अब माइक्रोसफ्टमा रोबोट पत्रकार ! - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, May 30, 2020

अब माइक्रोसफ्टमा रोबोट पत्रकार !

काठमाडौं । माइक्रोसफ्ट कम्पनीले आफ्नो एमएसएन वेबसाइटमा कार्यरत पत्रकारहरुलाई हटाएर स्वचालित रोबोट पत्रकार भर्ना गर्ने भएको छ ।

अहिले विभिन्न सञ्चार माध्यमबाट समाचार संकलन गरी हेडलाइन र तस्वीर छनोट गरेर माइक्रोसफ्टको वेबसाइटमा प्रकाशित गर्ने कामका लागि माइक्रोसफ्टले करारमा पत्रकारहरु राखेको छ ।

तर अबचाहिँ करारमा रहेका सबै पत्रकारहरुलाई हटाएर समाचार छनोट तथा प्रकाशन गर्न माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग गर्नेछ ।

यो नयाँ प्रयोग आफ्नो व्यवसायको मूल्यांकनको एक हिस्साको रुपमा रहेको माइक्रोसफ्टले जनाएको छ ।

माइक्रोसफ्टले आफ्नो विज्ञप्तीमा भनेको छ, ‘अन्य सबै कम्पनीहरुजस्तै हामीले पनि नियमित रुपमा आफ्नो व्यवसायको मूल्यांकन गर्ने गर्दछौँ । यसबाट कतिपय क्षेत्रमा लगानीमा वृद्ध गर्न तथा कर्मचारीहरुको पुनः खटनपटनमा सहयोग गर्दछ ।’

आफ्नो वेबसाइटमा प्रकाशित गर्ने प्रयोजनका लागि माइक्रोसफ्टले पनि अन्य प्रविधि कम्पनीहरुले जस्तै गरी विभिन्न समाचार एजेन्सीहरुलाई रकम तिर्ने गर्दछ ।

तर समाचार एजेन्सीहरुबाट कुन–कुन समाचार आफ्नो वेबसाइटमा राख्ने भन्ने निर्णय गर्नका लागि भने माइक्रोसफ्टले करारमा पत्रकार भर्ना गर्ने गरेको छ ।

रोबोटलाई पत्रकारका रुपमा भर्ना गर्ने माइक्रोसफ्टको निर्णयसँगै जुन महिनाको अन्त्यदेखि एमएसएन वेबसाइटमा कार्यरत कम्तिमा ५० जना करारका पत्रकारको जागिर जानेछ । यद्यपि पूर्णकालीन पत्रकारको टोली भने यथावत रहनेछ ।

उता जागिरबाट हटाइन लागेका करारका पत्रकारलेचाहिँ मानिसलाई मेसिनबाट विस्थापित गर्ने विषयमा सोच्नु पनि अनैतिक रहेको बताएका छन् । रोबोटलाई कडा सम्पादकीय गाइडलाइन्समा अभ्यस्त हुन कठीन हुने भन्दै उनीहरुले यसले माइक्रोसफ्टको न्यूज साइटमा असान्दर्भिक समाचारहरु देखिने जोखिम रहेको दाबी गरेका छन् ।

माइक्रोसफ्टको जागिर गुमाउन लागेका एकजना पत्रकारले भनेका छन्, ‘आर्टिफिसियल इन्टेलिजेन्सले मानिसको जागिर कसरी हडप्दैछ भन्ने विषय पढेर मैले समय बिताउँथेँ । तर अहिले मेरै पालो आयो ।’

स्मरण रहोस् विश्वका विभिन्न सञ्चार तथा प्रविधि कम्पनीहरुले खर्च कटौतिका लागि रोबोट पत्रकारिता सुरु गर्न थालेका छन् । गुगलले यस रोबोट पत्रकारिताको सम्भावनाका विषयमा अध्ययन गर्न एक परियोजना सुरुवात गरेको छ ।’



from Online Khabar https://ift.tt/2yNH5UF

No comments:

Post a Comment

Post Bottom Ad

Pages