एउटा परिवार जसको ‘लकडाउन’ सिर्जनामै बित्यो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, July 7, 2020

एउटा परिवार जसको ‘लकडाउन’ सिर्जनामै बित्यो

मुटु मेरो करौँतीमा छ
आफ्नो देश फर्कौं म कसरी
जिन्दगी नै धरौटीमा छ …

रोजगारीका लागि प्रदेश जान विवश नेपालीहरूमा समर्पित यो लोक गीत अहिले युट्युबमा उपलब्ध छ । ऋणले गाँजेका युवा प्यारालाइसिसले थलिएका बाबालाई छोडेर विदेशिएपछिको हृदयविदारक परिस्थितिलाई श्रव्यदृष्य सामग्रीमार्फत प्रस्तुत गरिएको छ ।

विवि अनुरागीले नै यसको शब्द कोरे अनि कम्पोज, संगीत र आवाज पनि आफैँ भरे । दाइ सुकरामले रेकर्ड गरे, भाइ श्यामश्वेतले ध्वनि सम्पादन गरे । सुरेश विश्वकर्माले क्यामेरा चलाए । अनि विवि अनुरागी, उनकी पत्नी सुनिता र छोरी शिक्षाले अभिनय गरे । यसरी अनुरागीले घरभित्रैबाट जन्माए, ‘करौँती’ । ‘यो लकडाउनमा घरकै स्रोतसाधन प्रयोग गरी चेतनामूलक गीतहरू गाएँ’, संगीतकार अनुरागी भन्छन्, ‘यो अवधिमा मैले सार्वजनिक गरेका गीतहरू व्यावसायिकभन्दा पनि चेतनामूलक छन् ।’

काठमाडौंमा निकै व्यस्त स्टुडियोमा पर्छ विविको प्रिज्म स्टुडियो । अरूकै गीतमा कम्पोज र संगीत भर्नमै व्यस्त विविले आफ्ना सिर्जनामा भने त्यतिधेरै ध्यान पुर्‍याउन सकेका थिएनन् । तर दुनियाँका लागि कहर सावित भएको यो लकडाउन विवि अनुरागीको परिवारलाई भने पृथक अवसर बन्यो ।

****

गत १० चैतको साँझ सरकारबाट लकडाउन घोषणा हुँदा अनुरागी, उनका दाजुभाइ बबरमहलको आफ्नै स्टुडियोमा व्यस्त थिए । विवि हारमोनियममा बसेर संगीत भर्दै थिए, भाइ श्यामश्वेत मिक्सिङ गर्दै थिए भने दाइ सुकराम कसैको गीत रेकर्ड गर्दै थिए । करिब डेढ दशकदेखिको उनीहरूको नियमित व्यस्त स्टुडियोको कामलाई लकडाउनले ब्रेक लगाउँदै थियो । तर राति घर फर्किंदा अनुरागीले गाडिको पछाडि साउण्ड कार्ड, माइक्रोफोन कम्युटर, किबोर्ड हार्माेनियमलगायतका सामग्री राखे ।

देश चुपचाप थियो । सडकमा सवारी साधन शून्य थिए । अरूजस्तै विविको परिवार पनि घरमै एक दिन विश्राम गरे । अनि तेस्रो दिनदेखि विविको परिवार नै सिर्जनामा होमियो । विवि भन्छन्, ‘लकडाउनमा मैले धून श्रृङ्खला सुरु गरेँ । देश कोरोनाको महामारीले आक्रान्त भएको बेला चेतनामूलक सिर्जना ल्याउनुपर्छ भन्ने लाग्यो ।’

लकडाउनको छैटौं दिनमै अनुरागीले कोरोनाको चेतनामूलक गीत सार्वजनिक गरे । गन्धर्व शैलीमा प्रस्तुत गरिएको गीतमा कोरोना महामारीका बेला मानिसले गर्न हुने र नहुने सचेतनालाई शब्दमा उतारेका थिए । जुन भिडियोमा अनुरागीले आफूसँगै दाइ, आमा पवित्रा र दिदीलाई फिचरिङ गरे । घरको बैठक कोठामै सुटिङ सक्काए । विवि भन्छन्, ‘बिहान खाना खाइसकेपछि दिउँसो हुने फुर्सदको समयलाई सिर्जनामा लगाउँथ्यौँ ।’

विविको परिवार यतिमै रोकिएन । त्यसको अर्को १० दिनमै विविले फेरि अर्को आधुनिक गीत सार्वजनिक गरे– ‘एउटा प्रश्न सोध्नु थियो मलाई कालसँग…’ । डा. कृष्णहरि बरालको शब्दमा अनुरागीले संगीत खेलाए र घरमै बसेर आवाज दिए । ध्वनि सम्पादन गर्ने त उनको श्यामश्वेत छँदैछन् । गीत पनि उनले घरभित्रै तयार पारेर युट्युबसम्म ल्याए । विवि थप बोल्छन्, ‘पहिलो भिडियो खिचेपछि क्यामेरा बिग्रियो । त्यसपछि सबै भिडियो आइफोनबाटै खिचेर तयार पार्यौँ ।’

यसबाहेक लकडाउनको अवधिमा विवि कहिलेकाँही पुस्तकमा पनि भुले । कहिले पुराना फिल्महरूको पनि स्वाद चाखे । कहिले परिवारसँग बसेर फोटो एल्बम पल्टाउँदै सम्झनामा हराए । ‘लकडाउनको अधिकांश समय भने सिर्जनामै बितायौँ’, विवि बोल्छन् ।

उसो त विविको परिवार नै एउटा स्टुडियोजस्तो छ । उनकी आमा पवित्राले नारायण रायमाझीसँग ‘बग्ने खोला हो’ भन्ने बोलको गीत गाएकी छन् । बहिनी स्वरुपाका चार दर्जन बढी गीत सार्वजनिक छन् । भाइ श्यामश्वेतले इमेज अवार्डको उत्कृष्ट ध्वनि सम्पादनमा ह्याट्रिक गरेका छन् । विविले १७ सय बढी गीतमा संगीत भरेको र छ हजारभन्दा बढी गीतमा एरेन्ज गरेको बताउँछन् । उनको आफ्नै आवाजमा पनि तीन दर्जन गीत सार्वजनिक गरेका छन् । लोक दोहोरी, आधुनिकदेखि फिल्मका गीतसम्म उनका संगीतले गुञ्जिएका छन् । बाँसुरी, मादल, सारङ्गी, हार्मोनियम, किबोर्डजस्ता बाजाका सौखिन अनुरागीका घर पनि यिनै बाजाले सजिएका छन् ।

परिवारको यही वातावरण नै उनीहरूलाई लकडाउनमा तनावबाट टाढा रहेर सिर्जनासँग रम्ने माहोल बन्यो । त्यसैले त अर्को १० दिनमै अर्को गीत ल्याए विविले । गीतको बोल हो– ‘सरकारको राम्रो शासन, जनताको अनुशासन चाहिने यति हो हाम्रो नेपालमा…’ । गीतबारे उनी बोल्छन्, ‘सरकारलाई गरेको व्यङ्ग्यात्मक गीत हो यो ।’ यस गीतमा विविले र्‍याप पनि घुसाएर फरक स्वाद दिने प्रयास गरेका छन् । गीतमा विवि भन्छन्–

घामजस्तै छर्लङ्ग छ सबै कुरा प्रष्ट ।
तलदेखि माथिसम्म सबैतिर भ्रष्ट ।
जनताले गाली गर्छन् टेरपुच्छर लाउँदैन ।
विरोध आफ्नै गरेको थाहा पाउँछ पाउँदैन ।
नेतादेखि ठेकेदार सबै चोरै चोर ।
करोड करोड खान्छन् अरे लुट्ने थोरै हो र ।
राहत अनुदान पनि तिनकै भुँडी फुट्ने ।
हातले चाहिँ छुरा धस्ने मुखले आँसु पुछ्ने…।

त्यहीबीचमा पोखराबाट गीतकार सुमन श्रापितले अर्को गीत लेखेर पठाए– ‘ठूलो लाग्थ्यो धन’ । जुन गीतमा विविले कोरोना लागेपछि सेल्फ क्वारेन्टिनमा बस्दाको पीडालाई उतारेका छन् । गीतले धनदेखि भगवानसम्मलाई झूटो सावित गरेर ज्यान नै सबैभन्दा ठूलो भएको बताएको छ । भिडियोमा कारोना लागेपछि दुरीमा बस्नुपर्दा देखिने परिवारको छट्पटीलाई पनि व्यक्त गरिएको छ । भिडियोमा विविसँगै विविकै पत्नी, छोरी र आमाको अभिनय छ । विवि भन्छन्, ‘त्यतिबेला कोरोनाको निकै त्रास थियो । यसकै कारण विश्वभर मानिसहरूको भटाभट मृत्यु भइरहेको थियो । त्यही वास्तविक चित्रलाई हामीले गीतमार्फत व्यक्त गर्ने प्रयास गरेका हौं ।’

एकातिर कोरोना देश आक्रान्त थियो । अर्कोतर्फ दार्चुलामा भारतले सीमा मिचेर मोटरबाटो बनाएको खबरले देश तरङ्गित भएको थियो । यही परिस्थितिलाई सिर्जनामा उनेर विविले ‘गो ब्याक इण्डिया’ भन्ने गीत भर्खर सार्वजनिक गरेका थिए । त्यही बीचमा गत १० जेठमा रुकुमको सोतीमा जाजरकोटका नवराज विकमाथि आक्रमण भयो । प्रहरीका अनुसार अन्तरजातीय विवाह गर्न गएका नवराज र उनका पाँच साथीहरूलाई गाउँलेले नै हत्या गरी भेरीमा बगाइदिए । ‘त्यो घटनाले चार पाँच दिनसम्म निकै डिस्टर्भ भएँ । म आजको युगमा गणतान्त्रिक र आधुनिक युगमा छु भनेर पत्याउनै गाह्रो पर्‍यो’, विवि भन्छन्, अलिकति सम्हालिएपछि भने यही घटनामा आधारित रहेर गीत बनायौँ ।’

रुकुम घटनाबारे सुमन श्रापितले पोखरादेखि शब्द लेखेर पठाए र अनुरागीको घरमै बसेर गीत तयार पारे । रुकुम घटना शीर्षकको उक्त गीतमा नवराज विक र शुष्मा मल्लको प्रेमदेखि दुःखद् अन्त्यसम्मको विवरणलाई गन्धर्व शैलीमा प्रस्तुत गरिएको छ । अनुरागी भन्छन्, ‘म आफैँले सारङ्गी बजाएर र साउण्ड कार्डबाट म्युजिक तयार पारेको थिएँ । यो गीत गाउँदा आफँैलाई निकै गह्रौं अनुभूति भएको थियो ।’

विवि भन्छन्, ‘जस्तै विषम परिस्थितिमा भए पनि समयलाई सदुपयोग गर्न सक्नुपर्छ भन्ने लाग्छ मलाई ।’ कोरोनाको सन्त्राससँगै विविले ०७२ सालको भूकम्पलाई पनि स्मरण गरे । विविले भने, ‘भूकम्प आउँदा पनि एक हप्तासम्म ट्रमा सेन्टरमा पुगेर पूरै परिवारले भोलिन्टियरली काम गरेका थियौं । राहत वितरण गर्न गोरखा पुगेका थियौं ।’

मानिसले आफूसँग भएको स्रोत साधन प्रयोग गरेर कुनै न कुनै सिर्जनशील र उत्पादनमूलक काममा लागिरहनुपर्ने विविको अनुभव छ । तर गत १ असारदेखि भने विविको परिवार पुरानै लयमा फर्कन थालेको छ । उनी नियमित रुपमा स्टुडियो आउन थालेका छन् । स्टुडियोमै बसिरहेका विवि भन्छन्, ‘सिर्जना भनेको यस्तो चीज हो जुन जस्तोसुकै परिस्थितिमा पनि गर्न सकिन्छ । खाँचो त मात्र लगावको हो ।’



from Online Khabar https://ift.tt/2CeRvhk

No comments:

Post a Comment

Post Bottom Ad

Pages