वि च्याटमाथि अमेरिकी प्रतिबन्ध : विश्व प्रविधि जगतमा के असर पर्ला ? - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, August 16, 2020

वि च्याटमाथि अमेरिकी प्रतिबन्ध : विश्व प्रविधि जगतमा के असर पर्ला ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता एक कार्यकारी आदेश जारी गर्दै ४९ दिनभित्रमा कुनै अमेरिकी कम्पनीले खरीद नगरेको खण्डमा टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेसँगै विश्वको जीवन्त सामाजिक सञ्जाल तथा विस्तृत सोसल मिडियामा बजारलाई समाप्त गर्ने खतरा उत्पन्न भएको बताइएको छ ।

टिकटकविरुद्ध आदेश जारी गरिएकै दिन ट्रम्प प्रशासनबाट विभिन्न चिनियाँ एपहरुविरुद्ध अर्को एक कार्यकारी आदेश पनि जारी भयो जसले विश्व प्रविधि उद्योगको व्यवसायलाई तहस नहस बनाउने सम्भावना छ ।

आगामी ४५ दिनभित्रमा अमेरिकामा कुनै खरीदकर्ता फेला पार्न नसकेमा चिनियाँ मेसेजिङ एप वि च्याटलाई समेत अमेरिकामा प्रतिबन्धित गर्ने निर्णय ट्रम्पले गरेका छन् । विच्याटमाथि ट्रम्प प्रशासनको हमला पश्चात् यसको मातृ कम्पनी टेनसेन्टमाथि अनिश्चयको बादल मडारिएको छ र कम्पनीको शेयर मूल्यमा पनि गिरावट आएको छ ।

चिनियाँ कम्पनी टेनसेन्ट विश्वको सबैभन्दा मूल्यवान कम्पनीमध्ये एक हो र यसको व्यवसाय प्रविधि तथा स्टार्टअप प्रणाली लगायतमा विश्वव्यापी बनिसकेको छ । आम्दानीको हिसाबले विश्वको सबैभन्दा ठूलो गेमिङ कम्पनीको रुपमा रहेको टेनसेन्टले इपिक गेम्स, ग्लु तथा युनिभर्सल म्युजिक ग्रुप लगायतका विभिन्न अमेरिकी गेमिङ तथा मनोरञ्जन कम्पनीहरुमा लगानी गरिसकेको छ । पछिल्लो समयमा यसले स्न्याप तथा टेस्ला कम्पनीमा समेत लगानी खन्याएको छ ।

त्यतिमात्र होइन रेडिट, लिफ्ट तथा जूक्स जस्ता कम्पनीमा समेत टेनसेन्टको लगानी छ । स्मरण रहोस् जूक्सलाई अमेजनले खरीद गर्ने घोषणा गरिसकेको छ ।

प्राइभेट कम्पनीहरुमा सबैभन्दा धेरै लगानी गर्नेमा टेनसेन्ट दोश्रो स्थानमा छ । पहिलो स्थानमा अमेरिकाको सेक्विया क्यापिटल रहँदा जापानी कम्पनी सफ्टब्यांक ग्रुप तेश्रो स्थानमा छ ।

टेनसेन्टलाई अहिले अमेरिकामा चिनियाँ सफ्टबैंकको नामले पनि चिन्न थालिएको छ, जसले प्राइभेट कम्पनीमा १ अर्ब डलरभन्दा धेरै लगानी गरिसकेको छ ।

एक रिपोर्ट अनुसार टेनसेन्ट कम्पनीले सन् २०२० मा विभिन्न ५३ वटा कम्पनीहरुमा लगानी गरेको छ, जबकि सफ्टबैंकले ३७ वटा कम्पनीमा लगानी गरेको छ । त्यसमध्ये टेनसेन्टले अमेरिकामा तीनवटा कम्पनीमा लगानी गर्यो भने सफ्टबैंकले १६ वटा कम्पनीमा लगानी गर्यो ।

विज्ञहरुका अनुसार अहिले टेनसेन्ट चीनमा सबैभन्दा शक्तिशाली लगानीकर्ता बनिसकेको छ ।

टेनसेन्ट कम्पनीमाथि ट्रम्पले धाबा बोलेसँगै यसले टेनसेन्ट कम्पनीको विश्वव्यापी विस्तारको आकांक्षामा गम्भीर रुपमा धक्का लाग्ने अनुमान गरिएको छ । साथै यसले टेनसेन्ट कम्पनी र उसका साझेदारहरुलाई अमेरिकामा लगानी गर्ने तथा अमेरिकी कम्पनीहरुसँग थप साझेदारी गर्न निरुत्साहित गर्नेछ ।

अमेरिकी भूतपूर्व वाणिज्य वार्ताकार ह्यारी ब्रोडम्यान भन्छन्, ‘अमेरिकाका विद्यमान कम्पनीहरु तथा लगानीकर्ताहरु समक्ष अहिले इतिहासकै सबैभन्दा धेरै अनिश्चितता छाएको छ । महामारीका कारण लगानी तथा आर्थिक वृद्धिमा मन्दी आइसकेको अवस्थामा यस्ता गतिविधिले अर्थतन्त्रमा झनै अनिश्चितता थप्नेछ ।’

पछिल्ला वर्षहरुमा बढिरहेको चीन–अमेरिका व्यापार तनावका बीच टेनसेन्ट लगायतका विभिन्न चिनियाँ लगानीकर्ताहरु अमेरिकाबाट आफ्ना लगानीहरु क्रमशः फिर्ता लैजान थालिसकेका छन् ।

विच्याटमाथि अमेरिकाले लगाउन लागेको प्रतिबन्ध टेनसेन्टको लगानी तथा साझेदारी रहेका अन्य कम्पनीहरुप्रति समेत लक्षित हुन्छ कि हुँदैन भन्ने अहिलेको जिज्ञासाको विषय रहेको छ ।

टेनसेन्टका प्रमुख वित्तीय अधिकृत शेख होन लोका अनुसार सार्वजनिक भएका खबर अनुसार अहिलेको कार्यकारी आदेश अमेरिकामा वि च्याटप्रति लक्षित छ न कि टेनसेन्टका अन्य व्यवसायहरु प्रति । यस विषयमा थप प्रष्टताको खोजी भैरहेको पनि उनले बताएका छन् ।

अमेरिकाको कानून मन्त्रालय अन्तर्गत राष्ट्रिय सुरक्षा महाशाखाका सहायक महान्याधिवक्ता जोन डेमर्सका अनुसार वि च्याट एपले प्रयोगकर्ताका डाटाहरु संकलन गर्ने विषयप्रति कार्यकारी आदेश लक्षित छ ।

आगामी दिनमा ट्रम्प प्रशासन केवल विच्याटमाथि मात्र केन्द्रित हुन्छ कि विस्तृत रुपमा टेनसेन्ट कम्पनीमाथि नै छानविन अगाडि बढाउँदछ भन्ने कुराले विश्वको डिजिटल बजारलाई आधारभूत रुपमा परिवर्तन गराइदिनेछ ।

विज्ञका अनुसार विश्व बजारमा फैलिने प्रयासमा रहेका चिनियाँ कम्पनीमाथि अमेरिकी आक्रमणले विश्वको इन्टरनेट बजार अहिले पनि वास्तविक रुपमा साझा अन्तर्राष्ट्रिय बजार नरहेको देखाउन खोजेको छ ।

ट्रम्प प्रशासनको पछिल्लो गतिविधि इन्टरनेटमाथि नियन्त्रण गर्ने विशाल अमेरिकी पर्खाल (ग्रेट अमेरिकन फायरवाल) को सुरुवात हुनसक्छ । जसरी चीनले आफ्नो मुलुकमा इन्टरनेटमाथि सख्त नियन्त्रण गर्ने ग्रेट फायरवाल खडा गरेको छ ।

–सिएनएनबाट



from Online Khabar https://ift.tt/2PZyQK8

No comments:

Post a Comment

Post Bottom Ad

Pages