काठमाडौं/रास– प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याको घटना मानवतामाथिकै कलंक र जघन्य अपराध भएको भन्दै दोषी पत्ता लगाएर कारबाही गरेरै छाड्ने दृढता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले अपराधी जुनसुकै ओहोदाको भए पनि कडा कारबाही गरिनेमा विश्वस्त हुन पीडित परिवारसँग आग्रहसमेत गरेका छन् ।
निर्मलाका बाबुआमासहित प्रदेश ७ का सांसदहरूलाई सोमबार भेटेका प्रधानमन्त्री ओलीले धन, बल, दल वा ओहोदा कुनै हिसाबले शक्तिशाली भए पनि दोषी उम्कन नसक्ने बताए ।
प्रधानमन्त्री ओलीले घटनाको कडाइका साथ छानबिन र निर्ममताका साथ कारबाही गर्न आफूले सुरुदेखि गृह मन्त्रालयलाई निर्देशन दिएको पनि बताए । उनले यस्ता आपराधिक घटना र मनोवृत्तिलाई सामान्य रूपमा लिन नहुने बताउँदै कुनै पनि हालतमा अपराधीले छुट नपाउने समेत बताए ।
उनले जिल्लास्थित तत्कालीन सुरक्षा अधिकारीको छानबिन र गतिविधि सन्दिग्ध भएकाले निलम्बन गरिएको बताउँदै पछिल्लो समयमा प्रहरी नायब महानिरीक्षकको संयोजकत्वमा शक्तिशाली छानबिन समिति गठन गरिएको जानकारीसमेत दिए । कञ्चनपुरमा गत १० साउनमा निर्मलाको शव उखुबारीको पानीमा भेटिएको थियो ।
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2pis6d2

No comments:
Post a Comment