी देखिएको बताउँछन् । बजेट समग्रमा राम्रो आए पनि कर्मचारीको तलब, बृद्धभत्ता वृद्धिसहित सांसद विकास कोषमार्फत बजेटलाई वितरणमुखी बनाउन खोजिएको उनको भनाइ छ । बजेट वितरणमुखी हुँदा मुद्रास्फितिमा प्रभाव पार्न सक्ने उनले बताए ।



from Online Khabar http://bit.ly/2ETIcSH

No comments:

Post a Comment

Post Bottom Ad

Pages