‘मेरो अनुहारै बाजा बजाएर खानेजस्तोे छ’ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 29, 2018

‘मेरो अनुहारै बाजा बजाएर खानेजस्तोे छ’

‘मेरो अनुहारै बाजा बजाएर खानेजस्तोे छ’

हास्यव्यंग्य अभिनेता केदार घिमिरे ‘माग्ने बूढा’ विविध भूमिका निर्वाह गर्न खप्पिस छन् । अहिले चलचित्र ‘छक्का पञ्जा–३’को सहनाई बजाउने भूमिकाले चर्चामा छन्, उनी । यसमा उनलाई माग्नेकै भूमिकामा देख्न सकिन्छ । ‘माग्ने बूढा’ उपनाम’ केदारले ‘छक्का पञ्जा–३’ मा फेरि चरितार्थ गरेका छन् । यही भूमिकाबारे डब्बु क्षत्रीले गरेको रमाइलो वार्ता :

केदारजी, ‘छक्का पञ्जा–३’मा फेरि माग्ने बूढा भइएछ हैन ?

हो । मलाई फेरि माग्ने बूढा बनाएका छन् । यसपटक सहनाई बजाएर माग्ने भूमिका खेलेको छु ।
निर्माता–लेखक दीपकराज गिरी र निर्देशक दीपाश्री निरौलाले सहनाई बजाउने भूमिका किन दिएजस्तो लाग्छ ?
अनुहार नै बाजा बजाएर खानेजस्तो भएर होला नि † ‘छक्का पञ्जा–३’ को दुई गीत र ट्रेलरमा सहनाई बजाएको देखेपछि दर्शकले साहैै्र सुहाएको छ भन्नुभएको छ । मलाई पनि आजकाल त्यस्तै लाग्न थालेको छ ।

‘छक्का पञ्जा–३’ खेल्नुअघि सहनाई बजाउनुभएको थियो ?

कहाँ पाएर बजाउनु ? सानो हुँदा हेटौंडामा साथी तुलबहादुरका बुबा ‘टुंगुने बा’ सहनाई बजाउनुहुन्थ्यो । त्यतिबेला पनि बजाउन मन लागेर उहाँसँग एकछिन मागेको थिएँ । तर, उहाँले दिनुभएन । त्यति बेलादेखि नै सहनाई बजाउन मन लागेको हो ।
चलचित्रमा सहनाई बजाएको ठ्याक्कै सुहायो भनेर प्रतिक्रिया आएको छ । कतै तपाईंलाई व्यंग्य गरेको त हैन, दर्शकले ?
दर्शकले जे देख्नुभयो, त्यही भन्नुभयो । मेरो अनुहार पनि त्यस्तै परेको छैन र ? अनि अर्को कुरा, ती टुंगुने बाले जसरी नाच्थे, जसरी कपडा लगाउँथे, जसरी बस्थे, म त्यतिबेला त्यसको नक्कल गर्थें । त्यही सम्झेर ‘छक्का पञ्जा–३’ मा पनि उहाँको हुबहु नक्कल गरें । सबैलाई सोही कारण हुबहु लागेको हो । यो जस टुंगुने बालाई पनि जान्छ ।

चलचित्रमा सहनाई बजाउँदा अप्ठ्यारो भएन ?

किन लाग्नु र ? पहिलोपटक सहनाई बजाउँदा साह्रै गर्व लाग्यो । यो पनि एउटा पेसा हो नि † आजकाल बाहुनहरूले पनि समूह बनाएर पञ्चेबाजा बजाउन थालेका छन् ।

किन बाहुन–क्षत्रीले पनि सहनाई फुक्न थालेका होलान् जस्तो लाग्छ ?

सहनाई नफुकी बिहेबटुलो, शुभकार्य हुँदैन । अनि सहनाई फुक्ने परियार समुदायका युवा विदेश पलायन भएका छन् । उहाँहरूलाई यही कारण तल्लो जात भनिएकाले हेपेको देखेर यस्तो बाजा बजाउन छाड्नुभएको छ । अनि बाहुन–क्षत्रीले सहनाई नफुके उनीहरूको विवाहमा कसले फुकिदिने त ?

यो चलचित्रको बजाउनेसम्बन्धी संवाद निकै हिट छ नि याद छ ?

किन नहुनु र ? सहनाईको पिपिरी सुकेपछि पानीको बहानामा रक्सी माग्छु । तर, ती बाजे गाली गर्दै थुक्छन् । त्यसपछि मैले यस्तो संवाद बोल्छु, ‘ओ बाजे कसलाई थुकेको ? तिमी शंख फुक्ने म सहनाई फुक्ने, एउटा फुक्ने र अर्को फुक्नेलाई यसरी किन थुक्ने ?’

यो संवादको अर्थ त निकै गहन छ है ?

हो नि † सहनाई फुक्ने पनि पेसा हो । शंख फुक्ने पनि पेसा हो । दुवै पेसा भएकाले एकले अर्कालाई सम्मान गर्नुपर्छ भनेर यस्तो संवाद राखिएको हो ।

सहनाई बजाउन कसरी सिक्नुभयो ?

चलचित्र छायांकनका क्रममा पञ्जेबाजा बजाउने वास्तविक समूह बोलाइएको थियो । चलचित्र युनिटले नयाँ सहनाई किनेर ल्याइदियो । उहाँहरूले सहनाई फुक्न सिकाउनुभयो । सुरु– सुरुमा त अलि गाह्रो भयो । त्यसपछि त राम्ररी बजाएर टुंगुने बाजस्तै नाँच्न सक्ने भएँ ।

सहनाई बजाउँदा हीनताबोध त भएन नि ?

कस्तो रमाइलो भयो । त्यो सहनाई नहराउनु भनेर मैले ‘छक्का पञ्जा–३’ प्रोडक्सनलाई भनेको छु । आफूले पहिलोपटक बजाएको त्यो सहनाई अब गर्वसाथ घरको बैठक कोठामा सजाएर राख्छु । ताकि अरूले मेरो बैठकमा जाँदा सहनाई हेरेर बजाउनेको सम्मान गरून् ।



from Rajdhani Daily https://ift.tt/2InT1Na

No comments:

Post a Comment

Post Bottom Ad

Pages