नेपाल–चीन मैत्रीपूर्ण वार्ता, कोरला नाका खोल्ने सन्देश - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 29, 2018

नेपाल–चीन मैत्रीपूर्ण वार्ता, कोरला नाका खोल्ने सन्देश

सुन्दरकुमार थकाली/मुस्ताङ।

उत्तरी सीमावर्ती क्षेत्र कोरलासँग जोडिएको तिब्बतीयन स्वशासित जिल्ला ढुङ्वा र मुस्ताङका प्रशासनिक अधिकारीहरूबीच शुक्रबार जोमसोममा द्विपक्षीय मैत्रीपूर्ण वार्ता भएको छ । चौथो चरणमा भएको उक्त वार्ताले आगामी दिनमा कोरला नाका खोल्न बल पुग्ने नेपाली वार्ता टोलीले जनाएको छ ।
नाका सञ्चालन गर्ने दीर्घकालीन लक्ष्यसहित सीमावर्ती क्षेत्रमा धमाधम भौतिक संरचना निर्माण गर्दै गरेको चिनियाँ पक्षले जनाएको छ । नेपाल पक्षबाट पनि सडक तथा पूर्वाधार विकासको काम भइरहेको भन्दै चिनियाँ पक्षले खुसी व्यक्त गरेको छ । सदरमुकाम जोमसोममा तीन घण्टा चलेको वार्ताले सीमा सुरक्षालगायत विभिन्न १४ बुँदे समझदारीको मस्यौदा खाका तयार गरेको छ । बैठकमा प्रस्तुत मस्यौदा खाका केन्द्रीय सरकारलाई पठाउने दुवै पक्षको समझदारी बनेको छ । दुई देशका जिल्लाबीच भएको प्रस्तावित मस्यौदा खाकामा यसअघि भएका तीन चरणका सहमति पनि बुँदामा समेटिएको र केही नयाँ प्रस्ताव थपिएको बताइएको छ ।

मुस्ताङ र ढुङवाबीच यसअघि २०६४ सालमा तिब्बतको लाम्ब्राङमा ८ बुँदे समझदारी, २०६६ सालमा मुस्ताङको जोमसोममा भएको ९ बुँदे समझदारी र २०७५ मा भएको ५ बुँदे धुम्बासेन समझदारीको पालनासम्वन्धी बैठकमा छलफल भएको छ ।
यसपटक पनि नेपाल पक्षले एक चीन नीतिप्रति पूर्णप्रतिबद्ध रहेको दोहो¥याएको छ । सीमावर्ती नाका आसपास मुस्ताङवासी तथा स्थानीय प्रशासनले कुनै पनि चीनविरोधी अवाञ्छित गतिविधि हुन नदिने जनाएको छ ।

बर्सेनि दुईपटक आयोजना हुने व्यापार मेलालाई आलोपालो सञ्चालन गर्नेबारे नेपाल पक्षले चासो देखाए पनि चिनियाँ पक्षले भने केन्द्रीय सरकारको निर्णय पर्खनुपर्ने बताएको छ । समझदारीपत्रमा सीमावर्ती क्षेत्रमा हुन सक्ने अवैध व्यापार, लागूऔषध ओसारपोसार, अवैध काठ, जडीबुटी र वन्यजन्तुका अंगहरूको ओसारपसार नियन्त्रणमा दुवै पक्ष प्रतिबद्ध रहने उल्लेख छ । त्यस्तै, नेपालका पशुचौपायाको भेटेनरी चेकजाँच भएकाले वर्षाको समयमा तिब्बतका पशुचौपाया नेपाली चरन क्षेत्रमा र हिउँदयाममा नेपाली पशुचौपाया तिब्बती घाँसे मैदानको चरन क्षेत्रमा लैजान पाउने नेपाली पक्षको मागबारे पनि चिनियाँ पक्षले केन्द्रीय सरकारलाई अनुरोध गर्ने बताएको छ ।
वार्तामा नेपाल पक्षले ऊन, पस्मिना आदीको सहज निकासी गर्न पाउनुपर्ने विषय उठान गरेको थियो । यसअघि २०७४ मा कार्यान्वयन भएको दुवै देशका प्रशासनिक निकायको टोलीले सीमा पिल्लरहरूको संयुक्त अनुगमन, गणना र संरक्षण गर्ने पुनः सहमति भएको छ ।

दुई देशबीच मैत्री सम्बन्ध विस्तार गर्न बर्सेनि एकपटक वार्ता संवाद जारी राख्ने सहमति भएको छ । दुई देशबीच सूचना आदानप्रदान गर्न संयुक्त सूचना केन्द्र स्थापनाका लागि केन्द्रीय सरकारलाई अवगत गराउने भनिएको छ । सीमावर्ती इलाकामा वारपार गर्न तथा व्यापार मेलाको समय आवतजावत सहज गर्न सीमा प्रशासनलाई सक्रिय पार्ने समझदारी खाकामा लेखिएको छ । चौथो चरणमा भएका प्रस्तावित खाकालाई अर्को बैठकमा जारी राख्ने तथा बैठकले अर्को पाँचौं चरणको वार्ता तिब्बतको ढुङ्वासेनमा आयोजना गर्ने सहमति गरेको छ ।

नेपाली पक्षसँग चौथो चरणको वार्ताका लागि चिनियाँ टोली बिहीबार साँझ जोमसोम आइपुगेको हो । टोलीले उपल्लो मुस्ताङको लोमान्थाङसम्म आफ्नै सवारी र त्यहाँबाट जोमसोमसम्म नेपाली सवारीसाधनमा आइपुगेका थिए । टोलीमा तिब्बतको सिगात्से बोर्डर चिफ अफ कर्नेलसहित १४ जना सहभागी थिए । नेपाली पक्षबाट वार्ता संयोजक प्रजिअ शिशिर पौडेल, जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ, जिसस अधिकारी केशव बिमली, लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्ट, लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टसहित १५ जना सहभागी थिए ।
चीन पक्षसँग भएको वार्तापछि नेपाली पक्षले बैठकमा भएका समझदारीपत्रबारे प्रेस मिट गरेको थियो । प्रजिअ पौडेलले वार्तामा ठोस निर्णय नभए पनि यसले दुई देशबीचको सम्वन्ध स्थापित गराउन पुलको काम गरेको बताए । उनले समझदारीका बुँदा केन्द्रीय तहसम्म पुग्न सक्ने वातावरण सिर्जना हुनु पनि संवादको मुख्य उपलब्धि भएको टिप्पणी गरे ।



from Rajdhani Daily https://ift.tt/2zDfhjd

No comments:

Post a Comment

Post Bottom Ad

Pages