१७ जेठ, धनगढी । कैलालीका पूर्वी क्षेत्रका स्थानीय तह टीकापुरमा अस्थायी कोरोना अस्पताल सञ्चालनको तयारीमा जुटेका छन् ।
देशभरि पछिल्लोपटक कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि टीकापुर अस्पतालसँगको सहकार्यमा कैलालीका १३ मध्ये सात स्थानीय तह अस्पताल सञ्चालनका लागि तयारीमा जुटेका हुन् । कैलालीको पूर्वी भेगबाट धनगढी बिरामी पठाउँदा समस्या भएपछि स्थानीय तहका प्रमुख अस्पताल सञ्चालनको तयारीमा जुटेका हुन् ।
शुक्रबार टीकापुर अस्पताल विकास समितिको समन्वयमा जानकी गाउँपालिकामा बसेको बैठकमा स्थानीय प्रमुखबीच सहमति भएको हो । स्थानीय तहसहितको सर्वदलीय बैठकले टीकापुर अस्पतालमा रहेको १२ श्ययाको आइसोलेसन कक्ष अपुग हुने देखिएकाले टीकापुरस्थित सिटी हलमा थप ३० श्ययाको अस्थायी कोरोना अस्पताल सञ्चालन गर्ने निर्णय गरेको जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले जानकारी दिए ।
‘कोरोना अस्पताल सञ्चालनका लागि सबै स्थानीय तहले आवश्यक बजेट व्यवस्था गर्नेछौँ,’ चौधरीले भने, ‘सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले उपचारको पूर्वतयारीमा जुटेका हौँ,’ उनले बेडमात्र होइन भेन्टिलेटरको व्यवस्था गर्न बजेट छुट्याउन तयार रहेको बताए ।
अहिले टीकापुर अस्पतालमा एउटा पनि भेन्टिलेटर छैन । सात स्थानीय तहका नागरिकले सेवा लिन धनगढीभन्दा टीकापुर अस्पताल सहज हुन्छ ।
बैठकले टीकापुर अस्पतालका मेसु डा. जितेन्द्र कँडेललाई अस्थायी कोरोना अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने बजेटको लागत अनुमान बनाउने जिम्मा दिएको टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिए ।
‘अस्पतालका मेसु कँडेलले अस्पताल सञ्चालन गर्न आवश्यक पर्ने सामग्री र बजेटको योजना ल्याएपछि हामी सात स्थानीय तह खर्च गर्न तयार छौँ,’ रावलले भने, ‘सबै स्थानीय तहले सहयोग गर्ने प्रतिबद्वता जनाएका छौं, अब स्थानीयस्तरदेखि उपायको खोजी थालेका हौँ ।’
from Online Khabar https://ift.tt/3eAGq8q
No comments:
Post a Comment