मलमासमा के गर्न हुन्छ, के हुँदैन ? - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, September 17, 2020

मलमासमा के गर्न हुन्छ, के हुँदैन ?

काठमाडौं । अधिकमास अर्थात् पुरुषोत्तम मास शुक्रबारदेखि सुरु हुँदैछ । असोज २ गतेदेखि कात्तिक १ गतेसम्म मलमास चल्नेछ । एक चान्द्रमासभरि कुनै पनि शुभकर्म गर्न नमिल्नेगरि सुरु भएको पुरुषोत्तम मासकै कारण यस वर्षको दशैं–तिहार पछि सरेको छ भने सोह्रश्राद्ध केही अघि सरेको छ ।

सौरमास र चान्द्रमासको महिनालाई समायोजन गर्नको लागि सामान्यतया २ वर्ष, ८ महिना, १६ दिन र चार घडी पुगेपछि अधिकमास मनाउने गरिन्छ । यो वर्ष सोही गणनाक्रम अनुसार असोज २ गतेदेखि अधिकमास मनाउन लागिएको हो ।

हिन्दु पञ्चाङ्ग अनुसार सौरमासको एक वर्षमा ३६५दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ जब कि चन्द्रमान अनुसार ३५४ दिन, २२ घडी, १ पला र २३ विपलाको एक वर्ष हुने गर्छ । हरेक वर्ष सूर्य तथा चन्द्रमासको बीचमा हुने १० दिन ५३ घडी, ३० पला एवं ७ विपलाको अन्तरले महिना छोएपछि एक महिनालाई अशुद्ध मास मानेर गणना नगरी सौरमाससँग समायोजन गर्ने गरिन्छ । यही अशुद्ध भनिएको महिना नै मलमास हो ।

धर्मशास्त्रका जानकारहरूका अनुसार यो चाडमा निश्चित कर्मबाहेक लग्न जुराएर गर्ने सबै किसिमका पर्वहरू प्रतिबन्धित हुने गर्छ ।

पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईका अनुसार यो महिना अशुद्ध भएको र गणनामा नै नहुने भएकोले यो एक महिना कुनै पनि मुहूर्त जुराएर गर्ने काम गर्न शास्त्रले निषेध गरेको छ ।

वैदिक पञ्चाङ्ग अनुसार पहिले असार र कात्तिक महिनामा मात्रै अधिकमास मनाउने चलन भए पनि अहिलेको आधुनिक पञ्चाङ्ग अनुसार अधिकमास मनाएको २ वर्ष, ८ महिना, १६ दिन र चार घडी पुगेपछि अधिकमासको योग बन्ने गर्छ ।

किन भनियो पुरुषोत्तम मास ?

मलमासलाई पुरुषोत्तम मास पनि भन्ने गरिन्छ । यसको छुट्टै किंवदन्ती रहेको छ । हरेक महिनालाई सबै भगवानले आ–आफ्नो अनुकूल मिलाएर स्वीकार्न थालेपनि अन्तिममा अशुद्ध भनेर छाडिएको यो महिनालाई कुनै पनि भगवानले स्वीकार्न चाहेनन् । यसै पनि अशुद्ध भनेर छाडिएको यो महिनाले भगवानहरूसँग विलौना गरेपछि पुरुषोत्तम अर्थात् भगवान विष्णुले सो महिनाको नाम नै आफ्नो नामबाट राखेर सो महिनालाई आफूले स्वीकार्ने बताए भन्ने मान्यता छ ।

त्यसैले यो महिनामा अरू शुभकर्म गर्न निषेध गरिएकोले भगवान विष्णुलाई खुसी बनाउने गरी स्तुति गर्न भने शुभ हुने शास्त्रीय मान्यता छ ।

यो महिनामा केही कामको लागि निषेध गरिएको छ भने केही काममा बाधा नहुने कुरा विभिन्न धर्मशास्त्रमा उल्लेख छ । अधिकमास लाग्नुअघि नगएका तीर्थमा यस महिनाभरि जान नहुने प्रा.डा. भट्टराईको कथन छ ।

–मलमासमा मन्दिरलगायत भौतिक संरचना निर्माणको लागि समेत निषेध गरिएको छ । शास्त्रीय मान्यता अनुसार यो एक महिनाभरि कुनै पनि नयाँ शुभकर्मलाई शुभारम्भ गर्न नै निषेध गरिएको छ । यद्यपि यो समयमा समेत पहिलेदेखि नियमित गरिँदै आएको कर्म गर्न भने बाधा नपर्ने भट्टराई बताउँछन् ।

यो महिनामा भगवान विष्णुलाई मनपर्ने माल्पुवा जस्ता परिकारसहित विष्णुको पूजा आराधना गर्ने गरिन्छ । प्रा.डा. माधवप्रसाद भट्टराईका अनुसार मलमासको समयमा गर्न हुने र गर्न नहुने कामहरू निम्नानुसार छन् ।

गर्न हुने कुरा

–नित्य कर्म

–नियमित गरिँदै आएको व्रत

–निस्काम भावले गरिने बिहानी सत्संग

–विष्णुको स्तुति र कीर्तन

–न्वारन, पास्नी

–दैनिक उपभोग्य सामग्री खरिद

गर्न नहुने कुरा

–कुनै पनि काम्य गर्म गर्न हुँदैन

–मुहूर्त जुराएर गर्ने काम केही पनि गर्न हुँदैन

–गृह प्रवेश

–नयाँ तीर्थको यात्रा गर्न

–नयाँ व्यवसाय सुरु गर्न

–नयाँ व्रतको सुरुवात गर्न हुँदैन

–नयाँ संरचना निर्माणको थालनी



from Online Khabar https://ift.tt/2ZPo2n0

No comments:

Post a Comment

Post Bottom Ad

Pages