दल भन्छन्, सरकार चुक्दै छ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, September 18, 2018

दल भन्छन्, सरकार चुक्दै छ

महेश्वर गौतम/काठमाडौं।

निर्मला हत्या प्रकरणमा सदनदेखि सडकसम्म न्यायका लागि सरकारको आलोचना भइरहेको छ । बलात्कार तथा हत्याको अनुसन्धानका लागि भन्दै सरकारले छानबिन समिति बनाएको छ । प्रहरी अधिकारीहरू निलम्बित भइसकेका छन् । छानबिनका लागि डीआईजी धीरु बस्नेतको नेतृत्वमा अर्को समिति गठन भइसकेको छ । तर, न्यायको आन्दोलन रोकिएको छैन ।
संसद्भित्र र बाहिरका दलले पन्त प्रकरणमा सरकार चुकेको बताएका छन् । बलात्कारपछि हत्या भएको ५४ दिन बितेको छ । निर्मलाका बुबाआमा न्यायको खोजीका काठमाडौंमा भौतारिरहेका छन् । बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्तले गृहमन्त्री रामबहादुर थापा, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतलाई भेटिसकेका छन् । तर, उनीहरू अझै न्याय पाउनेमा सशंकित पनि छन् । उनीहरू मात्र होइन, दलहरू पनि आश्वस्त हुन सकेका छैनन् ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले बलात्कारजस्तो संवेदनशील विषय र त्यसपछिको हत्याको अनुसन्धानका सन्दर्भमा सरकार संवेदनहीन भएको बताए ।

‘बलात्कार तथा हत्याजस्तो संवेदनशील विषयमा सरकार संवेदनाहीन अभिव्यक्ति दिएर पन्छिन खोज्दै छ, अनुसन्धानमा त सरकार चुक्यो, न्यायमा पनि चुक्दै छ,’ महतले राजधानीसँग भने ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले निर्मला बलात्कार तथा हत्या प्रकरण सुरुदेखि नै विवादास्पद हुनु, राज्य संयन्त्र नै प्रमाण लुकाउन लागेको आरोप लाग्नु तथा आरोप प्रमाणित गर्न सरकार चुक्नुले राज्य संयन्त्रमाथि नै विश्वासको संकट पैदा भएको बताए ।
‘निर्मला बलात्कार तथा हत्या प्रकरण सुरुदेखि नै विवादास्पद छ, राज्य संयन्त्र नै प्रमाण लुकाउन लागेको आरोप लाग्नु र आरोप प्रमाणित गर्न सरकार चुक्नुले राज्य संयन्त्रमाथि नै विश्वासको संकट पैदा भएको छ,’ राप्रपा अध्यक्ष थापाले थपे ।
उनले न्यायका लागि नागरिक सडकमा उत्रिनुपर्ने अवस्था आउनु नै दुःखद् भएको भन्दै न्यायका लागि भएको आन्दोलनमा आफ्नो दलको समर्थन रहने जनाए ।

बलात्कार र हत्याजस्तो संवेदनशील विषयको अनुसन्धानमा सरकार चुक्यो, न्यायमा पनि चुक्दै छ । – डा. प्रकाशशरण महत, कांग्रेस सहमहामन्त्री

निर्मला बलात्कार तथा हत्या प्रकरण सुरुदेखि नै विवादास्पद छ, राज्य संयन्त्र नै प्रमाण लुकाउन लागेको आरोपले विश्वासको संकट पैदा भएको छ’ । – कमल थापा, अध्यक्ष राप्रपा

 

 बलात्कार तथा जघन्य आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनबमोजिम कडा कारबाही हुनुपर्छ । – गणेश साह, नेता, ने क पा

बलात्कारमा संलग्नलाई सरकारले पक्राउ गरी कारबाही गर्न नसक्नु सरकारको असफलता हो, देशमा शान्ति सुरक्षा स्थापित गर्न सरकार असफल भयो । – अजय गुप्ता, राजपा महासचिव

 संसद्मार्फत हामीले बलात्कार तथा हत्यामा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेका छौं । – रामसहाय यादव, महासचिव, फोरम

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य गणेश साहले बलात्कार, आपराधिक क्रियाकलाप तथा शान्ति सुरक्षालगायतका विषयमा पार्टीमा गम्भीर रूपमा छलफल भएको आफूलाई थाहा नभएको जनाए ।
शान्ति सुरक्षा बलियो बनाउने, अपराधीलाई कारबाहीको दायरामा ल्याउनेलगायतका विषयमा पार्टीमा गम्भीर छलफल हुनुपर्ने बताउँदै उनले सरकारसँग शान्ति सुरक्षाको सुनिश्चितताको मागसमेत गरे ।
‘बलात्कार तथा जघन्य आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनबमोजिम कडा कारबाही हुनुपर्छ,’ उनले जोडे ।
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) का महासचिव अजय गुप्ताले शान्ति सुरक्षा दिन सरकार पूर्णरूपमा असफल भएको बताए ।
गुप्ताले बलात्कारजस्ता आपराधिक क्रियाकलापमा संलग्नलाई सरकारले पक्राउ गरी कारबाही गर्न नसक्नु सरकारको असफलता भएको उनले जिकिर गरे ।
‘बलात्कारजस्ता आपराधिक क्रियाकलापमा संलग्नलाई सरकारले पक्राउ गरी कारबाही गर्न नसक्नु सरकारको असफलता हो, सरकार निर्मला हत्या प्रकरणबाट मात्रै होइन देशमा शान्ति सुरक्षा स्थापित गर्न नै असफल भयो ।’
संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवले आफ्नो पार्टीले बलात्कार, हत्या, हिंसा, शान्ति सुरक्षालगायतका विषयलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने भन्दै संसद्मा बलात्कार तथा हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने माग गरेको बताए ।  ‘संसद्मा हामीले बलात्कार तथा हत्यामा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेका छौं,’ यादवले भने ।



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2MFeXnn

No comments:

Post a Comment

Post Bottom Ad

Pages