जन्मभूमि खोज्ने बेला हैन, रामराज्य बनाउने बेला हो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, August 10, 2020

जन्मभूमि खोज्ने बेला हैन, रामराज्य बनाउने बेला हो

गतहप्ता अयोध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच सय वर्ष पुरानो ऐतिहासिक बाबरी मस्जिद भत्काइएको स्थानमा राम मन्दिर बनाउने कार्यको शुरुवात गर्दै भूमि पुजन गरे। यता नेपालका प्रधानमन्त्री केपी ओलीले भने अझै पनि राम जन्मभूमि नेपालमै पर्छ भन्ने आफ्नो ढिपी छोडेका छैनन्। कहिले अयोध्यापुरी त कहिले ठोरीमा राम जन्मेका हुन् भन्दै स्थानीय सरकारका प्रतिनिधिहरुलाई उनले मन्दिर बनाउन आदेश दिएका छन्।

कम्युनिष्ट प्रधानमन्त्रीको यो रामप्रतिको प्रेम निकै रहस्यमय प्रतीत भैरहेको छ। भानु जयन्तीको दिन राम नेपालमै जन्मिएका हुन् र भारतको अयोध्या नक्कली हो भनेर दिएको विवादास्पद अभिव्यक्तिले सीमा विवादले गर्दा पहिलेदेखि नै चिसिएको दुई देशको सम्बन्ध झन् चिसिन पुग्यो।

तर, परराष्ट्र मन्त्रालयले बुद्धिमत्तापूर्ण पारामा विज्ञप्ति निकालेर त्यो परिस्थितिलाई साम्य पार्‍यो। कस्तो विडम्वना, सरकार प्रमुखले बोलेको कुरालाई उनकै मातहतको परराष्ट्र मन्त्रालयले खन्डन गरेर परिस्थिति साम्य पार्नु पर्ने ?

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको अभिव्यक्ति खन्डन गरेपछि राम जन्मभूमि बारेको विवाद अलि साम्य भैसकेको थियो । तर, फेरि ओलीले चितवनको अयोध्यापुरीको कुरा निकालेर यो विषयलाई सतहमा ल्याउने प्रयास गरेका छन्।

कुन उद्देश्य र कुन आधारमा ओलीले राम नेपालमै जन्मेका भनिरहेका छन् त्यो त उनलाई नै थाहा होला, तर उनका पटक-पटकका गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले उनलाई मात्र हैन, देशलाई र समस्त नेपालीहरुलाई नै सकसमा पारिरहेको छ।

कहिले कोरोना निको पार्न बेसार पानी सेवन गर्ने कुरा गर्ने, कहिले हाछ्युँ गरेर कोरोना भगाउने कुरा गर्ने, कहिले राम जन्मभूमिको कुरा गरेर आफू र देशलाई नै अप्ठ्यारोमा पार्ने गर्दा उनले पटक-पटक देशलाई विवादको भुमरीमा तानेका छन्।

अहिले देश कोरोनाले आक्रान्त छ, जनता खुला आकाशमा श्वास फैर्दै आ-आफ्नो पेशामा फर्केर आफ्नो गुजारा गर्न आतुर छन्, देशको अर्थतन्त्र खस्किंदो अवस्थामा छ । तर, सरकार प्रमुख भने राम जन्मभूमिको पछि लागेर रामकै भरोसामा देशलाई छोडेर बसेका छन्।

उग्र राष्ट्रवादको जगमा अडेको पन्चायतको हविगत के भयो भन्ने हामीले देखिसकेका छौं। राष्ट्रवादले जनताको पेट भरिदैन, शरीर छोपिँदैन

यो समय भनेको देशको पूरै शक्ति लगाएर कोरोनामाथि विजय प्राप्त गर्ने अनि देशलाई पुनः सामान्य अवस्थामा फर्काएर देशको विकासका लागि एक निमेष पनि नगुमाएर लाग्ने बेला हो। अहिले पनि देशमा हत्या, आतंक, भ्रष्टाचार, ठगी, चोरी सबैतिर व्याप्त छ। कोरोनाको बहानामा सरकारले देशलाई ठप्प बनाएको छ। मर्नेहरु मरिरहेका छन्, पेट भर्नेहरुले पेट भरिरहेका छन्। तर, प्रधानमन्त्री ओलीचाहिँ रामको जन्मभूमि खोज्नमै व्यस्त छन्।

यस्तो लाग्छ ओली रामका परम भक्त हुन् र जसरी भए पनि रामलाई नेपालमै ‘जन्माउन’ चाहन्छन्।

दशकौंपछि देशले अलिकति भए पनि राजनैतिक स्थिरता पाएको छ। जनताले सरकारसँग ठूलो आशा गरेका छन्। देशको भविष्य धेरै हदसम्म यही सरकारले अँगालेको बाटोले निश्चित गर्नेछ। यो सरकार सफल भयो भने नेपालको राजनैतिक इतिहासमा निकै महत्वपूर्ण नजिर बस्नेछ। विगत सात दशकमा देशले अहिलेसम्म पनि पूरै पाँच वर्ष शासन गर्ने स्थिर सरकार पाएको छैन। अहिलेको सरकारभित्र र बाहिर दुवैबाट चुनौती रहित छ भन्न सकिन्छ।

राम्रो काम गर्ने हो भने अहिले देखिएका स-साना चुनौतिहरु पनि आफैं सेलाएर जानेछन्। त्यसैले अहिलेको समयमा यो सरकार यस्ता झिना मसिना कुरामा समय खेर फालेर अल्झिनुभन्दा जनअपेक्षा अनुसार सुशासन र विकासमा लागिपर्नु पर्छ।

देशको नयाँ नक्शा प्रकाशन गर्नेसहित अन्य राष्ट्रियताका विषयहरुमा सरकारको राष्ट्रवादी चरित्रको सबैले स्वागत गरेकै हुन् र गरिरहने पनि छन्। राम जन्मभूमिको विषय पनि कतै त्यही राष्ट्रवादको अर्को उदाहरण त हैन भन्ने शंका लाग्न थालेको छ। यदि त्यसो हो भने त्यो राष्ट्रवाद हैन, उग्र राष्ट्रवाद हो।

धेरै खाएपछि चिनी पनि गुलियो हुन्छ भनेजस्तै राम मन्दिरको कुरा यदि उग्र राष्ट्वादले प्रेरित भएर आएको हो भने यसले सरकार र देशलाई फाइदाभन्दा बेफाइदा पुर्‍याउने छ।

उग्रराष्ट्रवादले केही समय त लोकप्रियता देला तर यो दिगो हुन सक्दैन। संसारका सबै उग्र राष्ट्रवादहरु कालान्तरमा ढलेका उदाहरणहरु प्रसस्तै छन्। उग्र राष्ट्रवादको जगमा अडेको पन्चायतको हविगत के भयो भन्ने हामीले देखिसकेका छौं। राष्ट्रवादले जनताको पेट भरिदैन, शरीर छोपिँदैन। त्यसैले विकास नै आजको आवश्यकता हो।

राम नेपालमै जन्मेका भए पनि भारतमै जन्मेका भए पनि त्यो ठूलो कुरो हैन। त्यसले हाम्रो रामभक्तिमा कमी ल्याउने छैन। फेरि त्यो कुरो त भुगर्भशाष्त्री, पुरातत्वविद र इतिहासकारहरुले प्रमाणित गर्ने कुरा हो, प्रधानमन्त्रीले फलाक्दै हिँड्ने कुरा हैन।

अर्को कुरा, राम नेपालमै जन्मेको भए पनि नेपालले त्यसबाट के नै फाइदा लिन सक्ने स्थिति छ र ? हामीले देखेकै छौं, बुद्ध जन्मभूमिको हामीले कति नै फाइदा उठाउन सकेका छौं र ? अहिले रामको झमेलामा अड्किएर भारतसँग र करोडौं भारतीय उग्रपन्थी हिन्दुहरुसँग सम्बन्ध बिगार्नुभन्दा लुम्बिनीलाई विश्वस्तरको पर्यटकीय क्षेत्रका रुपमा निर्माण गरेर बर्सेनि  लाखौं पर्यटकहरु भित्र्याउनेतर्फ कार्य योजना बनाएर अगाडि बढ्नु देशका लागि लाभदायक छ।

यदि प्रधानमन्त्रीलाई रामप्रति त्यस्तो आस्था छ भने राम कहाँ जन्मेका हुन् भन्ने कुरा पत्ता लगाउने कुरा विशेषज्ञहरुको हातमा छोडेर रामको पालाको अयोध्या जस्तै देशलाई समृद्धिको यात्रामा डोर्‍याउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्छ। विशेषज्ञहरु नेपालमा नै वास्तविक अयोध्या पर्छ भन्ने प्रमाणित गरे भने त झन् राम्रै भयो, भारतमा अवस्थित अहिलेकै अयोध्या सक्कली अयोध्या हो भनेर प्रमाणित गरे पनि चित्त दुखाउनुपर्ने कुनै कारण छैन।

त्यसैले राम कहाँ जन्मेका हुन् भन्ने कुरामा समय खेर नफाली रामको जस्तो शासन व्यवस्था हामीले देशलाई दिन सक्यौं भने त्यो नै देश र जनताका लागि भलो हुनेछ। जनतालाई अहिले राम जन्मुभूमि निर्क्यौल गर्नुभन्दा पनि रामराज्यको बढी खाँचो छ।



from Online Khabar https://ift.tt/2PIMjWo

No comments:

Post a Comment

Post Bottom Ad

Pages