बाजुराका जमिन बस्नै अयोग्य - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 22, 2018

बाजुराका जमिन बस्नै अयोग्य

निमेन्द्र शाही /बाजुरा।

तीन वर्षअघि बाजुरा सदरमुकाम मार्तडीमा जिल्लाका सरोकारवालालाई भेला गरी इसिमोडका वैज्ञानिकसहित योजना आयोग र नापी विभागका अधिकारीले जिल्लाको भौगर्भिक अवस्थाको प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेका थिए ।
प्रतिवेदनमा जिल्लाको ५१ प्रतिशत भूभाग मानव बसोबासका लागि उपयुक्त नभएको उल्लेख गरिएको थियो । कुल क्षेत्रफलको १९१ वर्ग किलोमिटर मात्रै बस्ती बस्न सुरक्षित भएको प्रतिवेदनमा उल्लेख छ ।
सो टोलीका सदस्य प्रेम दंगालका अनुसार १९ स्थानमा मात्रै बस्ती बस्न सुरक्षित देखिएको छ । यहाँका २४ हजार ८८८ घरमध्ये ५ हजार २९ मात्रै सुरक्षित रहेको प्रतिवेदनमा उल्लेख छ । ९० वर्ग किलोमिटर क्षेत्रफल पहिरोप्रभावित छ ।
यो प्रतिवेदन हेर्ने हो भने बाजुराको जमिन बस्ती बस्न योग्य छैन । यद्यपि, स्थानीय हरेक वर्ष पहिरोले जोगाएको ठाउँमा घर बनाएर बसिरहेका छन् ।


पहिरोले लिन्छ ज्यान

२०६४ सालयता जिल्लाका विभिन्न गाउँमा पहिरोमा परी ३२ बढीले ज्यान गुमाएको जिल्ला दैवीप्रकोप समितिको तथ्यांकमा उल्लेख छ । पछिल्लो समयमा अनुमानै नगरिएको ठाउँमा सुक्खा पहिरो जान थालेको नेपाल रेडक्रस जिल्ला शाखा बाजुराका मन्त्री रमबहादुर शाहीले बताए ।
गुइँगाड खोलाको पहिरोले साविकाका ५ गाविस र हालका बूढीगंगा र त्रिवेणी तथा खप्तड छेडेदह गाउँपालिकामा असर पु¥याएको छ । ‘वर्षा आयो कि स्कुलको चौरमा भेला भएर यहाँका वासिन्दा रात कटाउँछन्,’ शिक्षक खड्कराज जोशीले भने, ‘पानी आएको बेलामा गुइँगाड खोलाले जमिन खसाल्छ, घर थर्काउछ, बस्न सकिँदैन ।’
१९ जेठ २०६९ मा बूढीनन्दा नगरपालिकाको पिपलडालीमा आएको पहिरोबाट बालबालिकासहित पाँच जनाले ज्यान गुमाउनुका साथै करोडांैको धनमाल क्षति भएको थियो । २४ जेठ २०७१ मा फेरि सोही ठाउँमा पहिरो जाँदा तीन जनाको मृत्यु भएको थियो ।

जिल्लाका नौ स्थानीय तहमा करिब ४४ वटा गाउँ बढी जोखिममा रहेको जिल्ला दैविक प्रकोप उद्धार समितिले औंल्याएको छ ।
खप्तड छेडेदह गाउँपालिकाको गुम्लागाउँ, बूढीगंगा नगरपालिकाका बजेडी, निमनी, देनसाएल, कुडी, उमकोट, सेरा, त्रिवेणी नगरपालिकाका पैमा, कालापानी छतारा, बडिमालिका नगरपालिकाका जिल्ली, उखाडी, रजाली, रिला बूढीनन्दा नगरपालिकाको पिपलडाली, साउने गाउँ हिमाली गाउँपालिकाको कवाडी क्षेत्र र स्वामीकार्तिक गाउँपालिकाको साप्पाटामा पहिरोले हरेक वर्ष क्षति पु¥याउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्ल बताउँछन् ।

राहत रकम खर्च

जिल्ला दैविक प्रकोप उद्धार समितिले घर बगाएका र ज्यान गुमाएकाको परिवारलाई राहत दिने गरेको छ । तर, त्यो रकम यति कम छ कि लिन जाँदा पाउने रकमभन्दा बढी खर्च हुने गर्छ ।
जिल्ला प्रशासन कार्यालय बाजुराका लेखापाल लालबहादुर विष्टले भने, ‘हामीले जिल्लाका दैनिक प्रकोपका घटनामा परेकाहरूलाई राहत दिने गरेका छौं । त्यो रकमले टाढाबाट आएकालाई खाना खान र बस्न पनि पुग्दैन ।’
लेखापाल विष्टका अनुसार पहिरोले घर भत्काएकालाई पाँच सयदेखि ५ हजारसम्म र ज्यान गुमाएकालाई २५ हजारदेखि १ लाख रुपैयाँसम्म राहतबापत दिने गरेका छौं ।’
जिल्ला प्रशासन कार्यालय बाजुराले आर्थिक वर्ष २०७२÷०७३ मा ३ लाख ६७ हजार रुपैयाँ राहतस्वरूप वितरण गरेको छ । यस्तै, २०७३÷०७४ मा १२ लाख २८ हजार ५०६ रुपैयाँ, २०७४÷०७५ मा १४ लाख २२ हजार ५ सय रुपैयाँ खर्च भएको थियो । यस वर्षको सुरुवातमै २ लाख ७० हजार रुपैयाँ राहत स्वरूप खर्च भएको छ । यसमा मानवीय र घरको क्षतिको मात्र विवरण समावेश गरिएको छ । ‘खाद्यान्न र अन्य विकासका संरचना हरेक वर्ष करोडौंको बगाउने गरेको छ,’ लेखापाल विष्टले भने ।

विकास आयोजनामा असर

हरेक वर्ष सदरमुकाम मार्तडीको लघु जलविद्युत् र बूढीनन्दा नगरपालिकाको कोल्टीको लघु जलविद्युत्को नहर बगाउने गरेको छ । सरकारी रकम लाखौंको हिसाबमा प्रत्येक वर्ष खर्चिनुपर्ने बाध्यता छ । खप्तड छेडदह गाउँपालिकाको डोगडी लघु जलविद्युत् आयोजनाको नहर र पावर हाउसमा क्षति पुग्दा एक वर्ष बढी त्यहाँका उपभोक्ता अन्धकारमा बस्न बाध्य भए ।
यस वर्ष जुड्डी लघु जलविद्युत् आयोजनाको नहर बगाउँदा दुईवटा स्थानीय तह अहिलेसम्म अन्धकारमा रहेको स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले बताए ।

शाहीले भने, ‘हरेक वर्ष खानेपानीका मुहान बगाउँछ, पहिरोका कारण मुहानै सर्ने भएका कारण योजना नै अलपत्र हुने गरेका छन् ।’ हरेक वर्ष खानेपानी योजनामा रकम खर्चनुपर्ने एक ठूलो समस्या भिरालो जमिन र पहिरोको असर पनि एक कारण हो ।
हरेक वर्ष ग्रामीण सडकहरू पहिरोले अवरोध गरेर बन्द हुने गरेको छ । यस वर्र्ष मात्र कालोपत्रे भएको साँफे मार्तडी सडकखण्डको बार्जुगाडदेखि सदरमुकाम मार्तडीसम्मको ३३ किलोमिटर सडकको अधिकांश भाग पहिरोले बगाएर अवरुद्ध भएको छ । त्यहाँ अहिलेसम्म पनि सदरमुकामसम्म सडक सुचारु हुन सकेको छैन ।
‘त्रिवेणी नगरपालिकाको पैमामा आएको पहिरोले बूढीगंगा नदीलाई थुन्ने र उम्कोटपट्टिको भाग नियमित बगाइरहेका कारण बस्ती र सडक दुवैमा असर परेको छ । ‘एक साताभित्र डाइभर्सन निकालेर गाडी सुचारु गर्न सकिन्छ कि भन्ने आस गरेका छौं,’ प्रमुख जिल्ला अधिकारी चेतराज बरालले भने ।

पहिरोले मुहान नै परिवर्तन

पहिरो खसेका कारण जमिन हल्लिँदा पानीका मुहान सुकेका छन् । खप्तड छेडेदह गाउँपालिकाको छेडदह तालसमेत जोखिममा परेको छ । बूढीनन्दा नगरपालिका–३, ताप्रामा, देनबाडा र भण्डारी बाडामा खानेपानीको समस्या भएको छ ।
गुइगाडको पहिरो वर्षाैंदेखि बगिरहेकाले पानीका मुहान तलतल सरेका छन् भने पानी एक वर्ष एक ठाउँबाट र अर्को वर्ष अर्कै ठाउँबाट खानुपर्ने खप्तड डेडदह गाउँपालिका अध्यक्ष नरबहादुर रावतले बताए ।
पहिरोले जमिन कटान हुने भएका कारण जुन ठाउँबाट सिँचाइ योजनाहरू बनाएर बाँध बनाइएको छ, ती ठाउँ नै सर्ने गरेको बूढीगंगा–३ का चरणसिंह भण्डारीले बताए ।



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2MTRn6v

No comments:

Post a Comment

Post Bottom Ad

Pages