युवराज विष्ट /भोजपुर।
यहाँको टक्सार बजार धातुका सामानका लागि प्रख्यात छ । अब यो ख्याती यहाँका धातु उद्योग बन्द हुने क्रमसँगै घट्न थालेको छ ।
दक्ष जनशक्ति र कच्चा पदार्थको अभाव तथा बसाइँसराइका कारण उद्योग बन्द हुन थालेका हुन् । १५ वर्ष अघिसम्म सयभन्दा बढी धातुजन्य सामग्री बन्ने उद्योग सयभन्दा धेरै थिए । आजभोलि ६÷७ वटा मात्र भेटिन्छन् ।
स्थानीय स्रोत र साधन अभावका कारण देशकै पुराना धातु उद्योगहरूमध्येको टक्सारका धातु उद्योगहरू संकटमा पर्दै गएका हुन् । राणाकाल, पञ्चायतकालदेखि बहुदलीय व्यवस्था आउँदासमेत लाखौं मूल्यका धातुका सामग्री उत्पादन हुँदै आएका उद्योगहरू आवश्यक साधनको अभावले पलायन हुन थाले । उद्योग सञ्चालनका लागि कोइला (गोल) कच्चा पदार्थ मइन र दक्ष जनशक्तिको अभाव छ ।
बाँकी रहेका उद्योगले भोजपुरकै माग पूरा गर्न सकेका छैनन् । धातु उद्योगलाई अहिले टड्कारो आवश्यकता कोइला, कच्चा पदार्थ मइन र दक्ष जनशक्तिको खाँचो रहेको व्यवसायी बताउँछन् । पलायन भएका व्यवसायीलाई स्थानीय स्तरबाट अभिप्रेरित गराउनुपर्ने, मौलिक कला र उद्योगको संरक्षणका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराउन जरुरी रहेको विमलकुमार शाक्य बताउँछन् ।
ड्ड डाडुपन्यू, कसौंडी, अम्खोरा, करुवा, अन्ती, बटुका, थाल, डबका, तामा एवं पित्तलका गाग्री खरकुँडाको अभाव हुन थाल्यो
खानी स्थापनासँगै धातुका सामग्री डाडुपन्यू, कसौंडी, अम्खोरा, करुवा, अन्ती, बटुका, थाल, डबका, तामा एवं पित्तलका गाग्री खरकुँडा, तसला बनाइन्थ्यो । धातु उद्योग सञ्चालनका लागि कोइला, मइन र धातु अभाव खड्किएपछि धातुका सामान उत्पादनमा ९० प्रतिशतभन्दा बढी गिरावट आएको व्यवसायीहरूको भनाइ छ ।
४६ वर्षदेखि धातुका सामग्री बनाउँदै आएका टक्सारका ७५ वर्षीय ज्ञानबहादुर शाक्य आवश्यक स्रोतसाधन नहुँदा र बजार नपाउँदा उद्योग नचलेका कारण व्यवसायी पलायन भएको दृष्टान्त अघि सार्छन् । उनी भन्छन्, ‘यहाँ धेरै यस्ता उद्योग थिए, सामान पनि पाउन छाड्यो, बनाउने मान्छे पनि भएनन् ।’
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2pirOCY


No comments:
Post a Comment