बुद्ध जयन्तीकै दिन मन्दिरमा हजारौंको बली - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, May 18, 2019

बुद्ध जयन्तीकै दिन मन्दिरमा हजारौंको बली

४ जेठ, सिरहा । आज बुद्ध जयन्ती । अहिंसा र शान्तिका अग्रदूत गौतम बुद्धलाई स्मरण गर्ने दिन । तर, नेपालमै एक यस्तो ठाउँ छ, जहाँ बुद्ध जयन्तीकै दिन हजारौं पशुपंक्षीलाई बली दिइन्छ र रगतको खोलो बगाइन्छ ।

हो, प्रदेश २ को सिरहा जिल्लामा पर्ने राजदेवी मन्दिरमा बुद्ध जयन्तीकै दिन बली दिइन्छ । लहान बजारदेखि करिब ७ किलोमिटर उत्तरमा चुरेको छेउँमा छ, राजदेवीको मन्दिर । लहानकै ढोढनास्थित सानो डाँडामाथि रहेको यो मन्दिरमा प्रत्येक वर्ष बुद्ध जयन्तीकै दिन बोका, कुखुरा, हाँस, परेवासहित हजारौं पशुपंक्षीहरुको बली दिएर पूजा गरिन्छ ।

बुद्ध जयन्तीका दिन राजदेवी मन्दिरमा भव्य मेला लाग्ने गर्दछ । श्रद्धालुहरुको अत्यधिक चापका कारण यस दिन हिँडडुल गर्नसमेत समस्या हुन्छ ।

यस्तो छ किम्बदन्ती

यो मन्दिरमा बुद्ध जयन्तीकै दिन बली चढाउने चलन नयाँ होइन् । यहाँ १२५ वर्ष अघिदेखि नै बली चढाइँदै आएको जानकारहरु बताउँछन् । यहाँ गरिने हरेक भाकल पूरा हुने विश्वास गरिन्छ । भाकल पूरा भएको भन्दै श्रद्धालुहरु पशुको बली दिएर पूजा गर्छन् ।

मन्दिरमा अहिले पाँचौ पुस्ताका पूजारी छन् । पूजारी डम्बरबहादुर भट्ट भन्छन्, ‘यो मन्दिरप्रति श्रद्धालुहरुको विश्वास बढ्दै गएको छ ।’

राजदेवी माताले वैशाख पूर्णिमाका दिन आफ्नो मन्दिरमा बली चढाएमा सबैको फलिफाप हुने भनी सपनामा बताएपछि बली प्रथा शुरु भएको इतिहास सुनाउँछन् उनी ।

अहिले मन्दिर भएको ठाउँमा १२५ वर्ष अगाडि घनघोर जंगल र चरण क्षेत्र थियो । जंगलभन्दा केही टाढा चौधरी र भट्टहरुको परिवार बसोबास गर्दथे । उनीहरुले त्यो जंगलमा गाईबस्तुहरु चराउन लग्थे ।

तर प्रत्येक दिन एक-एक गाई हराउन थालेपछि गाउँलेहरु ठूला धामीको रुपमा रहेका दिलाराम भट्टकहाँ पुगे । ‘भट्टले त्यस स्थानमा गई तन्त्रसाधना गरेपछि राति सपनामा देवीले दर्शन दिई वैशाख पूर्णिमाकै दिनमा बली चढाएर भाकल गरी पूजा गर्ने हो भने सबै समस्या टर्ने बताएका थिए,’ पूजारी डम्बरबहादुरले भने, ‘देवीले सपनामा दिएको दर्शन र उनको भनाई अनुसार स्थानीयले बलीप्रथा सुरु गरे ।

अहिले राजदेवी मन्दिरमा सिरहासहित नेपालकै अन्य जिल्ला तथा छिमेकी देश भारतबाट समेत बली चढाउन आउनेहरु बढ्दै गएका छन् । दर्शनार्थीहरुले पशु बलीदेखि सुन, चाँदीका धातुसमेत मन्दिरमा चढाउने पूजारी बताउँछन् ।



from Online Khabar http://bit.ly/2Efvhdi

No comments:

Post a Comment

Post Bottom Ad

Pages